स्वास्थ्य र शिक्षालाई केन्द्रमा राखेर विकास गर्नुपर्छ : अध्यक्ष यादव

RSS
78
Shares

सप्तरी । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले जिल्लालाई स्वास्थ्य र शिक्षाको केन्द्र बनाइ विकास कार्यलाई अगाडि बढाउनुपर्ने बताएका छन् । आज गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरुसँग भेटघाटको क्रममा उनले रामराजा सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान भवनको निर्माण कार्य अगाडि बढेसँगै सप्तरीको विकासको आधार शिला प्रारम्भ भइसकेको बताए ।

सप्तरी निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहेका जसपा अध्यक्ष यादवले सप्तरीमा विशिष्ट सेवा भएको अस्पतालको रुपमा पूर्वाधार निर्माणको कार्य अगाडि बढिसकेको बताए । प्रदेश १ अन्तर्गत विराटनगर र धरानको विकासले गति लिएको चर्चा गर्दै उनले रामराजा सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई पूर्वी नेपालको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पछिको ठूलो मेडिकल केन्द्रको रुपमा विकास गर्नुपर्नेमा जोड दिए ।

गजेन्द्रनारायण सिंह अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.प्रकाशप्रसाद साहले उपकरणको व्यवस्था भए पनि प्राविधिक र आवश्यक जनशक्ति अभावले सेवा प्रभावित हुने गरेको बताए । दरबन्दी अनुसारको चिकित्सक र स्वास्थ्यकर्मी नहुँदा सेवाप्रवाहमा कठिनाइ हुने गरेकाले रिक्त पदपूर्तिका लागि पहल गरिदिन उनले आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?