काठमाडौं । युवालाई देशभित्रै स्वरोजगारी उपलब्ध गराउने नीतिसहित गान्धिवादी पार्टी नेपालले चुनावी संकल्पपत्र सार्वजनिक गरेको छ । सो पार्टीले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको लागि सहभागिता जनाउँदै अवसरबाट बञ्चित युवालाई स्वदशमै विकास निर्माणका गतिविधिमा सरिक गराउने गरी संकल्प प्रस्ताव सार्वजनिक गरेको हो ।
सो पार्टीद्वारा सार्वजनिक संकल्प प्रस्तावमा देश विकासमा युवा र राष्ट्रका लागि राष्ट्रको लगानी भन्ने नाराका साथ कार्यक्रम सञ्चालन गर्ने, कृषि पेशा र किसानलाई आदर गर्दै वैज्ञानिक साधन र स्रोतको परिचालन गरी व्यावसायिक कृषिलाई प्रवद्र्धन उल्लेख गरिएको छ । त्यसैगरी युवालाई रोजगारको अवसर दिन, सेवा र सुविधाबाट वञ्चित नेपाली नागरिकलाई आकस्मिक सेवा र सहयोग पु¥याउन “परिवार हित कोष”को व्यवस्था गर्ने विषय प्रस्तावमा समेटिएको छ ।
उदारवादको सिद्धान्तलाई अनुसरण गरेको सो पार्टीले व्यक्तिको राजनीतिक, नागरिक र मानवअधिकारको प्रत्याभूतिलाई जोड दिएको, शैक्षिक तथा आर्थिक नीति, वृद्धवृद्धा र एकल महिलाको हक अधिकार सुनिश्चित गर्न प्रतिबद्धता जनाएको, जनताबाट प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय शासनप्रणाली अवलम्बन गर्ने पक्षमा रहेको र सन्तुलित विदेश नीतिलाई अङ्गिकार गरेको छ ।
प्रदेश सरकारलाइ मौद्रिक, परराष्ट्र र केन्द्र सरकारले प्रयोग गर्ने अधिकार बाहेक पूर्णस्वतन्त्र अधिकार प्रदान गरी सो को विकास र संरचनामा विशेष जोड दिने सो पार्टीको सङ्कल्प प्रस्तावमा उल्लेख छ । एक घर एक रोजगारको नीतिलाई जोड दिएको सो पार्टीले नागरिकको सामाजिक सुरक्षा सुनिश्चित गर्ने, जन्मदेखि मृत्युसम्मको एकीकृत सामाजिक सुरक्षा कार्यक्रमलाई प्राथकिता दिने, चार वर्षसम्मका बालबालिका र ७० वर्ष नाघेका वृद्धवृद्धालाई पोषणयुक्त खानासहित स्वास्थ्य सुविधि प्रदान गर्ने मुद्दालाई आफ्नो सङ्कल्प प्रस्तावमा समावेश गरिएको छ ।
गान्धी पार्टीले आसन्न प्रतिनिधिसभाको निर्वाचनमा र प्रदेशसभाको निर्वाचनमा छ जना उम्मेदवारी दिई निर्वाचनमा होमिएको छ । उक्त पार्टीले प्रतिनिधिसभा सदस्यमा चार जना र प्रदेशसभामा दुई जनालाई उम्मेदवार बनाएको छ । गान्धिवादी पार्टीले प्रतिनिधिसभातर्फ काठमाडौँ क्षेत्र नं २, रौतहट क्षेत्र नं २, रुपन्देही क्षेत्र नं ३ र सर्लाही क्षेत्र नं ३ मा उम्मेदवारी दिएको छ । प्रदेशसभातर्फ रौतहट क्षेत्र ४(१) र सर्लाही क्षेत्र ४(१) मा उम्मेदवारी रहेको पार्टी अध्यक्ष लालबहादुर रानाले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया