काठमाडाैं । आगामी निर्वाचनका लागि नेपाली कांग्रेसले तयार गरेको घोषणापत्र तिहारपछि मात्रै सार्वजनिक हुने भएको छ ।
आइतबार नै सार्वजनिक गर्ने भनिएकोमा आजसम्मको लागि सारिएको थियो । आज बिहान १०ः३० बजे सार्वजनिक गर्ने तय भएको थियो । तर आज बिहानै कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज एक सूचना जारी गर्दै घोषणापत्र सार्वजनिक कार्यक्रम अनिश्चितकालका लागि स्थगित गरिएको जानकारी गराएका हुन् ।
‘प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन – २०७९ नेपाली कांग्रेसको संकल्पपत्र नेपाली कांग्रेसका सभापति एंव सम्माननीइ प्रधानमन्त्री शेरबहादुर देउवाबाट २०७९ कार्तिक ७ गते बिहान १०ः३० बजे सार्वजनिक गरिने भनिएकोमा उक्त कार्यक्रम अर्को सूचना नहुन्जेलसम्मका लागि स्थगन गरिएको व्यहोरा यसै विज्ञप्तिमार्फत जानकारी गराइन्छ ।’ जारी विज्ञप्तिमा भनिएको छ ।
किन भयो ढिलाइ ?
आज स्थगित भएसँगै घोषणापत्र सार्वजनिक अब तिहारपछि मात्रै हुनेछ । घोषणापत्र तयारीको काम सबै सम्पन्न भइसके पनि धेरै पदाधिकारीहरु जिल्ला बाहिर भएको र नेताहरुको व्यस्तताका कारण आज अन्तिम अवस्थामा स्थगित भएको मस्यौदा तयारी उपसमितिको सदस्य डा. कृष्णप्रसाद पौडेलले लोकपथलाई जानकारी दिए ।
उनका अनुसार आज सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले जुम मार्फत बालुवाटारबाट घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रम रहेको थियो । तर पदाधिकारीसहित नेताहरु जिल्ला बाहिर भएको र धेरै स्थानमा इन्टरनेटको समस्याका कारण स्थगित गरिएको हो ।
‘आज सबै तयारीसहित भर्चुअल्ली घोषणापत्र सार्वजनिक गर्ने तयारी रहेको थियो । तर धेरै पदाधिकारी तथा नेताहरु जिल्ला बाहिर रहेका कारण त्यो सम्भव भएन ।’ डा. पौडेलले लोकपथसँग भने ।
साथै तिहारपछि लगत्तै घोषणापत्र सार्वजनिक गरिने उनले जानकारी दिए ।
मंसिर ४ को निर्वाचनका लागि घोषणापत्र तयारीको संयोजकमा महामन्त्री विश्वप्रकाश शर्मा नेतृत्वको टोलीले काम गरेको थियो । शर्माले सबै क्षेत्रका विज्ञ एवं समावेशी तबरबाट व्यक्तिहरुको छनोट गरि घोषणापत्र तयारी पारिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया