मतदातालाई जागरुक बनाउन नमुना मतदान

लोकपथ
52
Shares

मकवानपुर । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनलाई सफल बनाउन मकवानपुर जिल्लामा नमुना मतदान कार्य सुरु भएको छ । प्रदेश निर्वाचन कार्यालय हेटौँडाद्वारा प्रथम पटक मकवानपुरको बागमती गाउँपालिकास्थित झुरझुरेमा आज नमुना मतदान गरेको जनाएको छ ।

मतपत्र बदर हुन नदिने उद्देश्यले आयोजना गरिएको नमुना मतदानबाट मतदातालाई कति ठाउँमा मतदान दिने र कसरी मतदान गर्ने भनेर जागरुक बनाउन कार्यक्रम गरिएको कार्यालयका कार्यालय प्रमुख लुम्वनाथ पोखरेलले जानकारी दिए । त्यहाँ नमुना मतदानमा महिला र पुरुष गरी ५३ जना मतदाता सहभागी रहेका थिए ।

नमुना मतदानका क्रममा प्रतिनीधिसभा प्रत्यक्षको मात्र मतगणना गरिएको थियो । जसमा खसेको ५३ मतमा ५२ वटा मत सदर भएको थियो भने एक मत बदर भएको प्रमुख पोखरेलले भने । यसपछि मकवानपुरको वकैया गाउँपालिकालगायत विभिन्न स्थानमा नमूना मतदान हुने सो कार्यालयले जनाएको छ ।

मकवानपुरमा १९ निर्वाचनस्थल अतिसंवेदनशील

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनअन्तर्गत मकवानपुरका १९ वटा मतदानस्थल अतिसंवेदनशील अवस्थामा रहेको छ । जिल्लामा एक सय ६७ मतदानस्थल रहेको जसमध्ये १९ वटा मतदानस्थल अतिसंवेदनशील रहेको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ । साथै जिल्लामा ६० वटा मतदानस्थल संवेदनशील अवस्थामा रहेको र ७८ वटा मतदानस्थल सामान्य अवस्थामा रहेको सो कार्यालयबाट जानकारी प्राप्त भएको छ ।

निर्वाचनस्थलहरु जिल्ला सदरमुकामदेखि टाढा, दुर्गम तथा बाटोघाटोको असुविधा, सुरक्षा समस्याका आधारमा मतदानस्थलहरुको वर्गीकरण गरिएको छ । जिल्लामा प्रतिनिधिसभाको दुई निर्वाचन क्षेत्र र प्रदेशसभाका चार निर्वाचनक्षेत्र रहेको मकवानपुरमा तीन सय ६४ मतदान केन्द्र रहेको छ ।

प्रशासनका तर्फबाट निर्वाचनस्थलहरुको निरीक्षण र अनुगमन कार्य भइरहेको प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले भने । निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न प्रशासन लागिपरेकाले सबैले सहयोग गर्नुपर्ने उनले आग्रह गरे । जिल्लामा थप सुरक्षाका लागि एक हजार ६ सय ९९ म्यादी प्रहरी परिचालनका लागि छनोट भइसकेको छ ।

यसै सम्बन्धमा मकवानपुरका मुख्य निर्वाचन अधिकृत ऋषिराम निरौलाले निर्वाचनको तयारी अन्तिम अवस्थामा रहेको बताउँदै निर्वाचन सफल बनाउन आचारसंहिताको पालना गर्नुपर्ने बताए । जिल्लामा तीन लाख सात सय ३७ मतदाता रहेको जसमध्ये महिलाको सङ्ख्या एक लाख ४७ हजार दुई सय र पुरुषको सङ्ख्या एक लाख ५३ हजार पाँच सय २८ तथा तेस्रोलिङ्गी सङ्ख्या पाँच रहेको जिल्ला निर्वाचन कार्यालय मकवानपुरले जनाएको छ । निर्वाचनमा दुई हजार नौ सय १२ कर्मचारी तथा एक हजार चार सय ४२ स्वयंसेवक खटिने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?