लोकतन्त्रको रक्षा र सुशासनका लागि गठबन्धन : डा. भट्टराई

लोकपथ
39
Shares

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले जनताले लडेर ल्याएको लोकतन्त्रको रक्षा गर्दै सुशासन र समृद्धिको दिशामा मुलुकलाई अगाडि बढाउनका लागि वर्तमान वाम लोकतान्त्रिक गठबन्धन बनेको स्पष्ट पारेका छन्।

डा. भट्टराईले वाम लोकतान्त्रिक गठबन्धनको बागमती प्रदेशस्तरीय कार्यकर्ता भेलालाई आज काठमाडौंमा आयोजित सम्बोधन गर्दै एउटा आधार र राजनीतिक लक्ष्यसहित गठबन्धन तयार भएकाले कुनै दुविधा राख्न नहुने बताएका हुन् ।

सुशासन र समृद्धिसहित अगाडि बढ्ने लक्ष्यका साथ आफूहरु अगाडि बढेको उल्लेख गर्दै उनले राजनीतिक परिवर्तनपछि स्थापना भएका संस्थालाई बलियो बनाउँदै भ्रष्टाचारको अन्त्य गर्ने लक्ष्य राखिएको स्पष्ट पारे ।

विकासको नयाँ मोडल तयार पार्नुपर्छ भन्ने विषयमा गठबन्धनका बीचमा साझा सहमति रहेको जानकारी दिँदै उनले आर्थिक, सामाजिक र राजनीतिक विषयमा साझा मत समेत बनाइएको बताए।

आफूहरु सहभागी रहेको गठबन्धन अग्रगामी र जनपक्षीय रहेको उल्लेख गर्दै पूर्वप्रधानमन्त्री डा. भट्टराईले अर्को गठबन्धनको कुनै धरातल नरहेको स्पष्ट पारे। विगतका तितामिठा कुरालाई बिर्सेर गठबन्धनको साझा मुद्दालाई लिएर अगाडि बढ्न सबैको ध्यानकर्षण उनले गराए । कुनै पनि विषयमा असहमति रहेपनि त्यसलाई थाती राखेर गठबन्धनका साझा उम्मेदवार र चिन्हलाई आफ्नै ठानेर मतदान गर्न पूर्वप्रधानमन्त्री डा भट्टराईले आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?