नेपाल मलेसियाबीच ‘एमओयू’मा हस्ताक्षर,अब बिना शूल्क रोजगारीका लागि मलेसिया जान पाउने

काठमाडौं । नेपाल मलेसियाबीच श्रम सम्झौता पत्र (एमओयू)मा हस्ताक्षर भएको छ । सम्झौता पत्रमा हस्ताक्षर भएसँगै अब नेपाली कामदारले विना शूल्क रोजगारीको लागि मलेसिया जान पाउने भएका छन् । 

राजधानीस्थित होटल ह्यातमा सोमबार बिहान बसेको उच्चस्तरीय बैठकपछि श्रम सम्झौताको मस्यौदामा नेपालका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट र मलेसियाका मानव संशाधनमन्त्री कुलासेगरानले हस्ताक्षर गरेका हुन् ।    

नेपाल मलेसियाबीच बहुप्रतिक्षित द्विपक्षीय श्रम समझदारी पत्र (एमओयू)मा हस्ताक्षर गर्नुअघि उच्चस्तरीय बैठक बसेको हो । 

मलेसियाका मानव संशाधनमन्त्री कुलासेगरन ६ सदस्यीय उच्चस्तरी टोलीको नेतृत्व गर्दै आइतबार राति ११ बजे काठमाडौं आइपुगेका थिए । 

गत महिना श्रम सम्झौता मस्यौदालाई अन्तिम रुप दिन नेपाली प्रतिनिधिमण्डल मलेसिया गएका थिए । 

असोज १२ गते मलेसियाको पुत्राजयमा नेपाली पक्ष र मलेसियाली पक्षबीच सम्झौताको एमओयुमा सहमति जुटेको थियो ।

रोजगारदाता मुलुकलाई कामदारप्रति जवाफदेही बनाउँदै नेपाली कामदारले अधिकतम लाभ प्राप्त गर्ने गरी सम्झौतामा हस्ताक्षर भएको हो ।

सम्झौतामा वैदेशिक रोजगारीका लागि मलेसिया जाने नेपाली कामदारको छनोट प्रक्रियामा लाग्ने सम्पूर्ण खर्च रोजगारदाता मुलुकले नै व्यहोर्ने छ । साथै मलेसिया जाने नेपाली कामदारले छनोट प्रक्रियामा शूल्क तिर्नुपर्ने छैन । त्यस्तै नेपाली कामदारको सामाजिक सुरक्षाका विविध पाटो पनि सम्झौताले सम्बोधन गरेको छ ।

दुई वर्षको करार कायम

सम्झौता पत्रमा भएको हस्ताक्षरसँगै मलेसिया जाने कामदार अब दुई वर्षमा फर्किन पाउने छन् । यसअघि तीन वर्षको थियो । 

करारपत्रको समयभित्र रोजगारदाताको कारण समस्या सिर्जना भए कामदारले अर्को रोजगारदाताको कम्पनी काम गर्न पाइने अवस्था सृजना भएको छ ।

सेवा शुल्क आधा महिनाको तलब

भिसा र टिकट, स्वास्थ्य परिक्षणको शूल्क रोजगारदाताले नै व्यहोर्नेछ। कामदार आपूर्ति गरेबापत रोजगारदाताले म्यानपावरलाई कामदारको १५ दिनको तलब बराबरको सेवा शूल्क भुक्तानी गर्नुपर्छ । जुन सेवा शूल्क म्यानपावरले कामदारसँग उठाउन पाइने छैन । हाल कामदारको न्युनतम रकम एकहजार ५० रिंगेट छ । सुरक्षा गार्डमा जानेको १५ सय रिंगेट छ । त्यसको ५० प्रतिशत रकम सेवा शूल्क बापत म्यानपावरले पाउनेछ । रोजगारदाताले यो खर्च कामदारको तलबबाट भुक्तानी गर्न पाइने छैन ।

नेपालमा हुने स्वास्थ्य परिक्षण र ‘सेक्युरिटी स्क्रिनिङ’ बापत कामदारले भुक्तानी गरेको रकम मलेसिया पुगेपछि रोजगारदाताले पहिलो महिनामै भुक्तानी गर्नुपर्नेछ ।

बिमा मलेसियाकै नियम अनुसार

हाललाई बिमा मलेसियाको श्रम कानुनमा उल्लेख भए अनुसार नै कायम हुने भएको छ । मलेसियाको श्रम कानुनले दुई थरी बिमालाई सम्बोधन गरेको छ । एउटा कार्यस्थलमा दुर्घटना भए पीडितलाई क्षतिपूर्ति समेत दिनुपर्ने प्रावधान राखेको छ । शल्यक्रिया र अस्पतालमा उपचार गर्नको लागि छुट्टै प्याकेजको बिमा छ। हाल यी दुई प्याकेजले कामदारलाई सम्बोधन गर्छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?