निर्वाचनमा गठबन्धनले दुई तिहाइ सिट हासिल गर्छ : नेता पुन

लोकपथ
77
Shares

रोल्पा । नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुनले आसन्न निर्वाचनमा लोकतान्त्रिक वाम गठबन्धनले संघमा दुई तिहाइ क्षेत्रमा जित हासिल गर्ने बताएका छन् । रोल्पामा लोकतान्त्रिक वाम गठबन्धनद्वारा आयोजित संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै नेता पुनले निर्वाचनपछि संघ र सबै प्रदेशमा गठबन्धनको सरकार बन्ने पनि दाबी गरे ।

चुनावी सभालाई सम्बोधन गर्दै पुनले भने, ‘आगामी निर्वाचनबाट गठबन्धनले कम्तिमा दुई तिहाइ बहुमत पाउँछ । यो मेरो दाबी हो । तथ्यहरुले यो देखाएको छ । हामी दुई तिहाइ संघमा जित्दैछौँ । प्रदेशमा सातै प्रदेशमा हाम्रो सरकार हुन्छ ।’ गठबन्धनले घोषणापत्रमार्फत् शिक्षा, स्वास्थ्य र पूर्वाधारलगायतका क्षेत्रलाई प्राथमिकता दिएको उनको भनाई छ । तीनै तहका सरकारका समन्वयमा घोषणापत्र कार्यान्वयनमा लैजाने प्रतिबद्धता उनले जनाए ।

विगतमा केपी ओली नेतृत्वको सरकारले अवसर पाएर पनि स्थायित्व कायम गर्न नसकेको पुनले बताए । अब गठबन्धनले देशका लागि समेत केही न केही नयाँ र असल जगको सुरुवात गर्ने उनले बताए । अहिलेको गठबन्धनले देशको विकासका लागि साझेदारी गर्ने बताए । गठबन्धन गरेर निर्वाचन लडे पनि पछि राष्ट्र निर्माणका लागि हातेमालो गर्ने सबै नागरिकसँग सहकार्य गर्ने उनले बताए ।

पुनले भने, ‘केपी ओलीजीको नेतृत्व एकल बहुमत पाउँदा पनि खेर गयो । आगमी दिनमा यसो हुने छैन । हामी आफूमात्र हैन नेपालका सबै राम्रा हात र मस्तिस्कलाई लिएर विकासको काम गर्नेछौँ । हामी निर्वाैचन पछि राष्ट्र निर्माणको पक्षका जनमतालाई लिएर अघि बढ्छौँ । ओलीजीलाई पाँच वर्ष काम गर्न जनताले जनमत दिएका थिए । उहाँ चाहिँ थानकोटतिर हिड्नुभाछ, अली पर गयो एउटा बटुवा छ त्योसँग झगडा गर्न बस्नुभाछ । गन्तव्य एकातिर छ गर्ने अर्को छ । हामी जे गन्तव्य हो त्यो गछौँ ।’

विपक्षी नेकपा (एमाले) को गठबन्धन प्रतिगामी भएको पुनको भनाई छ । विगतका निरङ्कुस शक्तिलाई एमालेले बोकेको पुनको आरोप छ । गणतन्त्र र लोकतन्त्रका लागि लडेका एमालेका कार्यकर्ता पनि परिवर्तनको पक्षमा उभिनुपर्ने उनको भनाई छ । पार्टी बन्धनबाट बाहिर निस्केर अन्तरआत्मालाई सुन्न उनले एमाले कार्यकर्तालाई आग्रह गरे । सम्बोधनमा उनले छिमेक सम्बन्धलाई सन्तुलनका आधारमा अघि बढाइने बताए । प्रो–नेपाली भएर राष्ट्रिय हितका पक्षमा काम गर्ने उनको भनाई छ । विकास आयोजना र सहायत लिए पनि कुनै पनि देशको सैन्य गठबन्धनलगायतमा सहभागी नहुने उनको भनाई छ ।

राजनीतिक आवश्यकताका आधार वर्तमान गठबन्धन बनेको नेता पुनले बताए । संविधानको रक्षार्थ वर्तमान गठबन्धन बनेको र गत चुनावमा परीक्षण समेत भइसकेकाले एक अर्को दललाई मत दिन हिककिचाउनु नपर्ने कार्यकर्तालाई उनको आग्रह थियो । नेता पुनले अहिलेको प्रमुख मुद्दा स्थायित्व भएको बताए । विगतका पश्चिमा देशहरुको आर्थिक उन्नति र स्थायित्वको चर्चा भए पनि अब एसियाली देशहरु अगाडि बढेको उनको भनाई छ ।

गठबन्धनको नेतृत्वमा अब मुलुकको स्थायित्व हुने जिकिर पुनको छ । ‘हाम्रो मुख्य एडेण्डा स्थायी शान्ति हो । घरमा शान्ति भयो भने घरको भविष्य राम्रो हुन्छ । नयाँनयाँ प्रयोगमा जाँदा विकास हुँदैन । यो संसदको अघिल्लो कार्यकाल शान्ति र विकासका लागि अनुकूल थियो । तर, तत्कालीन प्रधानमन्त्री केपी ओलीका कारणले त्यो सम्भव भएन । नेपाली जनताले विश्वास गरेर जनमत दिएकै हो ।

अब हामी शेरबहादुर देउवाको नेतृत्वमा प्रचण्ड र माधव नेपाललगायतका नेताहरुको नेतृत्वमा स्थायित्व र विकास हासिल गर्न चाहन्छौं । पाँच वर्ष कम्तिमा हामी यो गठबन्धन कायम गर्न चाहन्छौं । सुशासन कायम गर्न चाहन्छौं । यो हाम्रो प्रतिबद्धता हो ।’ सुशासन कायम गर्नु वर्तमान गठबन्धनको मुख्य उदेश्य भएको पनि पुनले बताए । नागरिकमैत्री सार्वजनिक प्रशासनमा उनले जोड दिए ।

मुलुकमा पटक पटक राजनीतिक क्रान्ति भएको भन्दै उनले अब आर्थिक र सामाजिक रुपान्तरणको समय आएको बताए । आर्थिक र सामाजिक रुपान्तरणमा दलहरु केही हदसम्म पछि परेको पनि उनको ठम्याइ छ । शिक्षा, स्वास्थ्य, आवास र रोजगारीलाई संविधानले नागरिकको आधारभूत अधिकारका रुपमा ग्यारेन्टी गरेकाले कार्यान्वयन गरिने उनको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?