चारदिने राजकीय भ्रमणका लागि राष्ट्रपति भण्डारी आज कतार जाँदै

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी कतारको चारदिने राजकीय भ्रमणका लागि आज दोहा जाँदै छिन् । 

कतारको चारदिने राजकीय भ्रमणका लागि राष्ट्रपति भण्डारी सोमबार बिहान ११ः४० मिनेटको कतार एयरवेजबाट दोहा जान लागेकि हुन् । 

कतारमा राष्ट्रपतिको उच्चस्तरीय भ्रमणले दुई देशबीचको द्विपक्षीय सम्बन्ध अझ प्रगाढ हुने विश्वास गरिएको छ ।

राष्ट्रपति भण्डारीले आज कतारमा रहेका नेपाली समुदायले आयोजना गर्ने कार्यक्रममा सहभागी हुने छिन् । 

कतारको चारदिने राजकीय भ्रमणको दोस्रो दिन मंगलवार राष्ट्रपति भण्डारीले राजनीतिक भेटघाट गर्नुका साथै कतारका समकक्षी अमिर शेख तमिम विन हमाद अलथानीसँग भेटवार्ता गर्ने छिन् । 

राष्ट्रपति भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीका अनुसार भेटमा शिक्षा, स्वास्थ्य, प्रविधि लगायत क्षेत्रमा केही सम्झौता हुने सम्भावना छ । 

कतारमा रहँदा भण्डारीले नेपाली कामदारको सुरक्षा, अवसर, चुनौती र लगानीको विषयमा छलफल गर्ने कार्यक्रम रहेको छ । 

उनको भ्रमण तयारीका लागि आवश्यक ब्रिफ्रिङ गर्न कतारका लागि नेपाली राजदूत रमेशप्रसाद कोइराला नेपाल आएका थिए भने नेपालका लागि कतारी राजदूत युसुफ विन मोहम्मद अल कतारमा छन् । 

चार दिने औपचारिक भ्रमण सकेर राष्ट्रपति भण्डारी आगामी बिहीवार साँझ स्वदेश फर्कने कार्यक्रम छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?