२०७५, १२ कार्तिक सोमवार ०८:०८

ब्राजिलको राष्ट्रपतिमा बोल्सोनारो विजयी, प्रजातन्त्र खतरामा–विपक्षी


प्रकाशित मिति : २०७५, १२ कार्तिक सोमवार ०८:०८

रियो डे जेनेरियो । ब्राजिलको राष्ट्रपतिमा जेयर बोल्सोनारो निर्वाचित भएका छन् । आइतबार सम्पन्न दोस्रो चरणको निर्वाचनमा बोल्सोनारोले ५५ दशमलव १३ प्रतिशत मत प्राप्त गरेको  निर्वाचन आयोगले जनाएको छ । 

विगतमा सैनिक अधिकृत रहिसकेका र उग्र–दक्षिणपन्थी भनेर चिनिएका ६३ वर्षीय बोल्सोनारोका विपक्षी वर्कर्स पार्टीका नेता फर्नान्डो हडाडले ४४ दशमलव ८७ प्रतिशत मत प्राप्त गरेका छन् । 
बोल्सोनारोले आगामी सन् २०१९ को जनवरी १ बाट राष्ट्रपतिको कार्यभार सम्हालेका छन् ।  

चुनावमा विजयी भएपश्चात फेसबुकबाट प्रत्यक्ष सम्बोधन गरेका बोल्सोनारोले सबै मिलेर ब्राजिलको भविष्य बदल्ने प्रतिबद्धता व्यक्त गरे । गत सेप्टेम्बर ६ मा चुनावी सभामा सहभागी हुँदा बोल्सोनारोमाथि पेटमा छुरा प्रहार गरेपछि उनले फेसबुकबाटै चुनावी प्रचार गरिरहेका छन् ।  

सम्बोधनका क्रममा उनले ब्राजिलमा आफूले बाइबल र संविधानलाई सिरोपर गरेर सत्ता सञ्चालन गर्ने बताए । उनले भने, “हामी बामपन्थीहरुको समाजवाद, साम्यवाद, लोकप्रियतावाद र अतिवादको भ्रममा पर्ने छैनौं ।” तर उहाँले संविधान, प्रजातन्त्र र स्वतन्त्रताको रक्षा गर्ने प्रतिबद्धता व्यक्त गरे । 

चुनावी नतिजा आएलगत्तै रियो डे जेनेरियास्थित बोल्सोनारोको घरबाहिर हजारौं समर्थक भेला भएका थिए । उनीहरुले ब्राजिलको झण्डा फहराउनुका साथै पटका पड्काएका थिए । 

ह्वाइट हाउसले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टेलिफोन गरी बोल्सोनारोलाई बधाई दिएको  जनाएको छ । दुबै नेताले आमजनताको जीवनस्तरमा सुधार ल्याउन मिलेर कार्य गर्नेमा बलियो प्रतिबद्धता व्यक्त गरेका छन्– ह्वाइट हाउसका प्रवक्ता सराह स्यान्डर्सले बताए । 

दक्षिण अमेरिकामा ट्रम्पका उत्तराधिकारीका रुपमा लिइने बोल्सोनारोले ट्रम्पका नीतिहरुको खुलेर प्रशंसा गर्ने गरे । 

अर्कोतर्फ, विपक्षमा पुगेको सत्तारुढ बामपन्थी वर्कर्स पार्टीले प्रतिरोध गर्ने जनाएको छ । चुनावमा पराजित भएलगत्तै हडाडले ४ करोड ५० लाख जनताको स्वतन्त्रताको रक्षाका लागि सङ्घर्ष गर्ने बताए । साओ पाउलोमा वर्कर्स पार्टीका कार्यकर्तालाई सम्बोधन गर्दै हडाडले नवनिर्वाचित राष्ट्रपति बोल्सोनारोलाई “फासीवादी” भनेका थिए । 

महिला, समलिङ्गी र काला जातिमाथि नकारात्मक टिप्पणी गर्न रुचाउने बोल्सोनारोले बामपन्थी विचारधाराका फर्नान्डो हडाडलाई पराजित गर्न सक्ने मत सर्वेक्षणले देखाएका थिए । 

भ्रष्टाचार, कुशासन र हत्याहिंसाका कारण दक्षिण अमेरिकाको सबैभन्दा ठूलो देश ब्राजिलका आमजनतामा चरम नैराश्यता छ । उनीहरु परिवर्तनको पक्षमा उभिएको देखिएको छ । 

राष्ट्रपतिका उम्मेदवार हडाड मात्र होइन उनको वर्कर्स पार्टीको छविसमेत पछिल्ला वर्षमा कमजोर भएको छ । हडाडलाई भ्रष्टाचारको आरोपमा हाल जेलमा रहेका पूर्वराष्ट्रपति लुइस इनासियो लुला डी सिल्भाको समर्थन रहेको थियो । लुला सन् २००३ देखि २०१० सम्म ब्राजिलको राष्ट्रपति हुन् । लुलाको झैं सशक्त नदेखिएका हडाडले पार्टीलाई एकताबद्ध गराउन सकेका थिए । उनकै कमजोरीका कारण विपक्षी बोल्सोनारोले मतदातालाई आकर्षित गरेको बताइन्छ । पूर्वसैनिक अधिकृत बोल्सोनारोले सत्ताको बागडोर पाए के गर्लान् भन्ने सर्वत्र चासो र चिन्ता बढेको छ । 

बोल्सोनारोको नारा भने फरक थियो । उनी सन् १९६४ देखि १९८५ को अवधिका सैनिक सरकारले गरेको औद्योगिकीकरणलाई मुक्तकण्ठले प्रशंसा गरे । विगतका सैनिक सरकारले गरेका सबै कार्यहरुको बोल्सेनारोले स्वागत पनि गरेका छन् ।  

बोल्सेनारोले विगतका सैनिक सत्ताले बामपन्थी विद्रोही र उनीहरुका समर्थकलाई हत्या गर्नुको साटो यातना मात्र दिएको बताउने गरेका छन् । उनका धारणा र विचारलाई मानिसले बढी रुचाएका छन् । 

ब्राजिलको राष्ट्रपतीय निर्वाचनमा १४ करोड ७० लाख मतदाता रहेका थिए । ब्राजिलमा मतदानलाई बाध्यकारी बनाइएको छ ।
 

प्रतिक्रिया दिनुहोस