लमजुङमा उम्मेदवारले उम्मेदवारी हाप्ने, पार्टीले भोट माग्ने

लोकपथ
143
Shares

लमजुङ । लमजुङमा दुई उम्मेदवारले आफ्नो उम्मेदवारी हापेको बताए पनि उनीहरू सम्बद्ध पार्टीहरूले मत माग्ने काम रोकेका छैनन् । जसपाका उम्मेदवार नरेन्द्र गुरुङ र नेपाली कांग्रेस (बीपी) का उम्मेदवार डा.लक्ष्मीकान्त पौडेलको पक्षमा ती पार्टी भोट मागिरहेका छन् ।

उनीहरूले निजी रुपमा पत्रकार सम्मेलन गर्दै वक्तव्यसमेत जारी गरी उम्मेदवारी हापेको भएता पनि उनीहरूका पार्टीले भने भोट मागिरहेका छन् । उनीहरूले कार्तिक १३ गते बिहान जिल्ला सदरमुकाममा पत्रकार सम्मेलन गरी आफूहरूले उम्मेवारी हापेर सत्ता गठबन्धनका उम्मेदवारलाई सघाउने निर्णय गरेको उल्लेख छ ।

तर, आजका दिनमा पनि ती दलको जिल्ला नेतृत्वले भने उनीहरुलाई भोट मागिरहेको अवस्था छ । डा.लक्ष्मीकान्त पौडेलले आफूले ४० वर्षसम्म रगत पसिना बगाएको पार्टी नेपाली कांग्रेसमै फर्किएको पत्रकारहरू माझ घोषणा गरी सोही दिनदेखि सो दलका चुनावी कार्यक्रममा सहभागी हुन थालेको देखिन्छ ।

नरेन्द्र गुरुङले भने जसपा पार्टी त्याग नगरेको तर, आफ्नो समर्थन देव गुरुङलाई रहने बताए । ‘नेपाली कांग्रेस (विपि)का जिल्ला अध्यक्ष तेजनारायण अधिकारीसँग सम्पर्क गर्दा डा.लक्ष्मीकान्त पौडेलले हामीसँग सोध्ने, सल्लाह गर्ने गरेर उम्मेदवारी फिर्ता गरेका होइनन, व्यक्तिले कहाँ के गर्छन् । त्यो उनीहरूको कुरा हो ।

कोही निस्क्रिय हुन सक्छ । तर, पार्टीले आफ्नो प्रचारप्रसार गर्ने र भोट माग्ने काम रोकेको छैन र रोक्दैनौं पनि,’ उनले भने । पार्टीको केन्द्रले सञ्चालन गरेको आधिकारीक फेसबुक पेजमा त्यो सबै उल्लेख रहेको र उत्साहित ढंगले चुनावी अभियानमा लागिरहेको अधिकारीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?