कैलाली । कैलालीमा तिहारमा आवश्यक फूल अभाव भएको छ । कैलालीमा दर्जनौँ नागरिकले व्यावसायिकरूपमा फूलखेती गरेको भए पनि तिहारमा आवश्यक फूल अभाव भएको हो । टीकापुरका पुराना फूल व्यवसायी सीताराम चौधरीले तिहारको अघिल्लो दिन नै फूल सकिएको बताए ।
‘घरमै बिक्री गरिरहेको थिए, धेरै उपभोक्ता फूल नपाएर फर्किनुभयो’, उनले भने, ‘डेढ विघामा खेती गरेको छु । उपभोक्ताको माग पूरा गर्न सकिएन, धेरै जना फर्कनुभयो ।’ ४ वर्षअघि १० कठ्ठा जमीनबाट यो पेशा थालेका सितारामले व्यवसाय विस्तार गर्दै लिएका छन् । सिताराम जस्तै कैलालीमा दर्जन बढी नागरिकले व्यवसायिक खेती गरेका छन् ।
तिहारमा बजारमा फूलका माला तिहारको दुई दिनमै सकिएका ब्यापारीहरु बताउँछन् । जानकी गाउँपालिका–४ कि समिरा धामी माला किन्न बुधबार टीकापुर बजार आइन् । मखमली फूलका माला किन्न आएकी समिरा माला नपाएपछि रित्तो हात फर्किइन् । ‘मखमली फूलका माला लगाउने हाम्रो चलन, बजारमा तयार पाइन्छन् भनेर ढुक्क भए, यहाँ त सकिएका रहेछन्, उनले भनिन्, ‘फूलका माला नपाएपछि प्लाष्टिकका माला लिएर जाँदैछु । के गर्नु प्लाष्टिकका माला कहिल्यै प्रयोग गरेका थिएनौँ ।’
टीकापुर–३ कि रमिता बिकले पनि बजारमा माला पाइनन् । उनी पनि माला किन्न बजारसम्म पुगेकी थिइन् । ‘माला नपाएपछि गाउँमै फूल खोज्न थालेकी छु’, उनले भनिन्, ‘विगतमा गाउँमा फालाफाल फूल हुन्थे, घरघरमा फूल रोपेका हुन्थे, पछिल्ला केही वर्ष गाउँमा फूल पाउन कठिन छ ।’ कैलालीमा फूल खेतीका लागि जग्गा अभाव छैन । हरेक नागरिकका घर २/४ कठ्ठा जमीनमा छन् । एक कठ्ठा जग्गा नभएका निकै कम छन् ।
यसरी घर वरिपरि जग्गा हुँदा पनि मानिस २ बोट फूल रोप्दैनन् । घरमै फूल रोपेको भए आज फूल र माला अभाव नहुने जेष्ठ नागरिक धौली न्यौपाने बताउँछन् । ‘हाम्रा पालामा घर वरिपरि फूलैफूल हुन्थे, कहिल्यै माला, फूल खोज्न, किन्न परेन’, उनले भने, ‘हामी फूलबारीले घर सजाउँथ्यौँ, अचेल त घरभित्र सजाउने, चाडपर्वमा आवश्यक फूल बजार गएर किन्छन् । मानिस कति अल्छी भएका हुन् ।’ तिहार सौन्दर्यताको पर्व पनि हो ।
तिहारमा झिलिमिली बनाउने, घर आँगन रंगाउने, पूजाआजा गर्ने गरिन्छ । यसबेला अन्य समयभन्दा बढी फूल प्रयोग गरिन्छ । बजारमा माला र फूल अभिाव भएपछि प्लाष्टिकका मालाको ब्यापार पनि राम्रो भएको छ । ब्यापारी शिव चौधरीले फूलका माला नपाएपछि धेरै मानिस प्लाष्टिकका माला किन्न आएको बताए ।
संस्कृतिप्रेमी पवनदेवी तिमिल्सिना हरेक मानिसले घरघरमै फूलबारी बनाउन आवश्यक रहेको बताउँछन् । ‘घरमा थोरै भए पनि फूलबारी चाहिन्छ, फूलबारी मासेर विभिन्न संरचना बनाएका घर धेरै छन्’, उनले भने, ‘घरघरमै २/४ बोट फूल लगाएका भए अहिले अभाव हुने थिएन । वरिपरि जग्गा भएर पनि फुल किन्ने हामी नेपालीको बानी अनौँठो छ । यहाँको फूल सकिएपछि भारतबाट आएको फूल बिक्री भएको छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया