वर्ल्डको नम्बर वान ‘लेक’ तिलिचो ताल : जसले दिलाउँछ स्वर्गको आभाष

मनाङ । 
‘वारिपारि हिमालको बीचमा सुन्दर ताल, तिलिचो हो यसैको नाम’ । 

यो तालको नाम सुन्दा जति राम्रो लाग्छ, प्रत्यक्ष घुम्न जाने हो भने नाम भन्दा सयौं गुणा यो स्वच्छ, सफा र मनमोहक छ । शिरमा टलक्क टल्किने तिलिचो हिमालको काखमा रहेको यो ताल स्वर्ग भन्दा पनि कम छैन । वरिपरि मुस्कुराइरहेका निलगिरी, खंग्सार र मुक्तिनाथ हिमालको काखमा ‘सानो दुधे बच्चाले आमाको न्यानो र ममताले भरिएको काँखमा लडबडिएको’ जस्तै देखिन्छ, तिलिचो ताल ।

चारैतिर हिराजस्तै चम्केका हिमालहरु, मन्द रुपमा चल्ने शितल हावा र बेला—बेलामा तालमा देखिने छालले जो कोहि पनि यो तालको शुन्दरताप्रति आकर्षित हुन सक्छन् । निलो सङ्लो पानी टलपलाई रहेको दृश्यले जो कसैको पनि मन लोभिने गर्छ ।

विश्वको सबैभन्दा अग्लो स्थानमा अवस्थित तिलिचो तालले आफ्नो छुट्टै महत्व बोकेको छ । मनाङ जिल्लाको नेस्याङ गाउँपालिका वडा नं. ९ मा पर्ने यो ताल सामुन्द्रिक सतहदेखि चार हजार ९ सय १९ मिटर उचाइमा अवस्थित छ ।

यो तालको लम्बाई ४ किलोमिटर तथा चौडाई १ दशमलब २ किलोमिटर रहेको छ । सतहको क्षेत्रफल ४ दशमलब ८ वर्ग किलोमिटर रहेको यो तालको गहिराई ८५ मिटर रहेको छ । दक्षिण अमेरिकाको पेरु र बोलिभियाको सिमानामा रहेको टिटीकाका ताल भन्दा ११ सय ७ मिटर अग्लो रहेको यो ताल वल्र्डको नम्बर वान ‘लेक’मा पर्दछ । 

कहाँबाट शुरु गर्ने तिलिचो लेकको यात्रा ?

तिलिचो लेक घुम्न जाने आन्तरिक पर्यटकको संख्या दिन दिनै बढ्दै गइरहेको छ । नेपालीहरुको महान चाड दशैँ र तिहारको बिदाको समयलाई सदुपयोग गर्दै तिलिचो घुम्न जाने पर्यटकको संख्याम वृद्धि भएको हो । अहिले दैनिक तीन सय भन्दा बढी आन्तरिक तथा बाह्य पर्यटकको संख्यामा वृद्धि भएको पर्यटन व्यवसायी जित बहादुर गुरुङले जानकारी दिए । 

तिलिचो पुग्नको लागि काठमाडौँबाट लमजुङको बेसीशहरसम्म बस, पर्यटक बस, माइक्रोबाट जाने र त्यहाँबाट जिपबाट माथिल्लो मनाङसम्म पुगिन्छ । माथिल्लो मनाङबाट तिलिचो आधार शिविरसम्म पैदल हिड्नुपर्छ । खाङ्सारबाट घडेटो बाटो भएकाले घोडा वा पैदलयात्रा गर्नुपर्ने हुन्छ । मनाङबाट शुरु हुने यो तालको दुरी ४५ किलोमिटरको रहेको छ । यो तालसम्म पुग्न खाङ्सारबाट तारे गुम्बा, श्रीखर्क हुँदै लगभग आठ घण्टाको पैदलयात्रा गर्नुपर्छ । बेसक्याम्पदेखि झण्डै तीन घण्टाको उकालो हिडेपछि तिलिचो ताल पुग्न सकिन्छ । 

खाना र बस्नको टेन्सन लिनु पर्दैन 

प्राय जस्तो तिलिचो ताल घुम्न जाने पर्यटकहरुको एउटै मात्र टेन्सनको विषय हुन सक्छ । ‘घुम्न त हिडियो तर, कहाँ बस्ने, के खाने ?

त्यसो भए अब टेन्सन लिनु पर्दैन । तिलिचो ताल घुम्न जाने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई नै मध्यनजर गर्दै होटलहरु खोलिएका छन् । आधार सिविरसम्म होटल तथा रेस्टुरेन्टहरु खोलिएको पर्यटन व्यवसायी गुरुङले जानकारी दिए । ‘आधार शिविरबाट बिहानै तिलिचो ताल अवलोकन गरेर बास बस्न फेरि यहि फर्किन पर्छ, बीच बाटोमा बस्न, खानको लागि कुनै समस्या छैन ।’ उनले लोकपथलाई भने । 

‘धेरै जसो पर्यटकहरु आफ्नो सवारी साधन लिएर आएका हुन्छन्, ताल जाने बाटोहरु र त्यहाँ झेल्ने समस्याहरुको राम्रो ज्ञान लिएर मात्रै आउछन्, कोही नयाँ व्यक्तिहरु आउँदै छन्, भने ढुक्क भएर घुम्दा आउँदा हुन्छ’ उनले थपे । 

काठमाडौंबाट तिलिचो ताल घुमेर फर्कन बढिमा एक हप्ता लाग्ने र प्रतिव्यक्ति १५ हजार रुपैयाँ खर्च हुने पनि उनले बताए । 

यस्तो छ तालको महत्व ?

तिलिचो तालले धार्मिक रुपले पनि निकै महत्व बोकेको स्थानियहरु बताउछन् । 

परापूर्वकालमा भगवान् शिवले तपस्या गरेर बसेको र कागबेसिनी ऋषिले ज्ञान पाएको किंवदन्ती छ । हिन्दू धर्मावलम्बी तीर्थ व्रतका लागि पनि यो तालमा पर्यटकहरु आउने गरेको स्थानिय कालु गुरुङले बताए । 

‘यो तालको छुट्टै महत्व छ, हामीहरु बेला—बेलामा यो तालमा पुजा गर्न जान्छौँ, यहाँ जादा दुःखकष्ट, रोगव्यथा नष्ट हुने र घरपरिवारमा सुखशन्ति आउँछ भन्ने विश्वास छ’ उनले भने ।  

तिलिचो ताल जाने उचित समय कहिले ?

तिलिचो ताल घुम्नका लागि उचित महिना कुन हो त ? कहिले जाँदा सहज हुन्छ भन्ने कौतुहलता आम मानिसमा हुनु स्वभाविकै हो । 

वर्षायामको बेलामा लेकमा फुल्ने विशालु फुलको वास्नाले लेक लाग्ने सम्भावना बढि हुन्छ । त्यस्तै चारैतिर बादल लागेर स्पष्ट ताल र हिमालको अवलोकन पनि गर्न सकिदैन । हिउँदको समयमा हिउँ पर्ने र बढी चिसो हुने भएकोले पनि तिलिचो जान सकिदैन । 

यदि कोहि तिलिचो ताल जाने तयारी गर्दैछन् भने उत्तम समय भने यो समय अर्थात् कात्तिकदेखि मंसिरसम्म हो । 

यो समयमा आकाश खुलेर वरिपरिका दृश्य अवलोकन गर्नका लागि उपयुक्त मानिन्छ । त्यस्तै चैत वैशाखदेखि जेठको अन्तिमसम्म पनि तिलिचो ताल घुम्नको उत्तम समय मानिन्छ । विश्वको भौगोलिक मानचित्रमा महत्वपूर्ण मानिएको यस ताल हेर्नका लागि जुनसुकै समयमा जान सकिँदैन । धेरै अग्लो  स्थानमा रहेको र नजिकै रहेका हिमालले गर्दा बढी चिसो र लेक लाग्ने सम्भावना बढी मात्रामा रहेकोले यो ताल हेर्न जान सकिदैन । 

आन्तरिक पर्यटकको संख्यामा वृद्धि

तिलिचो ताल पुग्ने पर्यटकका बाह्यभन्दा धेरै आन्तरिक पर्यटकहरु रहेका छन् । विशेष गरि दशैँ र तिहारको बिदामा रहेका आन्तरिक पर्यटकहरु ताल हेर्न तिलिचो पुग्ने गरेका छन् । कात्तिक र मंसिर महिनामा मात्र १२ देखि १५ हजारको संख्यामा पर्यटकहरु तिलिचो पुग्ने गरेको अन्नपूर्ण संरक्षण क्षेत्र मनाङका प्रमुख बाबुलाल तिरुवाले जानकारी दिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?