काठमाडौं । वाम बुद्धिजीवी एवं मानवाधिकारकर्मी स्व पद्मरत्न तुलाधरप्रति श्रद्धाञ्जलि व्यक्त गर्न विभिन्न राजनीतिक दलका नेता नर्भिक अस्पताल पुगेका छन् ।
उनको आजै ७८ वर्षका उमेरमा नर्भिक अस्पतालमा अपराह्न १२ः४५ मा उपचाररत रहँदाकै अवस्थामा निधन भएको हो । नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले पत्रकारसँग कुरा गर्दै तुलाधरले प्रजातन्त्र पुनःस्थापना, मानवाधिकार र शान्ति प्रक्रियामा खेलेको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । पूर्वप्रधानमन्त्री नेपालले भने, “नेपाल संवत्लाई राष्ट्रिय मान्यता दिन पद्मरत्नले खेलेको भूमिका कहिल्यै बिर्सन सकिन्न ।”
नेतृ हिसिला यमीसहित अस्पताल पुगेका नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले तुलाधार लोकतान्त्रिक आन्दोलनका खम्बा, तथासबैका आदरणीय आदर्शवान र निष्ठावान् व्यक्तित्व भएको प्रतिक्रिया दिए । तुलाधर प्रति श्रद्धाञ्जलि व्यक्त गर्न शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल पनि अस्पताल पुगेका थिए ।
मस्तिष्काघात भएर अस्पताल भर्ना भएका तुलाधरको छातीको गम्भीर सङ्क्रमणबाट मृत्यु भएको हो । नेपाल संवत्लाई राष्ट्रिय मान्यता दिलाउन महत्वपूर्ण भूमिका खेलेका पूर्व स्वास्थ्य तथा श्रममन्त्री तुलाधरले नेपालको शान्ति प्रक्रियामा पनि ठूलो योगदान गरेका थिए ।
तुलाधर पत्रकार तथा साहित्यकार पनि थिए । स्व तुलाधरका श्रीमती, दुई छोरा र दुई छोरी छन् । उनको सोमबार शोभाभगवतीमा अन्तिम संस्कार गरिने बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया