तरुण दलले ‘एक बुथ : एकसय युथ’ परिचालन गर्ने

लोकपथ
35
Shares

काठमाडौं । नेपाल तरुण दल नुवाकोटले आगामी मङ्सिर ४ गते हुन लागिरहेको आम निर्वाचनका लागि नेपाली कांग्रेससहितको वामगठबन्धनका साझा उम्मेदवारलाई विजयी गराउन ‘एक बुथःएकसय युथ’ परिचालन गर्ने भएको छ ।

नेपाल तरुण दल नुवाकोटको जिल्ला कार्यसमितिको बैठकको निर्णयअनुसार कांग्रेससहित वामगठबन्धनका साझा उम्मेदवारलाई विजयी गराउनका लागि मतदानस्थलको शान्तिसुरक्षा र निष्पक्ष निर्वाचनको सुनिश्चित गराउन प्रत्येक बुथमा एक सयजना युवा परिचालन गर्ने निर्णय गरेको नेपाल तरुण दल नुवाकोट सचिव सुवन गिरीले जानकारी दिए।

उनका अनुसार जिल्लाभित्र रहेका बाह्रवटै स्थानीय तहका सम्पूर्ण ८८ वटै वडाका तरुण दलका अध्यक्षहरुलाई गठबन्धन दलका भ्रातृ सङ्गठनसँग संयुक्त रुपमा जिल्लाबाट खटाइएको प्रतिनिधिसँग समन्वय गरेर प्रत्येक बुथमा एक जनाको संयोजन हुनेगरि युवा परिचालन गर्न परिपत्र गरिएको छ ।

सोही परिपत्रअनुसार जिल्ला कार्यसमिति नुवाकोटको बैठकले जिल्लामा रहेको चारवटै प्रदेश निर्वाचन क्षेत्र र बाह्रवटै पालिकामा प्रतिनिधि चयन गरेर गठबन्धनका साझा उम्मेदवारलाई विजयी गराउने आवश्यक प्रबन्ध मिलाउन जिम्मेवारी निर्धारण गरेको छ ।

जिल्ला अध्यक्ष सिंहराज तामाङको अध्यक्षमा बसेको बैठकले ‘एक बुथःएकसय युथ’ परिचालनलाई सफल बनाउन निर्वाचन क्षेत्र नम्बर १ को प्रदेश १ मा पूर्णबहादुर तामाङ र प्रदेश २ मा विश्वास तामाङ, निर्वाचन क्षेत्र नम्बर २ को प्रदेश १ मा शैलेन्द्र तामाङ र प्रदेश २ मा प्रेमबहादुर तामाङलाई प्रतिनिधि खटाएको छ ।

यस्तै, पालिकाअन्तर्गत विदुर नगरपालिकामा प्रकाश रिजाल र बेलकोटगढी नगरपालिकामा श्यामकुमार पुडासैनीलाई प्रतिनिधि खटाएको जिल्ला सचिव गिरीले जानकारी दिए । जिल्लाबाट खटिएका प्रतिनिधिलाई तरुण दलको वडाध्यक्षसँग समन्वय गरेर प्रत्येक मतदानस्थल (बुथ)मा एक जनाको संयोजनमा युवा खटाउने प्रबन्ध मिलाउन भनिएको छ ।

बुथमा खटिने युवाले आगामी मङ्सिर ४ गते हुने चुनावलाई निष्पक्ष, धाँधलीरहित, शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्ने सुनिश्चित गराई आवश्यक सहयोग पु¥याउन स्वयम्सेवकको भूमिकामा प्रस्तुत हुन जिम्मेवारी दिइएको छ ।

तरुण दल नुवाकोटले गत वैशाखमा सम्पन्न स्थानीयतहको निर्वाचनमा पनि पार्टीको उम्मेदवारलाई विजयी गराउन प्रत्येक मतदानस्थलमा एक सय जना युवालाई परिचालन गरेको थियो । आगामी आम निर्वाचनअन्तर्गत नुवाकोटमा प्रतिनिधिसभा निर्वाचनअन्तर्गत दुईवटा निर्वाचन क्षेत्रमा कुल दुई लाख ३९ हजार सात सय २६ जना मतदाता कायम छन् ।

निर्वाचनका लागि जिल्लाभरमा एक सय ३२ मतदानस्थलमा दुई सय ८८ मतदान केन्द्र कायम गरिएकाले एक बुथमा एक सयजना युवा परिचालनका लागि १३ हजार दुई सय युवालाई खटाउने नेपाल तरुण दलले तयारी मिलाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?