झापा १ मा विश्वप्रकाश र अग्निको रोचक भिडन्त : कसको सम्भावना कति ?

काठमाडौँ । आसन्न प्रतिनिधि र प्रदेश सभा निर्वाचनको दिनगन्ती सुरु भइसकेको छ । उसो त यतिबेला उम्मेदवारहरु चुनावी प्रचारप्रसारमा व्यस्त छन् । कतिपय स्थानमा ‘हेभी वेट’ नेताहरु चुनावी प्रतिस्पर्धामा रहेकाले त्यहाँको निर्वाचनलाई चासोका साथ हेरिन थालेको छ । यस्तै, चासोको केन्द्रमा छ, झापा १ पनि । यहाँ नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा चुनावी मैदानमा छन् । उनको मूख्य प्रतिस्पर्धी एमालेका अग्नी खरेल हुन् ।

यसपाली गठबन्धनको समेत साथ पाएका शर्मा कार्यकर्तामाझ जति लोकप्रिय भएपनि त्यो लोकप्रियता मतमा रूपान्तरण गरेर जित हासिल गर्न भने सकेका छैनन् । २०७० र २०७४ को चुनावमा झापा–१ मा पराजित बनेका शर्मा तेस्रो पटक पुरानै क्षेत्रमा चुनावी लडाइँ लड्दै छन् । लाग्छ, शर्मा यसपाली बदला लिने दाउमा छन् ।

यता, खरेल भने दुईपटक संसद छिरिसकेका छन् । २०६४ मा राष्ट्रपतिबाट मनोनीत भएर पहिलो संविधान सभा सदस्य भएका उनी दोस्रो संविधान सभा निर्वाचनबाट समानुपातिक सांसद बने । त्यसैले खरेलका लागि प्रत्यक्ष चुनावी प्रतिस्पर्धा पहिलो हो । अध्यक्ष केपी शर्मा ओलीसँग निकटताका कारण भने उनी पार्टीभित्र बलिया देखिन्छन् । दुईपटक संविधान सभामा बसेर संविधान लेखनमा भूमिका खेलेको अनुभव उनीसँग छ । त्यसैले ओलीले उनलाई दुई पटक संविधान सभामा मात्र लगेनन्, आफू प्रधानमन्त्री हुँदा कानुन मन्त्री र महान्यायाधिवक्ता समेत बनाए ।

शर्मा र खरेलमध्ये को कति सुरक्षित ?

यहाँ परम्परागत जनमतका हिसाबले एमाले बलियो छ । त्यसको लाभ खरेलले पाउने अनुमान गरिएको छ । ०७४ को चुनावमा यो क्षेत्रमा वाम गठबन्धन झन्डै १४ हजार मतान्तरले अघि थियो तर, चुनावी परिणाम सार्वजनिक हुँदा शर्माले उल्लेख्य आकारमा घटाएका थिए । त्यसबेला राम कार्कीले ३६ हजार १७३ मत पाएर विजयी हुँदा शर्माले ३३ हजार ३१० मत पाएका थिए । यसरी १४ हजारले पछि परेको क्षेत्रमा शर्माले भने २ हजार ८६३ मतले मात्रै पराजय व्यहोरेका थिए ।

स्थानीय चुनावको गणितले काम गर्दैन भन्ने २०७४ सालमै देखिसकेको छ । त्यसबेला कांग्रेसको २४ हजार हाराहारी मात्रै मत भएका बेला ३३ हजारभन्दा बढी मत आयो । यसपटक गठबन्धन कांग्रेसको साथमा छ । त्यसैले यसपटक झापा–१ का मतदाताले महामन्त्री शर्मालाई चुन्ने लगभग पक्कापक्की जस्तै छ ।

एमालेहरू पनि खरेल ओलीको विश्वासपात्र भएकाले ओली प्रधानमन्त्री हुँदा उनी मन्त्री बन्ने प्रचार गरिरहेका छन् । एमाले नेताहरूको पनि दाबी उस्तै छ । दुवै पक्षले आ–आफ्नो दाबी अघि सारिरहेका बेला आउँदो चुनावमा पछिल्लो स्थानीय चुनावकै गणित निर्णायक हुने अवस्था कायम रह्यो भने झापा–१ मा तेस्रोपटक चुनावी परीक्षामा होमिएका महामन्त्री शर्मा फेरि समस्यामा पर्न सक्छन् । यसअघि दुई पटक पराजित भइसकेका उनले मतदाताको सहानुभूति पाउने सम्भावना पनि उत्तिकै छ । जतिपटक हारे पनि क्षेत्र नछोड्ने शर्माको छविप्रति मतदाता सकारात्मक बन्ने अपेक्षा कांग्रेस वृत्तको छ ।

स्थानीय तहको मतले के भन्छ ?

गत वैशाखमा सम्पन्न स्थानीय तहको मतको आधारमा एमाले अघि देखिन्छ । गठबन्धनका सबै दलको मत जोड्दा पनि एमालेको भन्दा कम मत छ । स्थानीय तहको मतको आधारमा विश्लेषण गर्दा शर्मालाई अनुकूल अवस्था देखिँदैन । गठबन्धनका अन्य दलको मत न्यून रहेकाले बल एमालेको पक्षमा छ ।

स्थानीय तहमा एमाले ३१ हजार २३२, कांग्रेसले २४ हजार ५९, राप्रपाले ५ हजार ९२२, माओवादीले ३ हजार ९०५ र एकीकृत समाजवादीको पक्षमा १ हजार २५२ मत खसेको छ ।
यस क्षेत्रमा मेचीनगर नगरपालिकासहित बुद्धशान्ति गाउँपालिकाको ४, ५, ६ र ७ वडा तथा भद्रपुर नगरपालिकाको ९ र १० पर्छन् । स्थानीय तहको निर्वाचनमा २१ वटा वडामध्ये एमालेले १४ वडा जितेको थियो ।
त्यसैले आगामी निर्वाचनमा यस क्षेत्रमा कसको पक्षमा पल्लाभारी हुन्छ भन्ने हेर्न बाँकी नै छ । त्यसका लागि मंसिर ४ पछिको मतपरिणाम नै कुर्नुपर्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?