नयाँ शक्ति पार्टीको संघीय बैठक बुधबारदेखि बस्दै

काठमाडौं । नयाँ शक्ति पार्टीको १५ औं संघीय बैठक बुधबारदेखि काठमाडौंमा बस्दैछ । बैठक बुधबार विहान ११ बजे बुद्धनगर पार्टी प्यालेस, बुद्धनगर, काठमाडौंमा शुरु हुनेछ । बुधबार र बिहीबार दुई दिन बस्ने बैठकमा पार्टीको अवस्थाको रिपोर्टिङ, कामहरुको समीक्षा र आगामी कार्ययोजना तय हुनेछ ।

बैठकमा वर्तमान राजनीतिक परिस्थितिबारे गहन छलफल हुनुका साथै पार्टीले लिनुपर्ने रणनीतिका बारेमा ठोस निर्णय हुने नयाँ शक्ति पार्टीका प्रचार विभाग प्रमुख विश्वदीप पाण्डेले जानकारी दिए । उनका अनुसार बैठकमा पार्टीको महाधिवेशनका विषयमा पनि छलफल हुनेछ । बैठकमा अहिलेसम्म भएका महाधिवेशन तयारीसम्बन्धी कार्यहरुको रिपोर्टिङ हुनेछ भने त्यसका आधारमा महाधिवेशनको पूर्वनिर्धारित मिति आवश्यक परेमा परिमार्जन समेत हुनेछ ।

बैठकमा नेकपा सरकारको कामका बारेमा पनि छलफल गरिनेछ । सरकारका गलत कामको विरोध गर्ने, अत्यावश्यक कामका लागि दबाव दिने गरी पार्टीले भावी कार्ययोजना निर्माण गर्ने प्रचार विभाग प्रमुख पाण्डेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?