विकास र समृद्धिका लागि अब नयाँ ढंगले राजनीतिक संघर्ष गर्छौं : भट्टराई

काठमाडौं । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले जनतालाई आर्थिक विकास र समृद्धि दिनका लागि अब नयाँ ढंगले राजनीतिक संघर्ष गर्ने बताएका छन् । 

बुधवार राजधानीमा शुरु भएको पार्टीको १५ औँ संघीय बैठकको उद्घाटनमा संयोजक भट्टराईले  सो कुरा बताएका हुन् । बैठक राजधानीमा दुई दिन चल्नेछ । 

‘सशस्त्र संघर्ष नगरी अब फरक ढङ्गले जनयुद्ध गर्छौं’ उनले भने, ‘भूमिगत कालको जनयुद्ध गर्दा जुन प्रकारका कठिनाइहरु हामीले भोग्यौं, दृढतापूर्वक लाग्यौं र त्यसलाई निष्कर्षमा पुर्याएका थियौं, ‘अब त्यो भन्दा नयाँ ढंगले राजनीतिक संघर्ष हामी गर्दैछौं ।’

उनले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा), नेपाली कांग्रेस लगायतका दलहरु पनि संघर्षबाटै आएको उनीहरुका राजनीतिक बिचार र सिद्धान्त पुरातन हुँदा नेपाली जनताले नयाँ खालको बिचार र सिद्धान्त खोजिरहेको बताए ।

सरकार आठ महिनामै असफलता भएको बताउँदै फरक प्रसंगमा उनले देशमा बढ्दो महिला हिंसा, बलात्कार, भ्रष्टाचार, मूल्य वृद्धि बढेको भन्दै  सरकारको आलोचना समेत गरे ।

संयोजक भट्टराईले बुधबार राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन् भने बिहीवार राजनीतिक प्रतिवेदनको समिक्षा सहित बिहीवार बैठक सकिनेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?