आज भाइटीका : दाजुभाइको दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गरि मनाइँदै

लोकपथ
77
Shares

काठमाडौं । आज तिहार अर्थात् यमपञ्चकको पाँचौ दिन अर्थात् भाइटीका । टीकाको साइत ११ बजेर ३७ मिनेटलाई उत्तम मानिएको छ । दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य एवम् ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परा अनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टिका लगाई यो पर्व मनाइन्छ ।

भाइटीकामा दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने चलन छ । दाजुभाइलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहि आएको छ ।

लक्ष्मी पूजाका दिन स्थापना गरिएको दियो, कलश र गणेशको पूजा गरी मूलथालीमा लेखिएको अष्टदलमामाकण्डेय, अश्वत्थामा, बलि, व्यास, हनुमान, विभीषण, कृपाचार्य र परशुराम गरी अष्टचिरञ्जीवी, चित्रगुप्त, यमराज, यमुनारधर्मराज, गणपत्या दिवनस्पत्यन्त देवताको समेत पूजा आजा गरी दिदीबहिनीले दाजुभाईलाई तेलको धाराले छेकेर परम्पराअनुसार सप्तरङ्गी वा पञ्चरङ्गीटीका, मखमली, सयपत्री र गोदावरीलगायतका फूलका माला लगाइ दिने गरिन्छ ।

टीका लगाइ दिएपछि दिदीबहिनीले दाजुभाईलाई ओखर, कटुस, मसला र सेलरोटी लगायतका मिठोमिठो खानेकुरा दिने र दाजुभाइले दिदीबहिनीलाई गच्छेअनुसार सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिई सम्मान प्रकट गर्ने धार्मिक परम्परा छ ।

दिदीबहिनी नहुनेका लागिआजैका दिन काठमाडौंको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर खुलाइने प्रचलन रहेको छ । दिदीबहिनी नहुनेहरु भाइटीकाका दिन यसै मन्दिरमा गई पूजा, दर्शन गरी टीका लगाउने गर्दछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?