मलेसियासँग श्रम सम्झौताः आफन्तको मृत्यु भए १५ दिन छुट्टी, करार २ वर्ष

काठमाडौं । नेपाल मलेसियाबीच श्रम सम्झौता पत्र (एमओयू)मा हस्ताक्षर भएको छ । सम्झौता पत्रमा हस्ताक्षर भएसँगै अब नेपाली कामदारले परिवारको निकट सदस्यको मृत्यु भएमा १५ दिनको छुट्टी पाउने भएको छ । 

समझदारीअनुसार नेपाली कामदार मलेसियाको विमानस्थल पुगेको ६ घण्टाभित्र गन्तव्य स्थलमा लगिनुपर्ने, महिला कामदारको हकमा विशेष ख्याल गर्नुपर्ने, परिवारको निकट सदस्यको मुत्यु भएमा १५ दिनको छुट्टी दिइने पनि उल्लेख गरिएको छ ।

सोमबार बिहान राजधानिको होटल ह्यातमा दुई देशबीच श्रम सम्झौता पत्र (एमओयू)मा हस्ताक्षर भएको हो । 

त्यस्तै सम्झौता पत्रमा भएको हस्ताक्षरसँगै मलेसिया जाने कामदार अब दुई वर्षमा फर्किन पाउने छन् । यसअघि तीन वर्षको अवधि तोकिएको थियो । 

करारपत्रको समयभित्र रोजगारदाताको कारण समस्या सिर्जना भए कामदारले अर्को रोजगारदाताको कम्पनीमा समेत काम गर्न पाइने अवस्था सृजना भएको छ । 

यो सँगै मलेसिया कामदार पठाउँदा लाग्ने सेवा शुल्क, ओहोर दोहोर हवाई टिकट, भिसा शुल्क, स्वास्थ्य परीक्षण शुल्क र सुरक्षा जाँचलगायत लाग्ने शुल्क सम्पूर्ण सम्बन्धित रोजगारदाताले नै व्यहोर्नु पर्नेछ । 

सम्झौता पत्रमा उल्लेख भएअनुसार अब मलेसिया सरकारले लगाउँदै आएको ‘लेभी’ पनि नलाग्ने भएको छ । यसअघि मलेसिया सरकारले नेपाली कामदारबाट ‘लेभी’ उठाउँदै आएको थियो । 

त्यस्तै रोजगारदाताले तलब प्रत्येक महिनाको ७ गतेभित्र बैंक खातामार्फत भुक्तानी गर्नुपर्नेछ भने मलेसिया सरकारले तोकेको न्यूनतम पारिश्रमिक भन्दा कम नहुने गरी तलब भत्ता, एवं सुविधा पाउने व्यवस्था पनि सम्झौतापत्र मार्फत उल्लेख गरिएको छ । 

त्यस्तैै हाललाई बिमा मलेसियाको श्रम कानुनमा उल्लेख भए अनुसार नै कायम हुने भएको छ । मलेसियाको श्रम कानुनले दुई थरी बिमालाई सम्बोधन गरेको छ । एउटा कार्यस्थलमा दुर्घटना भए पीडितलाई क्षतिपूर्ति समेत दिनुपर्ने प्रावधान राखेको छ । शल्यक्रिया र अस्पतालमा उपचार गर्नको लागि छुट्टै प्याकेजको बिमा छ। हाल यी दुई प्याकेजले कामदारलाई सम्बोधन गर्छ ।

श्रम सम्झौताको मस्यौदामा नेपालका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट र मलेसियाका मानव संशाधनमन्त्री कुलासेगरानले हस्ताक्षर गरेका थिए ।    

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?