निर्वाचन देशको परिस्थिति जाँच्ने ब्यारोमिटर : बिजुक्छे

लोकपथ
28
Shares

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनलाई देशको परिस्थिति जाँच्ने ब्यारोमिटरको रुपमा लिएको बताएका छन् ।

मंगलवार प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि पार्टीको घोषणापत्र सार्वजनिक गर्दै उनले आगामी निर्वाचनलाई देशको परिस्थिति जाँच्ने ब्यारोमिटरको रुपमा लिएको बताएका हुन् । उनले ब्यारोमिटरको पारो तल झर्दा आधीबेरी आउने संकेत भएजस्तै निर्वाचनमा आफ्नो पार्टीको मत माथि भएमा क्रान्तिको सम्भावना छ भन्ने देखाउने उल्लेख गरे ।

उनले देशमा बिकराल समस्या देखा परिरहेको बताउँदै संसारमा तेस्रो विश्वयुद्धको सम्भावना देखिएको भन्दै निर्वाचनमा राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थितिको विषयमा जनतालाई जानकारी गराउने बताए । उनले राष्ट्रिय परिस्थितिलाई बिगार्नेहरु को–को हुन् र अन्तर्राष्ट्रिय परिस्थितिमा ठूला दलहरुको दृष्टिकोण र आफ्नो दृष्टिकोणमा के फरक छन् भन्ने विषय लिएर जनताकोमा जाने पनि बताए ।

सञ्चारकर्मीहरुको जिज्ञासाको जवाफ दिँदै अध्यक्ष बिजुक्छेले आफ्नो पार्टी देशमा बनेका दुवै गठबन्धनमा जानु गलत सावित हुने भएकाले एक्लै निर्वाचनमा होमिएको बताए । उनले गठबन्धनमा मिसिने कुरालाई फोहोर पानीमा नुहाएर सफा हुन नसकिने भनि टिप्पणी गरे । उनले गठबन्धनका दलहरुको झुठा कुरा गरेर, जात, क्षेत्रको कुरा गरेर र लोभ लालच देखाएर भएपनि मत लिने मात्रै भएको बताएका छन् । मत पाएपछि पुनः सरकारमा गएर गलत सन्धि सम्झौताहरु गर्ने उद्देश्य दुवै गठबन्धनका दलहरुको रहेको उनको भनाइ छ ।

उनले पुष्पकमल दाहाल, बाबुराम भट्टराई, केपी शर्मा ओली र माधवकुमार नेपालहरु सच्चा कम्युनिष्ट नभएको टिप्पणी गरे । उनिहरु सरकारमा जाँदा कम्युनिष्टले गर्ने काम र निर्णयहरु नगरेको भन्दै उनिहरुलाई कम्युनिष्टको दर्जा दिनु नहुने बिजुक्छेले बताए ।

उनले कम्युनिष्टको नाममा सरकारमा गएका पार्टीहरुले जनताको पक्षका काम गर्न नसकेको पनि बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?