सुमो दुर्घटना हुँदा धनुषामा एक नवजात शिशुको मृत्यु, ७ जना घाइते

लोकपथ
52
Shares

काठमाडौं । धनुषाको लक्ष्मीनिया गाउँपालिकामा टाटा सुमो दुर्घटना हुँदा दुई दिने नवजात शिशुुको ज्यान गएको छ । ना ३ च ३५७५ नम्बरको टाटा सुमो अनियन्त्रित हुँदा दुईदिने शिशुको मृत्यु र ७ जना घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार जनकपुरबाट महेन्द्रनगरतर्फ जाँदै गरेको सुमो अनियन्त्रित भई दुर्घटना भएको थियो। उक्त सुमोमा सवार ८ जनामध्ये ६ जना सामान्य घाइते, १ जना गम्भीर घाइते भएको र मिथिला नगरपालिका हरिहरपुरकी सन्जुदेवी महतोको २ दिने शिशुको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइते हुनेमा क्षिरेश्वरनाथ नगरपालिका–०७ की २४ वर्षीय राधादेवी सिंह, सोही नगरपालिका की ४० वर्षीय फुलोदेवी महतो, मिथिला नगरपालिका–०३ हरिहरपुरकी ६० वर्षीय कमलीदेवी, सोही पालिका १ की १५ वर्षीय सुधीसिंह र लक्ष्मीनियाँ गाउँपालिका–०६ वगेवा बस्ने चालक सिकिन्द्र ठाकु शर्मा रहेको धनुषा प्रहरीले जनाएको छ ।

यस्तै, मिथिला नगरपालिका–३ बस्ने चन्द्रकला महतो गम्भीर घाइते भएकी छिन् । उनको टाउकोमा चोट लागेको अस्थायी प्रहरी पोस्ट लक्ष्मीनियाँ बजारले जनाएको छ । दुर्घटनामा घाइते भएकालाई उपचारका लागि नजिकैको सेन्ट्रल हस्पिटलमा लगिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?