संविधानको कार्यान्वयनसँगै सम्वृद्धिका लागि गठबन्धनको जित आवश्यक : नेता साउँद

लोकपथ
442
Shares

कैलाली । लोकतान्त्रिक–वाम गठबन्धनबाट कैलाली २ (ख) का प्रदेशसभा सदस्यका उम्मेदवार नन्दबहादुर साउँद (राजेन्द्र) ले संविधानको कार्यान्वयनसँगै आर्थिक, सामाजिक र राजनीतिक परिवर्तनका लागि गठबन्धनलाई भोट दिन आवश्यक रहेको बताएका छन् । प्रदेशसभा निर्वाचन क्षेत्रमा मतदातासँगको घरदैलो अभियानका क्रममा उनले नेकपा (एमाले) ले प्रतिगमनको लाइन लिएर दुई–दुई पटक संसद विघटन गरी जनमतको अपमान गरेको बताए ।

ओलीले संसद विघटन गरेसँगै प्रतिगमनको खतरा बढेपछि बाध्यात्मक अवस्थामा पाँच दलीय मोर्चा बनेको उनको भनाइ थियो । दलित, किसान, महिला, मजदुर, थारु र पिछडावर्ग सबैका अधिकारलाई समेटिएको संविधानको रक्षाका लागि लोकतान्त्रिक–वाम गठबन्धन बनेको उनले बताए ।

संसद्को दुई कार्यकाल संविधान लेखनमै बितेको स्मरण गराउँदै उनले भने ‘यो संविधानमा सबैका हक अधिकारहरु समेटिएका छन्, अब यी अधिकारहरुलाई कसरी सुरक्षित गर्न सकिन्छ, र यसको कार्यान्वयनसँगै विकास निर्माणका कामहरु पूरा गर्न लाग्नुपर्छ । यसका लागि गठबन्धनलाई मतदान गर्नुहोस् ।’ जनताको हित र संविधान, लोकतन्त्रको रक्षाका लागि गठबन्धनको जित आवश्यक छ ।

निवर्तमान प्रदेश सांसदसमेत रहेका साउँदले आफ्नो पहलमा थुप्रै विकास निर्माणका योजनाहरु ल्याएपनि प्रतिपक्षीहरुले भ्रम छर्ने काम गरिरहेको बताए । चुनावी प्रचारप्रसार कार्यक्रममा उनले निर्माणाधिन अवस्थामा रहेको सेतीलोकमार्गको सुचारु आफ्नै पहलकदमबाट अघि बढेको बताए । उनले प्रदेश सरकार अन्तर्गतकै बजेटबाट सडक, खानेपानी र सिँचाइका धेरै योजना सम्पन्न भएको भन्दै अघि सारिएका विकास निर्माणका अधुरा योजना पूरा गर्न फेरि आफूले जित्नुपर्ने दाबी गरे ।

शनिबार विभिन्न वडामा पुगेका साउँदले आफ्नो निर्वाचन क्षेत्रका जनताले भोगिरहेको समस्याप्रति आफू जानकार रहेको भन्दै क्रमिक रुपमा सबै समस्या समाधान हुँदै जाने आश्वस्त पारे । उनले आफूले निर्वाचन जितेमा सामुदायिक स्वास्थ्य इकाई र विद्यालयको स्तरउन्नति, रिङरोड, सडक, पुल र काँढा–कुहिरा नदी तटबन्धका योजनालाई प्राथमिकतामा राखेको बताए ।

निर्वाचन सम्पन्न भएलगत्तै काँढा–कुहिरा नदीमा ४५ करोड लागतमा ठेक्का सम्झौता हुन लागेको र यसलाई पूर्णता दिने उनको भनाइ थियो । थोरै बजेटबाट नदी तटबन्ध कार्य सम्भव नहुने भएकाले प्रदेश र केन्द्रीय सरकारसँग समन्वयका आधारमा काम गर्न सके डुबान र कटानबाट हुने क्षति न्यून गर्न सकिने उनले दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?