घरआँगनमा तिहारको रौनक छ । त्यसो त आजबाट घरहरु झिलिमिली देखिएका छन् । तिहारमा घर उज्यालो बन्नु-बनाउनु कुनै नौलो कुरा होइन । यद्यपि, झिलिमिलीका नाममा आधुनिक साधनहरुले विस्थापित हुन चाहिँ चिन्ताको विषय हो ।
पहिले–पहिले घरलाई झिलिमिली बनाउन स्थानीय स्तरमा नै बनाइएका वस्तुहरुको प्रयोग गर्ने गरिन्थ्यो । तर, अहिले त्यसका सट्टा आयातित विद्युतीय बत्तीले स्थान पाएको छ ।
खासमा हिन्दु धर्मअनुसार पूजाआजाको समय तथा शुभ साइतका बेला माटोको दियोमा बत्ती बाल्ने चलन छ ।
उज्यालोको पर्व तिहारमा घर झिलिमिली पार्न बिजुलीका अनेक प्रकारका बत्तीहरुको प्रभाव बढेपछि माटाका पालाको महत्व केही घटेको अनुभव गर्न थालिएको छ । सिधै भन्दा झिलिमिली बत्तीले पालालाई ओझेलमा पारेको छ । शहरी भेगहरुमा त विस्थापन नै गरिदिएको छ ।
वर्षौंदेखि माटाका भाँडा बनाउँदै आएका भक्तपुरका प्रजापति समुदाय यतिबेला तिहारमा लक्ष्मी पूजाको दिन बाल्ने पाला बनाउन व्यस्त हुने गर्छन् ।
तिहारको विशेष रौनक भनेकै तिहारमा बालिने झिलीमिली बत्ती हो । मैनबत्ती र विद्युतीय बत्तीको खपत बढे पनि लक्ष्मीपूजाका दिन परम्परागत रूपमा बालिने दियोको महत्व विशेष छ । यद्यपी अहिले परम्परागत दियोको आकर्षण केही घटेको छ ।
दिन प्रतिदिन मानव वस्तीको चाप बढ्दै गएको र झन्झन् ठूल्ठूला घरहरुको निर्माण भइरहेकाले पनि तिहारमा झिलिमिलीको ‘डिमान्ड’पहिलाको भन्दा बढेको छ ।
गत वर्षमात्र चीन र भारतबाट ७० देखी ८० करोडको झिलिमिली भित्रिनुले पनि यही सङ्केत गर्छ कि आधुनिक बत्तीले पारम्परिक दियोलाई ‘छायाँ’मा पारेकै हो । देखासिकी गरेरै पनि घरभरि झिलिमिली लगाउने चलन बढेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया