सुदूरपश्चिममा ६.६ म्याग्निच्युडको भूकम्प : डोटीमा ६ जनाको मृत्यु

लोकपथ
13
Shares

डोटी । डोटीमा केन्द्रविन्दु भएर गएराति आएको भूकम्पले घर भत्किँदा छ जनाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन् । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार डोटीस्थित खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रमा केन्द्रविन्दु भएर ६.६ म्याग्निच्युडको भूकम्प गएको हो ।

मङ्गगलबार मध्यरात २ बजेर १२ मिनेटमा गएको भूकम्पले ग्रामीण भेगका दर्जनौँ घर भत्किएका छन् । डोटीको पूर्वीचौकी गाउँपालिकाको वडा नं ३ गैरागाउँमा केही घर भत्किँदा घरमा च्यापिएर छ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक भोला भट्टले जानकारी दिए ।

मृत्यु हुनेमा पूर्वीचौकी गाउँपालिका–३ ठाडाँगाउँका भगवती बोहरा, सीता बोहरा, हर्क बोहरा, प्रेम बोहरा, तुलसी बोहरा र धनसरी बोहरा छन् । गाउँपालिकाका अध्यक्ष रामप्रसाद उपाध्यायले एकै घरका तीनसहित छ जनाको मृत्यु भएको बताए ।

भुकम्पमा परी पाँच जना घाइते रहेका र उपचारका लागि अस्पताल ल्याइएको भट्टले बताए । थप उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाको टोली घटनास्थल पुगिसकेको र स्थानीयसहितको टोलीले उद्धार गरिरहेको प्रहरीले जनाएको छ । स्थानीय शिक्षक मिनराज ओझाका अनुसार अधिकांश स्थानीयका घरमा क्षति पुगेको छ ।

भूकम्पका कारण सायल गाउँपालिका क्षेत्रमा समेत ठाउँ ठाउँमा पहिरो गएको स्थानीय दलबहादुर देउवाले जानकारी दिए । त्यसअघि पनि राति ९ः७ बजे दिपायलमा केन्द्रविन्दु बनाएर ५.७ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ । त्यसपछि पनि यहाँ पटक पटक झट्का महसुस भएको थियो ।

भूकम्पको झड्का कैलाली र कञ्चनपुरमा समेत महसुस भएको थियो । यता, बझाङमा पनि भूकम्पको धक्कापछि यहाँका स्थानीय खुला ठाउँमा जाग्राम बसेका छन् । मध्यराति २ बजे गहिरो निद्रामा रहेका बेला एक्कासी भागाभाग भएको खप्तडछान्ना गाउँपालिका बझाङका स्थानीयले बताए । खप्तडछान्ना– ५ कि लक्ष्मीदेवी जोशीले गाउँभरिका मानिस आगो बालेर बाहिर बसेका बताए ।

उनका अनुसार पुराना घरहरू भत्किएका छन् भन्ने खबर छ । राति हुनाले केही जानकारी आउन सकेको छैन । जिल्ला सदरमुकाम चैनपुर बझाङमा पनि कैयौँ मानिस सुदूरपश्चिमाञ्चल बोडिङ स्कुलको चौरमा भेला भएका छन् । पछिल्लो केही समय यता सुदूरपश्चिममा पटक पटक भूकम्पको धक्का महसुस गरिएको छ ।

सुदूरपश्चिम, कर्णाली, लुम्बिनी प्रदेशका धेरैजसो जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ । सुदूरपश्चिमका बझाङ, बाजुरा, अछाम, डोटी, कैलाली, बैतडी, दार्जुला र डडेल्धुरामा भूकम्पको धक्का महसुस गरिएको स्थानीयले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?