कैलालीमा स्वतन्त्रको ‘बाढी’ले गठबन्धन दबाबमा, जसले दिँदैछन् प्रमुख दललाई टक्कर !

कैलाली । प्रतिनिधि र प्रदेश सभा निर्वाचन आउन १३ दिन मात्र बाँकी छ । उसो त मतदानको दिन नजिकिँदै गर्दा चुनावी माहोल गर्माएको छ । राजनीतिक दल र उम्मेदवार मतदाता रिझाउन तल्लीन छन् । मतदाता भेटघाटमा व्यस्त रहेका राजनीतिक दल र उम्मेदवार परिणाम आफ्नो पक्षमा पार्ने रणनीतिका साथ चुनावी मैदानमा होमिएका छन् ।

मतदातासामु भए/गरेका उपलब्धि सुनाउने र नयाँ प्रतिबद्धता जाहेर गर्ने क्रम पनि चलिरहेको छ । पाँचवटा प्रतिनिधिसभा र १० वटा प्रदेशसभाका निर्वाचन क्षेत्र रहेको कैलालीमा दिनुहँजसो नेताकार्यकर्ता र उम्मेदवार घरदैलो अभियानमा देखिन्छन् । उम्मेदवार मतदाता रिझाउन टोल–टोलमा पुग्न थालेका छन् ।

यहाँका राजनीतिक दल र स्वतन्त्रबाट उम्मेदवारी दिएकाहरु र मतदाताको आ–आफ्नै अड्कलबाजी हुन थालेको छ । प्रमुख राजनीतिक दलका उम्मेदवारलाई चुनौती दिँदै स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा होमिएपछि मत विभाजन हुने डर ठूला भनिएका दललाई परेको छ ।

सहजै जित निकाल्ने दाउमा रहेका उम्मेदवारलाई जीवनभर पटक–पटक मतदान गर्दै आए मतदाता भने प्रतिबद्धताप्रति विश्वास नै नरहेको बताउन थालेका छन् । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी र गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवार निर्वाचित भएको कैलालीको धनगढी उप–महानगरपालिका क्षेत्र नम्बर ५ मा पर्छ ।

धनगढीबासीले स्वतन्त्र उमेदवारलाई जिताएपछि यसक्षेत्रलाई निकै चासोे र उत्सुकतापूर्वक हेर्न थालिएको छ । यस क्षेत्रबाट प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिनेको ‘बाढी’ नै देखिएको छ । विभिन्न पार्टीका नेता तथा कार्यकर्ताले टिकट वितरणमा असन्तुष्ट हुँदै पार्टी परित्याग गरेर स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

प्रतिनिधि सभामा जगदीश चौधरी, सत्यराज उपाध्याय, रामबहादुर सिंह, गगनबहादुर धामी र पुस्करनाथ ओझाले स्वतन्त्र उम्मेदवारी दिएर प्रतिस्पर्धामा रहेका छन् । कांग्रेसको कारबाहीमा परेका पुराना र प्रभावशाली नेता एवं पूर्वराज्यमन्त्री पुस्करनाथ ओझाको स्वतन्त्र उम्मेदवारीलाई चासोका रुपमा लिइएको छ ।

यहाँ प्रतिनिधि सभामा नेकपा ( एमाले) का नारदमुनि राना, नेपाली कांग्रेसका डिल्लीराज पन्त, नेपाल किसान पार्टीका नन्दाकुमारी दर्लामीमगर, लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका दानबहादुर विश्वकर्मा र राष्ट्रिय स्वतन्त्र पार्टीकी इश्वरी विष्ट चुनावी मैदानमा होमिएका छन् ।

स्वतन्त्र उम्मेदवारहरुको चुनावी माहोलका कारण राजनीतिक दलहरू नै दबाबमा परेका छन् । उनीहरुलाई पुरानो विरासत जोगाउन नै सकस पर्ने देखिएको छ । स्वतन्त्रहरूको बाढी, कांग्रेस, माओवादी भित्रैबाट बागी उम्मेदवार र राजनीतिक समीकरणका कारण लोकतान्त्रिक–गठबन्धन र अन्य उम्मेदवार बीचको प्रतिस्पर्धाले यसपटकको चुनाव रोचक हुने देखिन्छ ।

यहाँ ठूला राजनीतिक दलका प्रतिस्पर्धीका बीचमा पनि आफूले सहजै जीत हासिल गर्ने दाबी गर्छन् भने, स्वतन्त्र उम्मेदवारले पनि जित्ने दाबी गर्दै आएका छन् । ०७० सालमा प्रधानमन्त्री शेरबहादुर देउवाले तत्कालीन कैलाली ६ छोडेपछि भएको उपनिर्वाचनमा विजयी बनेका कांग्रेसका बागी (स्वतन्त्र) उम्मेदवार पुष्करनाथ ओझा आफूले जित हासिल गर्ने दाबी गरिरहेका छन् ।

सोही क्षेत्रमा नागरिक उन्मुक्ति पार्टीले अर्का स्वतन्त्र उम्मेदवारलाई समर्थन गरेको छ । पार्टीका आधिकारिक उम्मेदवार लक्ष्मण थारुको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरिदिएपछि स्वतन्त्र उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरिएको हो । नागरिक उन्मुक्ति पार्टीले प्रतिनिधि सभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका जगदीश चौधरीलाई समर्थन गर्ने निर्णय गरेपछि पछिल्लो राजनीतिक परिस्थिति फेरिएको छ ।

त्यस्तै, प्रदेश सभातर्फ कैलाली ५ (क) मा नेकपा (एमाले) बाट नेपालु चौधरी, लोकतान्त्रिक–बाम गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका रमेशसिंह धामी, नागरिक उन्मुक्ति पार्टीका श्रीराम चौधरी, राष्ट्रिय प्रजातन्त्र पार्टीका पुस्करदत्त भट्ट र स्वतन्त्र उम्मेदवार रमेशकुमार बस्नेत उम्मेदवार छन् । नेकपा माओवादी केन्द्रका नेता बस्नेत पार्टीबाट विद्रोह गरी स्वतन्त्र उम्मेदवार बनेका थिए ।

उनलाई बागी उम्मेदवारी दिएको भन्दै माओवादीले कारबाही गरेको थियो । प्रदेश ५ (ख) मा नेपाली कांग्रेसका प्रकाशबहादुर देउवा, नेकपा (एमाले) का दुर्गाप्रसाद जोशी, नागरिक उन्मुक्ति पार्टीका गोठु चौधरी, संघीय राष्ट्रिय लोकतान्त्रिक मञ्चका कार्तिक लुहार, नेपाल मजदुर किसान पार्टीका रामबहादुर दर्लामीमगर, राष्ट्रिय प्रजातन्त्र पार्टीका शिवराज भण्डारी, नेपाली कांग्रेस (बीपी) का दिपकराज खैर र स्वतन्त्र क्षितिज भण्डारीले उम्मेदवारी दिएका छन् ।

लामो समयसम्म कांग्रेसको राजनीतिमा सक्रिय भण्डारीलाई बागी उम्मेदवारी दिएको भन्दै कारबाही गरिएको छ । यस क्षेत्रमा धनगढी उपमहानगरपालिकाको पुरै (१९ वडा) र कैलारी गाउँपालिकाको वडा नम्बर ६ र ९ गरी २ वडा समेटिएको छ ।

गत सम्पन्न स्थानीय तहको निर्वाचनमा वडाध्यक्षहरूले पाएको मतलाई आधार मान्ने हो भने नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले ३२ हजार ६१९ मत ल्याएको थियो । नेकपा एमाले एक्लैले यस क्षेत्रमा १७ हजार ४२० मत ल्याएको छ ।

क्षेत्र नम्बर ५ मा १ लाख ५ हजार ७९३ मतदाता छन् । प्रदेशसभातर्फ निर्वाचन क्षेत्र १ को (क) मा ५१ हजार ७२९ र (ख) मा ५४ हजार ९७३ मतदाता छन् । कैलाली क्षेत्र नम्बर ४ को प्रदेश सभामा पनि स्वतन्त्र उम्मेदवारले प्रमुख राजनीतिक दलका उम्मेदवारलाई कडा टक्कर दिइरहेका छन् ।

निर्वाचन क्षेत्र नं. ४ प्रदेशसभा (क) बाट बागी उम्मेदवारी दिएपछि माओवादी केन्द्रको कारबाहीमा परेका भोजराज सापकोटा अन्य दलका उम्मेदवारका लागि चुनौती बनेका छन् । यस्तै, निर्वाचन क्षेत्र नं. ४ प्रदेशसभा (ख) बाट उम्मेदवारी दिएका प्रेम शाह र भागवती पाठक पनि प्रतिस्पर्धामा होमिएका छन् ।

यसअघि कांग्रेसको राजनीतिमा सक्रिय रहँदै आएका उनीहरुले पार्टीभित्र असन्तुष्टि जनाउँदै विद्रोह गरेका थिए । शाह र पाठकले गठबन्धनका साझा उम्मेदवार समेत रहेका नेपाली कांग्रेसका प्रकाश बमविरुद्ध उम्मेदवारी दिएका हुन् । कांग्रेसको कारबाहीमा परेका उनीहरुको उम्मेदवारीले लोकतान्त्रिक–बाम गठबन्धन कमजोर हुने आँकलन गरिएको छ ।

फाइदा लिने दाउमा प्रतिपक्षी

विभिन्न राजनीतिक दल र अन्य गरी प्रतिनिधिसभा सदस्यका लागि कैलालीका क्षेत्र नम्बर १, ३, ४ र ५ मा १० जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । त्यस्तै, प्रदेशसभा सदस्यका लागि ५ वटै निर्वाचन क्षेत्रबाट १५ जनाले उम्मेदवारी दिएका छन् । स्वतन्त्रबाट उम्मेदवारी दिनेमा अधिकांश सत्ता गठबन्धन दलबाट छन् ।

पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएको भन्दै नेपाली कांग्रेसका ७ र माओवादी केन्द्रका २ सहित ९ जना यसअघि कारबाहीमा परेका हुन् । गठबन्धनभित्र चुलिएको असन्तुष्टि र बागी उम्मेदवार बढेपछि विपक्षी प्रतिस्पर्धी एमाले भने फाइदा लिने दाउमा छ ।

लोकतान्त्रिक–बाम गठबन्धनभित्र रहेका दल कांग्रेस र माओवादीबाट विद्रोह गरेकाहरुले स्वतन्त्र उम्मेदवारी दिएपछि मत विभाजनको फाइदा पुग्ने बुझाइ एमालेमा छ । गठबन्धनभित्र टिकट वितरण र सिट बाँडफाँट असन्तुष्टिले आपसी तालमेल नभएको अवस्थामा बागी उमेदवारीको फाइदा लिने दाउमा विपक्षी दल छन् ।

सत्ता गठबन्धनको बलमा बलियो अवस्थामा देखिएपनि गत वैशाखको स्थानीय निर्वाचनको मतपरिणाम अनुसार प्राय निर्वाचन क्षेत्रमा प्रमुख राजनीतिक दलहरु नेपाली कांग्रेस, नेकपा (एमाले) र माओवादी केन्द्रका उम्मेदवारबीच नै कडा प्रतिस्पर्धा हुनेछ ।

प्रतिनिधिसभातर्फ कांग्रेसले क्षेत्र नम्बर १, ४, र ५ माओवादीले क्षेत्र नम्बर २ र ३ मा उम्मेदवार उठाएको छ । एकीकृत समाजवादीले भने जिल्लाका दुई प्रदेशसभामा मात्र उम्मेदवार उठाएको छ । नेकपा एकीकृत समाजवादीले कैलालीको प्रदेशसभा ३ (ख) मा अमरबहादुर साउँद र प्रदेशसभा ४ (क) मा सुदूरपश्चिम प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रीसमेत रहेका दीर्घबहादुर सोडारी प्रतिस्पर्धी छन् ।

यहाँ नेकपा एमालेले प्रतिनिधिसभाका सबै (पाँच क्षेत्र) मा उम्मेदवार उठाएको छ । उसले प्रदेशसभाका दुई निर्वाचन क्षेत्रमा जनता समाजवादीसँग तालमेल गरेको छ । गएको स्थानीय तहको निर्वाचनमा चारवटा पालिका प्रमुख जितेर पहिलो शक्ति बनेको नागरिक उन्मुक्ति पार्टीले सबै क्षेत्रमा उम्मेदवार उठाएको छ ।

जिल्लामा राष्ट्रिय प्रजातन्त्र पार्टी, नेमकिपा, राष्ट्रिय जनमुक्ति पार्टी, नेकपा माले, लोकतान्त्रिक समाजवादी पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले पनि कतिपय क्षेत्रमा आफ्ना उम्मेदवार उठाएको छ । उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएसँगै कैलाली जिल्लाका प्रत्यासीले प्रचारप्रसार गरेर मतदातालाई रिझाउन सुरु गरिसकेका छन् ।

भोट बैंक भूमिहिन र सुकुम्बासी

दिगो व्यस्थापन हुन नसकेको भूमिहिन, सुकुम्बासीका समस्या समाधानका लागि पहल गरिने राजनीतिक दलका उम्मेदवारले आश्वासन दिँदै आएका छन् ।उनीहरुले आफू निर्वाचित भएर सरकारमा गए सुकुम्बासीहरूको समस्या समाधानका लागि पहल गरिने बताउँदै आएका छन् ।

यसपटकको संसदीय निर्वाचनमा पनि सुकुम्बासी निर्णायक बन्न सक्छन् । कैलालीमा ७५ हजार ७ सय ४२ अव्यवस्थित बसोबासी र १६ हजार ५ सय २५ भूमिहीन दलित र भूमिहीन सुकुम्बासी गरेर जम्मा संख्या ९२ हजार २ सय ६७ संख्या रहेको भूमि सम्बन्धी समस्या समाधान आयोगको प्रारम्भिक तथ्यांक छ ।

सुकुम्बासी मत अहिले विभाजित छ । सुकुम्वासीलाई कुनै दलले पनि समेट्न सकेका छैनन् । कैलालीको निर्वाचनमा जातीय सन्तुलनले ठूलो भूमिका खेल्छ । यहाँ प्रदेश र प्रदेशबाहिरका तराई र पहाडी समुदायमा मानिसको बसोबास छ ।

कतिपय अवस्थामा हार जितको निर्णायक मत पनि बन्न सक्छ । जिल्लामा पूर्वी–दक्षिणी क्षेत्रमा थारु समुदायको र पश्चिम–उत्तरी क्षेत्रमा पहाडी समुदायको बाहुल्यता रहेको छ । निर्वाचनका बेला विभिन्न एकले अर्कालाई नसघाउने संस्कारजस्तै बनेको छ ।

गत वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा प्रायः स्थानीय तहको मेयर, अध्यक्ष तथा उपमेर, उपाध्यक्षमा थारु समुदायबाट प्रतिनिधित्व गर्ने अवसर पाएका छन् । यहाँ जातीय मतको सन्तुलनले पनि प्रभाव पार्ने गरेको विश्लेषण हुँदै आएको छ ।

स्वतन्त्रको ‘लर्काे’

कैलाली क्षेत्र नम्बर १ को प्रतिनिधि सभा सदस्यका लागि विजयराज सिंह मयाल र ललितबहादुर थापाले स्वतन्त्र उम्मेदवारी दिएर चुनाव प्रतिस्पर्धामा छन् । त्यस्तै, क्षेत्र नम्बर ३ मा नवीनकुमार बोहरा र रमेश आचार्य छन् । क्षेत्र नम्बर ४ मा मेखराज जोशी र क्षेत्र नम्बर ५ मा जगदीश चौधरी, सत्यराज उपाध्याय, रामबहादुर विष्ट, गगनबहादुर धामी र पुस्करनाथ ओझा रहेका छन् ।

प्रदेश सभातर्फ कैलाली १ प्रदेशसभा (क) मा छोटेलाल चौधरी, सन्तोष कठरिया र प्रदेशसभा (ख) मा चक्रबहादुर चौधरी, गणेशकुमार चौधरी र केशरबहादुर साउद छन् । क्षेत्र नम्बर २ प्रदेशसभा (ख) मा सन्तु डंगौराथारु र भरतकुमार शाही रहेका छन् । त्यस्तै, क्षेत्र नम्बर ३ प्रदेशसभा (क) मा गोविन्दराज जोशी, लक्ष्मणबहादुर शाही, मोहनबहादुर शाही छन् ।

क्षेत्र नम्बर ४ प्रदेशसभा (क) मा भोजराज सापकोटा र प्रेमबहादुर शाहले उम्मेदवारी दिएका छन् । प्रदेश सभा (ख) मा भगवती ओझा मैदानमा उत्रिएकी छन् । क्षेत्र नम्बर ५ प्रदेशसभा (क) रमेश कुमार बस्नेत र (ख) मा क्षितिज भण्डारी चुनावी प्रतिस्पर्धामा उत्रिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?