२०७५, १३ कार्तिक मंगलवार ०९:४७

अस्थायी, करार, ज्यालादारी र ठेकेदारी कर्मचारीले छठपछि सिंहदरबार घेर्ने


प्रकाशित मिति : २०७५, १३ कार्तिक मंगलवार ०९:४७

काठमाडौं । सरकारी कार्यालयमा कार्यरत अस्थायी, करार, ज्यालादारी र ठेकेदारी कर्मचारीहरुको रोजिरोटी खोसिएको भन्दै आफ्ना माग पूरा नभए सिंहदरबारमा जे पनि गर्न सक्ने धम्की दिएका छन् । 

मंगलबार काठमाडौंमा भएको साक्षात्कारमा अखिल नेपाल सरकारी अस्थायी, करार तथा ज्यालादारी कर्मचारी श्रमिक संघका संयोजक कुमार राउतले आफूहरुको रोजिरोटी नखोस्न सरकारलाई चेतावनी पनि दिए । 

राउतले २०–२५ वर्षसम्म काम गरेका कर्मचारीलाई सरकारले तीन महिनाको तलब दिएर हटाउन लागेको भन्दै आपत्ति जनाए । 
३२ हजार कर्मचारीको रोजिरोटी खोसिएकोप्रति गुनासो गर्दै राउतले छठसम्म माग पूरा नभए सिंहदरबार पस्ने चेतावनी दिए । ‘छठसम्म माग पूरा नभए सशक्त आन्दोलन गर्छौं। हामी मर्न पनि तयार छौँ । रोजिरोटी खोसिएका कर्मचारीका परिवारलाई सिंहदरबार छिराउँछौँ ।’ राउतले भने । 

आधिकारिक ट्रेड युनियनका उपाध्यक्ष भोला पोख्रेलले अस्थायी, करार, ज्यालादारी र ठेकेदारी कर्मचारीलाई सरकारले नियम र विगतमा भएका सम्झौताअनुसार व्यवस्थापन गर्नुपर्ने बताए । 
सर्वोच्चले यस्ता कर्मचारी नराख्न आदेश दिए पनि सरकारले पालना नगरेको भन्दै उनले अहिले हटाउन खोज्नु गलत भएको तर्क गरे । 
आवश्यकता पर्यो भनेर भर्ना गर्ने अनि अहिले किन हटाउन खोजियो ? पोख्रेलले प्रश्न गरे । 

कार्यक्रममा काँग्रेसका नेता चन्द्र भण्डारीले नेपालमा कर्मचारी भर्ना गर्ने शैली नै ठीक नभएकाले यस्तो समस्या आएको तर्क गरे भने सत्तारुढ दल नेकपाका नेता तथा सांसद यज्ञराज सुनुवारले कर्मचारीतन्त्रभित्र धेरै जटिलता रहेको भन्दै सरकारले समस्याको समाधान गर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस