लमजुङ । जलस्रोत तथा सिँचाई विकास डिभिजन कार्यालय लमजुङले आर्थिक वर्ष २०७९/०८० मा कार्यालयमा परेका योजनाहरुको निर्माण कार्य सुरु गरेको छ । कार्यालयका प्रमुख राजेन्द्र भण्डारीका अनुसार यस आर्थिक वर्षमा संघ सरकार र प्रदेश सरकारमार्फत जिल्लाका लागि प्राप्त भएको १ सय ११ वटा योजनाका काम असोजको दोस्रोबाट सुरु गरिएको हो ।
चालू वर्षमा जिल्लामा सिँचाई सम्बन्धी संघ र प्रदेशबाट ६८ वटा योजना र नदी नियन्त्रण सम्बन्धि संघ र प्रदेशबाट ४३ वटा योजनाहरु परेको उनले बताए । उक्त योजनाका लागि संघबाट ६ करोड २५ लाख र प्रदेशबाट ९ करोड ९७ लाख रुपैयाँ गरी कूल १६ करोड २२ लाख बजेट आएको छ । कुल १ सय ११ वटा योजनाका लागि आएको उक्त बजेटलाई योजनाको इस्टेमेट अनुसार बजेट विनियोजन गर्ने कार्यालयले जनाएको छ ।
संघ र प्रदेश सरकारबाट जिल्लामा सिँचाई सम्बन्धी परेका योजनाहरुमा भोर्लेटार सिँचाई योजना, अलैचेफाँट सिंचाई योजना अर्चलबोट, राम्चेफाँट सिँचाई योजना भुजुङ, राईनासटार सिंचाई योजना, सत्रसय सिंचाई योजना भोर्लेटार, मोर्ङी सिँचाई योजना घनपोखरा, नयाँबारी सिँचाई आयोजना राईनास ८ तार्कुघाट रहेको कार्यालयका इन्जिनियर सुजन खड्काले बताए ।
यस्तै, फुलिखेत सिँचाई योजना क्व्होलासोंथर गाउँपालिका ६, आलेकुलो सिँचाई दुधपोखरी ४ ताजी, छिनखोला सिँचाई आयोजना मस्र्याङ्दी ७, लामीखेत सिँचाई योजना सुन्दरवजार ३, नर्सलबोटे पिप्ले सिँचाई योजना बेसीशहर २, खिन्चोक खोला सिँचाई योजना दोर्दी गाउँपालिकालगायत गरी ६८ वटा सिँचाई सम्बन्धी योजनाहरु रहेको उनले बताए ।
यसैगरी संघ र प्रदेश सरकारबाट जिल्लामा नदी नियन्त्रण सम्बन्धि परेका योजनाहरुमा आपतकालीन बाढीपहिरो तथा जलस्रोतसम्बन्धी क्षतिग्रस्त संरचनाहरुको पुर्नस्थापना कार्य, सुनखोला तटबन्ध निर्माण बेंसीशहर ७, खहरेखोला तटबन्ध निर्माण मध्यनेपाल १ र २, दत्तेबाहुनी कुवा नजिक पहिरो नियन्त्रण राईनास ६, फुलबारी ढुंगाफोरुवा बस्ती संरक्षण सुन्दरवजार ९, कोल्की भञ्ज्याङ पहिरो नियन्त्रण दुधपोखरी ५, सिम्लेखेत दाहाल खोला नियन्त्रण राइनास ५, आँसिफाँट बस्ती संरक्षण मध्यनेपाल १०, किरिन्चे खोला नियन्त्रण कार्य सुन्दरबजार ५, डाँडास्वारा पहिरो नियन्त्रण दुधपोखरी २, आपतकालीन बाढीपहिरो नियन्त्रणलगायत गरी ४३ वटा योजना रहेका छन् ।
चालू वर्षका उक्त योजनाहरुमध्ये निर्माण सुरु गरिएको खहरेखोला नियन्त्रण सुन्दरवजार योजनाको काम सम्पन्न भएको इन्जिनियर खड्काले बताए । यस्तै, कोत्रिया कुलो सिँचाई योजना मध्यनेपाल, आलेकुलो सिंचाई योजना दुधपोखरीको कार्य तीव्र गतिमा अघि बढेको र अन्य योजनाको कार्य पनि सुरु हुने चरणमा रहेको उनले बताए ।
चालू वर्षका योजनाहरुमध्ये संघ तर्फको ४ वटा र प्रदेश तर्फको १३ वटा योजना गत वर्षको रहेको छ । कार्यालयले चालू वर्षका योजनाका कार्यहरु असारमसान्तभित्रका सक्ने गरी योजनाहरुको कार्यलाई तिव्र पारेको सिँचाई डिभिजन कार्यालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया