‘टुरिष्ट’ उम्मेदवारका कारण काठमाडौं-२ पछि पर्‍यो : पोखरेल

लोकपथ
49
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीकी केन्द्रीय सदस्य तथा काठमाडौं क्षेत्र नम्बर २ की प्रतिनिधि सभा उम्मेदवार कुन्तीदेवी पोखरेलले ‘टुरिष्ट’ उम्मेदवारका कारण यो क्षेत्र निकै पछि परेको बताएकी छिन् । आइतवार राप्रपा काठमाडौं क्षेत्र नम्बर २ ले बत्तिसपुतलीमा गरेको दीपावली, नेपाल संवत तथा छठ पर्वका अवसरमा गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले काठमाडौंको २ नम्बर क्षेत्र टुरिष्ट नेताका कारण कार्णालीको दूर्दशामा पुगेको स्मरण गराएकी हुन् ।

कार्यक्रममा बोल्दै पोखरेलले हरेक निर्वाचनमा यो क्षेत्रभन्दा बाहिरका उम्मेदवार आएर चुनाव जित्ने र फेरि फर्केर सो क्षेत्रमा नजाँदा विकासमा निकै पछि परेको उल्लेख गरिन् । चुनावको सिलसिलमा जनताका घरदैलो कार्यक्रम गर्न जाँदा शंखरापुरका नाङुलेभारे, कात्र्तिके–देउराली जस्ता स्थानहरु अझैपनि कर्णालीको अवस्थामा रहेको, एम्बुलेन्स पुग्ने बाटो नहुँदा जनताहरुले दुःख पाइरहेको बताइन् ।

त्यसकारण, काठमाडौं क्षेत्र नम्बर २ मा बाहिरबाट आएका उम्मेदवारहरुलाई भोट नदिई माला लगाएर बिदा गर्न आग्रह गरिन् । माओवादी द्वन्दका बेला कार्यकर्ता र आफन्तको हत्या गर्ने दललाई कांग्रेसले बोकेर हिँडेकोप्रति आपत्ति जनाउँदै हिजो आफन्त मार्ने दललाई आज चुनाव जिताउन ठेक्का लिएको भन्दै प्रश्न गरिन् ।

उनले आफू विश्वेश्वर प्रसाद कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराईको प्रजातन्त्रप्रतिको आर्दशप्रति प्रतिबद्ध रहेको बताउँदै आगामी निर्वाचनमा गठबन्धन नभनी राष्ट्रवादी राप्रपालाई मत दिन आग्रह गरिन् । उनले प्रजातन्त्रको हिमायती पार्टीले आज प्रजातन्त्र विरुद्ध युद्धमा उत्रिकाहरुसँग सहकार्यको लागि अपवित्र गठबन्धन गरेको उनको भनाइ छ ।

उनले काठमाडौं क्षेत्र नं. २ मा रहेको जहरसिंह पौवामा झन्डै दुई सय रोपनी सरकारी जग्गा अमेरिकी सहयोग परियोजना (एमसीसी)ले कब्जा गरेको प्रति त्यस क्षेत्रका जनता आक्रोशित भएको सुनाइन् । उनले त्यहाँको भौगोलिक अवस्था जनताको आर्थिक समृद्धिका लागि पर्यटन प्रवद्र्धनका लागि उपयुक्त रहेको बताउँदै सो भूमी एमसीसी परियोजनाबाट खाली गराउनुपर्ने बताएकी छिन् ।

उनले आफू निर्वाचित भएमा ति क्षेत्रमा व्यवस्थित ढंगले विकासका काम गर्ने बताउँदै संसदमा राज्यका लागि नयाँ नीति निर्माण गर्नका लागि भूमिका खेल्ने प्रतिबद्धतासमेत व्यक्त गरेकी छिन् । कार्यक्रममा प्रमुख अतिथि रहेका राजेन्द्र लिङदेनले आगामी प्रतिनिधि सभाको निर्वाचनमा राप्रपाले समानुपातिक तर्फ ३० लाख मत ल्याउने दाबी गरेका छन् । सो कार्यक्रममा काठमाडौं क्षेत्र नम्बर २ (क) का प्रदेश उम्मेदवार सुनिल केसी, प्रदेश (ख) का उम्मेदवार राजु विष्ट, राप्रपा काठमाडौं जिल्ला सभापति नवराज सिंखडा लगायतको उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?