देवदहमा दम्पती मृत फेला, श्रीमतीको हत्या गरी आत्महत्या गरेको आशंका

लोकपथ
195
Shares

काठमाडाैँ । रुपन्देहीको देवदहको पाल्पाली टोलमा एक दम्पती मृत फेला परेका छन्। देवदह नगरपालिका वडा नम्बर ५ पाल्पाली टोलमा बसोबास गर्दै आएका ३६ वर्षीय बालेन्द्र जोल्मी मगर र उनकी श्रीमती ३२ वर्षीय हेमकला जोल्मी मगर आफ्नै घरमा सोमबार बिहान मृत भेटिएका हुन्।

चार दिनअघिमात्र वैदेशिक रोजगारबाट फर्किएका बालेन्द्र बन्द कोठाभित्र झुन्डिएको अवस्थामा थिए भने सोही कोठामा हेमकलाको शब भेटिएको छ । कोठामा ढोका भित्रबाट चुकुल लागेको अवस्थामा उनिहरुको शव फेला परेको प्रहरीले जनाएको छ।

देवदह प्रहरी चौकी प्रमुख रहेका प्रहरी निरीक्षक गंगाबहादुर सारुले हेमकला भुईंमा पल्टिएको र बालेन्द्र झुण्डिएको अवस्थामा फेला परेको बताए।

बुटवलको प्रहरी टोली घटनास्थल पुगेपछि मात्र ढोका खोलेर घटनाको अनुसन्धान सुरू गर्ने प्रहरीले जनाएको छ। घटनाको प्रकृति हेर्दा श्रीमानले श्रीमतीको हत्या गरि आफूले आत्महत्या गरेको देखिएको प्रहरीले जनाएको छ।‘कोठाको भित्रबाट चुकुल लगाएको छ, घटनाको प्रकृति हेर्दा हत्यापछि आत्महत्या गरेको जस्तो देखिन्छ, तर अनुसन्धान नगरी यहि हो भन्न सकिँदैन,’ उनले भने।

उनीहरुका ८ वर्षीय छोरा आइतबार राती आफन्तको घरमा सुत्न गएको र बिहान घर आउँदा ढोका लागेको देखेर झ्याबाट हेर्दा आमा भुईंमा पल्टिएको र बुवा झुण्डिएको देखेपछि छिमेकीलाई खबर गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?