लमजुङमा तिहारमा तीन क्वीन्टल सयपत्री फूल विक्री

लोकपथ
117
Shares

लमजुङ । मर्स्याङ्दी गाउँपालिका-९, सिम्पानीस्थित भलामचौर मिर्चे नमूना कृषि परियोजनाले तिहारका बेला मात्रै करिब तीन क्वीन्टल फूल बिक्री गरेको छ ।गत वर्षबाट कृषि पर्यटनसँगै व्यवसायिक फूल खेती सुरु भएको परियोजनाले यसवर्षको तिहारमा मात्रै तीन क्विन्टल अर्थात् करिब एक लाख रुपैयाँ बराबरको सयपत्री फूल बिक्री गरेको हो ।

सिते बा ग्रुप न्तर्गत एस जि हस्पिटालिटी नामक कम्पनीले भलामचौर मिर्चे नमूना कृषि फर्म सञ्चालन गरि गतवर्षबाट व्यावसायिक फूल तथा तरकारी खेती सुरु गरेको हो । १० रोपनी जमिनमा व्यावसायिक फूल खेती गरेको कम्पनीले पहिलो वर्ष करिब १० क्वीन्टल फुल उत्पादन गरी बिक्री गरेको थियो । गत वर्षभन्दा यस वर्ष फूल उत्पादनमा कमि आएकाले माग अनुसारको फूल पुर्‍याउन नसकिएको नमूना कृषि परियोजना इञ्चार्ज कमल गुरुङले बताए ।

तिहारको लागि मात्र १४ वटा टनेलमा फूल खेती गरिएकोका दशैंमा लगातार परेको वर्षाले समयमा फूल उत्पादन नहुँदा माग्अनुसारको फूल पुर्‍याउन नसकिएको उनको भनाइ छ । तिहार सकिएपश्चात हाल फूल तयार भएको समेत उनले बताए ।

उत्पादित फूल जिल्लाका विभिन्न स्थान र बाहिरी जिल्लामा समेत खपत भएको परियोजनाले जनाएको छ । कृषि तथा पर्यटन प्रवर्द्धनका लागि करिब एक सय रोपनी जग्गा २० वर्षका लागि भाडामा लिएर काम सुरु गरेको कम्पनीले यसवर्ष करिब १० रोपनी क्षेत्रफलमा व्यावसायिक सयपत्री फूल खेती गरेको थियो । गतवर्ष तिहारमा भएको मागअनुसार यसवर्ष धेरै क्षेत्रमा फूल खेती गरिए पनि समयमा फूल उत्पादन नहुँदा मागअनुसार पुर्‍याउन नसकिएको कम्पनीले जनाएको छ ।

तिहारमा हुने फूलको मागलाई लक्षित गर्दै गाउँमा फुल खेती गरिए पनि उत्पादित फूल विभिन्न कार्यक्रम उत्सव समारोह लगायतको लागि अन्य समयमा पनि माग हुने गरेको छ । भलामचौरमा व्यावसायिक होमस्टेसमेत सञ्चालन भएको हुँदा उत्पादित फूल गाउँमा आउने पाहुनाहरूका लागि स्वागत र बिदाईमा माला तथा गुच्छा बनाउन पनि प्रयोग हुने हुँदा व्यावसायिक फूल खेतीको राम्रो सम्भावना देखिएको प्रवर्द्धक नविनराज कुईंकेलले बताए ।

हाल करिब ५५ वटा टनेलमा फूलसहित विभिन्न तरकारी खेती गरिएको छ । कृषि उत्पादन र होमस्टे व्यवसायसँगै स्थानीयलाई कम्पनीले रोजगारी दिएको छ । रोजगारी नपाएर गाउँमै बेरोजगार बसेकाहरू पनि परियोजना सञ्चालन भएसँगै रोगाजार पाएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?