बेलायतमा पनि मनाइयो म्हःपूजा र नेपाल संवत

लोकपथ
91
Shares

बेलायत । बेलायतको साउथ इष्ट लन्डनमा एक विशेष कार्यक्रमबीच म्हःपूजा र नेपाल संवतको नयाँ वर्ष मनाइएको छ । नेपाली हिन्दूहरूको दोस्रो ठूलो चाड तिहारसँगै नेवार समूदायको मौलिक पर्व म्हः पूजा नेपाली पर्व मध्येको एक महत्वपूर्ण पर्व हो । आफ्नो शरीरलाई परमात्मा मानेर आफूले आफूलाई आराधना गरी शरीरभित्रको चेतनालाई पूजा गर्ने पर्वको रुपमा म्हः पूजालाई लिइन्छ ।

नेवारी भाषामा म्हः शब्दले देह वा शरीर भन्ने बुझाउँछ । त्यसैले म्हः पूजामा आत्मतत्त्व रहेको, परमात्माको बास भएको चेतनादायक आफ्नै शरीरको पूजा गरिन्छ । बेलायतमा रहेका नेपाली समूदायले आफ्ना मौलिक पर्वहरुलाई भव्यताका साथ मनाउने गर्दछन् । सोही अवसर पारेर पासा पुचः गुथी यूकेको साउथ इष्ट शाखाको आयोजनामा बुधबार एशिएन कम्युनिटी सेन्टर प्लमस्टिडमा सम्पन्न कार्यक्रममा नेवारी परम्पराअनुसार म्हस्पूजाका साथै नेपाल संवतको नयाँ वर्ष ११४३ पनि मनाइएको हो ।

सयौँको संख्यामा बेलायतस्थित नेवारी समुदायका सदस्यहरु सहभागी कार्यक्रम गैरनेवा समुदायबाट पनि उल्लेख्य नेपाली उपस्थित थिए । पासा पुचः साउथ इष्ट अध्यक्ष माधवलाल श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रमको शुरुमा मौलिक नेवा परम्पराअनुसार म्हः पूजा गरिएको थियो । उक्त अवसरमा गैरनेवा समुदायबाट आएका अतिथिहरूले पनि उत्सुकतापूर्वक म्हः पूजामा भाग लिएका थिए ।

कार्यक्रममा प्रमुख अतिथि लन्डनस्थित नेपाली दूतावासकी उपनियोग प्रमुख रोशन खनालले शुभकामना मन्तव्य दिंदै बेलायतमा पनि नेपाली मौलिक परम्पराहरूको निरन्तरता हुनु सुखद रहेको बताइन् । पासा पुचः गुठीले बेलायतमा नेपाली कला, संस्कृति जगेर्ना र पुस्तान्तरणमा पु¥याइरहेको योगदानको उनले प्रशंसा गरिन् ।

पासा पुचः गुथी साउथ इष्टका संस्थापक अध्यक्ष कुमार श्रेष्ठले झन्डै दश वर्षअघिदेखि बेलायतमा वर्षेनी म्हःपूजा हुँदै आएको जानकारी दिंदै अन्य मौलिक चाडपर्व र जात्राहरूलाई पनि निरन्तरता दिइँदै आएको जानकारी गराए । संस्थाका अध्यक्ष माधवलाल श्रेष्ठले नेवा परम्परा र संस्कृतिलाई बेलायतमा हुर्किँदै गरेको नेवा समुदायको दोस्रो पुस्तालाई मात्र नभइ अरु समुदायका नेपालीहरु माझ पनि चिनाउने प्रयास गर्दै आएको सुनाए ।

सो अवसरमा मौलिक लाखेनाच, धिमेबाजा, कुमारीलगायतका सांस्कृतिक प्रस्तुतिहरु देखाइएको थियो भने विभिन्न स्थानीय कलाकारले मौलिक गीत, नृत्य पनि प्रस्तुत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?