लोकतान्त्रिक वाम गठबन्धनको चुनावी अभियान : छम्पी र डुकछापका जनताले गरे नेताको स्वागत

लोकपथ
65
Shares

ललितपुर । प्रदेश र प्रतिनिधि सभाका लागि निर्वाचन मिति नजिकिँदै गर्दा ललितपुर क्षेत्र नम्बर १ मा लोकतान्त्रिक वाम गठबन्धनले आजदेखि चुनावी माहोललाई तीव्रता दिएको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई लक्षित गर्दै ललितपुर क्षेत्र नम्बर १ मा लोकतान्त्रिक वाम गठबन्धनले घरदैलो अभियानलाई तीव्रता दिएको हो ।

निर्वाचन आयोगको तालिका अनुसार कार्तिक १७ गतेबाट मात्र चुनाव प्रचार प्रसार गर्न पाउने व्यवस्था छ । सोही अनुसार लोकतान्त्रिक वाम गठबन्धनले क्षेत्र नम्बर १ को प्रदेश सभा (ख) बाट चुनावी घर दैलो चुनावी अभियान सुरु गरेका हुन् ।

लोकतान्त्रिक वाम गठबन्धनका क्षेत्र नम्बर १ प्रतिनिधि सभा सदस्यका साझा उम्मेदवार नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व अर्थराज्यमन्त्री उदयशम्शेर राणा र प्रदेश सभा (ख) मा राष्ट्रिय खेलकुद परिषद्का पूर्व कोषाध्यक्ष युवा नेता मीनकृष्ण महर्जनले गोदावरी नगरपालिका वडा नम्बर ९ छम्पीका स्थानीय ६३ वर्षीय बृद्ध धनमाया थापा मगरको हातबाट टीका ग्रहण गरेर अभियान सुरु गरे ।

सो क्रममा बृद्ध आमा धनमायाले आशिर्वाद दिँदै ’यो क्षेत्रमा एमालेले जितेर केही काम नगरेको बताउँदै यो चुनावमा विजयी भएर आउन शुभकामनासमेत दिइन् । उनले राणा र महर्जन ललितपुरको लागि आशालाग्दो नेता भएको बताइन् ।

अभियानको सुरुवाती सभालाई सम्बोधन गर्दै प्रदेश सभा (ख) का उम्मेदवार मीनकृष्ण महर्जनले यो क्षेत्रको परिवर्तन अहिलेको लोकतान्त्रिक वाम गठबन्धनले मात्र सामाजिक, आर्थिक र विकासको परिवर्तन गर्ने भएकाले यस पटक आफूलगायत गठबन्धनका उम्मेदवारलाई मतदान गर्न आग्रह गरिन् ।

प्रतिनिधि सभा सदस्यका उम्मेदवार उदयशमशेर राणाले यस क्षेत्रमा पूर्वाधार विकासको सँगसँगै जनतालाई शिक्षा, स्वास्थ्य, खानेपानीलगायत आधारभूत आवश्यकताहरु पूरा गर्न आफू कटिबद्ध रहने बताए । उनले आफू जितेर गएपछि यस क्षेत्रलाई भ्रष्टाचार मुक्त क्षेत्र बनाउनेसमेत प्रतिबद्घता जनाए ।

नेता राणाले विगतमा जितेकाहरूले यस क्षेत्रमा विकासको मुल थुनेको र आफू पराजित हुँदा पनि जनतासँग सुख दुःखमा संगै रहेको बताउँदै आफू जितेपछि विगतको दिनमा यस क्षेत्रका जनतासँग गरेको प्रतिवद्घता पूरा गरेर छाड्ने बताए ।

चुनावी घरदैलो कार्यक्रममा नेपाली कांग्रेस, माओवादी केन्द्र, एकिकृत समाजवादी लगायत अन्य गठबन्धन दलका नेता कार्यकर्ता हौसिएर प्रचार प्रसार गर्न लागेका छन् । ललितपुरका दुर्गम गाउँमा भेटघाटका कार्यक्रम सम्पन्न गरेर लोकतान्त्रिक वाम गठबन्धनले आजबाट काँठ क्षेत्रमा तालिका बनाएर चुनाव प्रचार प्रसार सुरु गरेको छ। सोही क्रममा आज गोदावरी नगरपालिका वडा नम्बर ८ डुकुछापमा पनि घरदैलो अभियान सुरु गरिएको छ ।

लोकतान्त्रिक वाम गठबन्धनले एमाले लगायतका गठबन्धन दलको चुनावी अभियानको शैली र प्रस्तुती हेरेर सोही अनुसार आफ्नो प्रचार प्रसार अभियानलाई आक्रामक बनाउने रणनीति बनाएको लोकतान्त्रिक वाम गठबन्धन चुनाव प्रचार प्रसार समितिका संयोजक एवं नेपाली कांग्रेस ललितपुर क्षेत्र नम्बर १ का सभापति सुन्दर मान थिङले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?