धार्मिक हिंसा भड्किन नदिन महोत्तरीमा राजनीतिक दलहरूले सद्‌भाव र्‍याली निकाल्ने

लोकपथ
49
Shares

महोत्तरी । महोत्तरीको भंगाहा नगरपालिकामा सबै राजनीतिक दलहरुले सामाजिक सद्‌भाव र्‍याली निकाल्ने भएका छन् । बिहीबार मुस्लिम र हिन्दु समुदायबीच धार्मिक हिंसा भड्किएपछि शुक्रबार राजनीतिक दलहरुले सामाजिक सद्‌भाव र्‍याली निकाल्ने तयारी गरेका हुन् ।

शुक्रबार बसेको सर्वदलीय बैठकले शुक्रबार नै नगरपालिका क्षेत्रमा सामाजिक सद्‌भाव र्‍याली निकाल्ने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले जानकारी दिए ।

हिन्दु र मुस्लिम समुदायको बाहुल्यता रहेको भंगाहामा झण्डाको विषयलाइृ लिएर बिहीबार दुई पक्षबीच झडप भएपछि जिल्ला प्रशासन कार्यालयले कर्फ्यू आदेशसमेत जारी गरेको छ ।

नगरपालिकाको पहरिया चोकमा मुस्लिमहरुले राखेको झण्डा भएको ठाउँमा हिन्दुहरूले पनि राख्ने तयारी गरेपछि दुई समूहबीचको झडपले उग्ररुप लिएको थियो ।

झडपलाई नियन्त्रणमा लिन प्रहरीले दर्जनौँ सेल अश्रुग्यास प्रहार गरेको थियो भने त्यतिकै संख्यामा हवाइ फायर गरेको थियो । झडपमा दर्जनौ संख्यामा स्थानीय र प्रहरी घाइते समेत भए ।

थप हिंसा भड्कन सक्ने सम्भावनालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालयले अनिश्चितकालको लागि कर्फ्यूलाई जारी राखेको छ ।

‘अहिले स्थिति नियन्त्रणमा आइसकेको छ । आपसी मनमुटावमा समझदारी भएको छ,’ सहायक प्रमुख जिल्ला अधिकारी न्यौपानेले भने, ‘दलहरूले धार्मिक हिंसा नभड्कियोस भनेर संयमता अपनाएका छन् । हामीले पनि यसलाई गम्भीररुपमा लिएर सोहीअनुसार काम गरिरहेका छौँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?