बलात्कारी र भ्रष्टलाई मृत्युदण्ड दिनुपर्छ  : यज्ञराज सुनुवार

कात्तिक १३, काठमाण्डौ । प्रमुखप्रतिपक्षीदल नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले विखण्डनकारी चरित्रका नागरिकको नागरिकता खारेज गर्न सरकारसँग माग गरेका छन् ।

मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा भण्डारीले नेपालमा अराजकता बढ्दै गएकोमा चिन्ता व्यक्त गर्दै राष्ट्रको हितमा आँच आउने खालका काम गर्नेहरुको नागरिकता खारेज गर्नुपर्ने बताएका हुन् ।

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै भण्डारीले भने, ‘संसारमा यति अराजकता र भ्रष्ट प्रवृत्ति कहीँपनि छैन । स्वर्गलाई नर्क बनाउन खोजिएको छ ।’

नेपालमा कुनै पनि नेतामा इच्छाशक्ति नभएकाले परिवर्तन हुन नसकेको भण्डारीको तर्क थियो । “नेतामा लगाब भएन । राष्ट्रवादी नेता कोही पनि छैनन् । सफल हुनका लागि ऋषि धमलामा जस्तो ईच्छाशक्ति र मिहिनेत हुनुपर्छ ।” भण्डारीले भने । 

नेपालका युवा नेताहरुले पनि हाइ काढ्ने काम मात्रै गरेको भन्दै भण्डारीले आलोचना गरे । युवा नेताहरुले बूढा नेताहरुको लगौँटी समातेर राजनीति गर्ने गरेको भण्डारीको जिकिर थियो । 

साक्षात्कारमा सत्तारुढ दल नेकपाका नेता तथा सांसद यज्ञराज सुनुवारले बलात्कारी र भ्रष्टाचारीलाई फाँसीको सजाय हुनुपर्नेमा जोड दिए । 

पछिल्लो समय नेपालमा हत्या, हिंसा, बलात्कार र भ्रष्टाचारका घट्ना बढ्दै गएको भन्दै त्यसलाई रोक्नका लागि मृत्युदण्ड दिनुपर्ने सुनुवारको माग थियो । 

अहिलेको सरकारबाट ठूलो परिवर्तनको अपेक्षा राख्नु स्वभाविक भएको भन्दै उनले ५ वर्षमा गर्ने काम ६ महिनामै गर्न सकेन भनेर असफल भन्न नहुने तर्क गरे । 

सरकार बनेको छोटो अवधीमा नै १६ वटा मौलिक हक, नीति, कार्यक्रम र बजेट बनेको उल्लेख गर्दै सुनुवारले तिनै नीति बजेट कार्यान्वयन भएपछि परिवर्तन देखिने बताए । 

“मुलुकले दिशा समात्न लागेको छ । तर समस्या धेरै छन् । समाधान पनि हुँदै जान्छ ।” उनले भने ।

प्रतिपक्षीको गाली र आलोचनाले कम्युनिष्ट सरकार विचलित नहुने भन्दै उनले दबाबलाई सकारात्मक रुपमा लिइने बताए । “सरकारले काम गरिरहेको छ । प्रतिपक्षीको गालीले कम्युनिष्टहरु रिसाउँदैनन् ।” सुनुवारले भने । 

नेता सुनुवारले प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी ओली स्वस्थ भएपछि स्थायी कमिटीको बैठक बसेर एकता प्रक्रिया अगाडि बढाइने जानकारी दिए । “स्थानीय तहसम्मको कमिटी निर्माण छिटै हुन्छ । अब एकता प्रक्रिया टुङ्ग्याउँछाँै ।” सुनुवारले भने । 

राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका सदस्य एवम् सांसद महेन्द्र राय यादवले छठसम्म संविधान संशोधन प्रक्रिया अगाडि नबढे सरकारलाई दिएको समर्थन फिर्ता लिने स्पष्ट पारेका छन् । 

सरकारले उल्लेखनीय काम गर्न नसकेको आरोप लगाउँदै यादवले आफूहरुले प्रस्तुत गरेका मागका विषयमा सरकारले बेवास्ता गरेको जिकिर गरे । 

“संविधान संशोधनको माग पूरा गर्न छठसम्मको समय दिएका छौँ । सरकारले कार्यान्वयन गरेन भने समर्थन फिर्ता लिन्छौँ । यसको सम्पूर्ण जिम्मेवार सरकार नै हुनुपर्छ ।”यादवले भने । 

राजनीतिक मुद्दा सम्बोधन नभएसम्म आर्थिक समृद्धि र विकास हाँसिल हुन नसक्ने उनको भनाइ थियो ।

सरकार अलमल र दुविधामा परेको भन्दै यादवले संघीयता कार्यान्वयनमा पनि सरकार असफल भएको आरोप लगाए । 

प्रदेश सरकार सञ्चालनका लागि संघीय सरकारले बाधा पुर्याएको भन्दै यादवले संघीयता कमजोर बनाउने खेलमा सरकार नै सक्रिय हुन थालेको जिकिर गरे । 

प्रदेश २ को सरकारले प्रहरी ऐन ल्याएर संघीय सरकारलाई दबाब दिएको जानकारी दिँदै उनले संघले तत्काल आवश्यक कानून बनाएर प्रदेशलाई दिनुपर्ने माग गरे ।“ बलात्कारी समात्न नसक्ने सरकारले अरु के काम गर्छ ?” यादवले प्रश्न गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?