काठमाडौं । हिन्दू धर्मावलम्बीहरुको दोस्रो ठूलो चाड तिहार अर्थात यमपञ्चक आजबाट सुरु भएको छ । जसलाई पाँच दिनसम्म मनाउने गरिन्छ । पाँच दिन मनाइने भएकोले नै यसलाई यमपञ्चक भनिएको हो । यी पाँच दिनको आफ्नै महत्व र मान्यता रहेको छ । तिहारको पहिलो दिन काग तिहार हो ।
यो दिन हामी कागलाई पूजा गरेर खाना खान दिन्छौँ । यो दिन काग सँगसँगै लक्ष्मी, कुवेर र धन्वन्तरिको पनि पूजा गर्ने चलन छ । यो दिन मानिसहरु देवी माता लक्ष्मी र कुवेरलाई प्रसन्न गर्नको लागि विभिन्न उपायहरु गर्छन् । लक्ष्मीलाई खुशी बनाउन सकियो भने वर्षभरी नै कुनै किसिमको समस्या हुँदैन भन्ने धार्मिक विश्वास छ ।
त्यसैले यहाँ धन्तेरसमा गर्ने त्यस्ता केही विशेष उपायहरुको बारेमा जानकारी दिँदैछौ । जसले तपाईलाई फाइदा प्राप्त हुन्छ । प्रत्येक वर्ष कार्तिक कृष्ण पक्षको त्रयोदशीका अथवा काग तिहारका दिन धन्वन्तरि त्रयोदशी अर्थात धनतेरस मनाउने चलन छ । धन त्रयोदशी र धनतेरस पनि यसै दिनलाई भन्ने गरिन्छ ।
यो दिन मूलतः आयुर्वेदका प्रवर्तक धन्वन्तरि र धनका देवता कुबेरको जन्मोत्सव मनाउने पर्व हो । धनतेरसका दिन नेपालको तराइ क्षेत्र र समस्त भारतमा नयाँनयाँ भाँडाकुडा र सुनचाँदीका गरगहना किनमेल गर्ने परम्परा छ । त्यस क्षेत्रमा समाजका उच्च, मध्यम वा निम्न सबै वर्गका व्यक्तिहरूमा आफ्ना आवश्यकता र विलासिताका कतिपय महत्त्वपूर्ण चिजबिजको किनमेलका लागि वर्षभरि यही विशिष्ट दिनको प्रतीक्षा गर्ने गर्दछन् ।
यस पर्वमा यसरी नै किनमेल गर्नुपर्छ भन्ने सन्दर्भ कहिले र कसरी आरम्भ भयो भन्ने विषयमा कुनै निश्चित प्रमाण त छैन तर धन्वन्तरिको प्रादुर्भाव समुद्रमन्थनबाट भएको र उत्पन्न हुँदा उनले हातमा अमृतले भरिएको कलश लिएर आएका हुनाले यस दिनलाई भाँडाकुडा किनमेलका लागि शुभ मान्न थालिएको हो ।
धनतेरस पर्वसम्बन्धी कथा
पौराणिक गाथामा धन्वन्तरिको जन्मवृतान्त देवता र असुरद्वारा गरिएको समुद्रमन्थनसँग सम्बद्ध देखापर्छ । समुद्रमन्थनका क्रममा धन्वन्तरिको उत्पत्ति भएको हो । उनी सर्वप्रथम आफ्ना हातमा अमृत भरिएको कलश लिएर प्रकट भएका थिए । त्यसैले उनको अर्को नाम ‘पीयूषपाणि धन्वन्तरि’ पनि हो ।
उनलाई भगवान् विष्णुको अवतार पनि मानिन्छ । त्यसबाहेक परम्पराअनुसार धनतेरसका दिन सन्ध्याकालमा यमराजलाई इङ्गित गरी एउटा दियो बाली घरको मूल दैलोमा राखिन्छ, उनलाई घर भित्र नपस्न र कसैलाई दुःखकष्ट नपुर्याउन अनुरोध र पूजा गरिन्छ ।
यस धार्मिक मान्यताले आममनुष्यको स्वास्थ्य र दीर्घायुसँग सम्बन्ध राख्दछ । प्रत्येक वर्ष तिहारको प्रारम्भमा नै मनाइने धनतेरस पर्वसँग जोडिएको एउटा लोक कथा छ । जसबमोजिम एक पटक राजा हिमालयले आफ्ना छोराको जन्मकुण्डली निर्माण गराउने क्रममा ज्योतिषीका मुखबाट विवाह गरेको ठिक चौथो दिन सर्पले टोकेर छोराको मृत्यु हुने कुरा थाहा पाए ।
विवाह त भयो तर जब हिमालयकी बुहारीले यो कुरा थाहा पाइन्, त्यसपछि उनले जुनसुकै तरिकाले आफ्ना पतिलाई यमराजको प्रकोपबाट मुक्त तुल्याउने विचार गरिन् । विवाहको ठिक चार दिनका दिन उनले आफ्ना पतिको कोठाबाहिर घरका सबै गहनागुरियाको थुप्रो बनाएर पहाड झैं अग्लो चुली बनाइन् र आफु स्वयं सँगै बसेर पतिलाई अनेकानेक गीत, भजन र कथा सुनाउँदै आफ्नो लोग्नेलाई निद्रा नआओस् भनेर भुल्याउन थालिन् ।
रात्रीकालमा यमराज सर्पको रूप धारण गरी हिमालयका छोरालाई डस्ने विचारले त्यही ठाउँमा आइपुगे, तर गहनागुरियाको पहाडलाई तिनले नाँघ्न सकेनन्, जसैतसै सर्पका रूपमा यमराज त्यस थुप्रोको टुप्पामा त पुगे, तर त्यहाँ पुग्दा निक्कै थकाइ लागेकाले बिसाउनु प¥यो ।
बिसाउने क्रममा उनको कानमा भित्र राजकुमारीले गाएका मिठामिठा गीत र भजनको ध्वनि गुन्जियो, जसलाई सुनेर उनी मन्त्रमुग्ध भए । ती गीत, भजन र कथाहरू सुन्दासुन्दै उज्यालो भयो । भोलिपल्ट बिहान सर्पका रूपमा त्यहाँ आएका यमराजले खाली हात फर्कनुपर्यो । यसरी राजकुमारीले आफ्ना पतिको जीवनरक्षा गरिन् ।
यसै घटना पछि मानिसहरूले आफ्नो घरका सदस्यहरूको आयु, आरोग्य र सुखसमृद्धिका निमित्त धन त्रयोदशीका दिन सायंकालमा आफ्ना घर बाहिर यमराजलाई बाटो छेक्न एउटा दियो बाल्ने गरिन्छ । यस कर्मको प्रतीकात्मक अर्थ हो– पारिवारिक सुख र सुस्वास्थ्य ।
हाम्रो आर्य संस्कृतिमा स्वास्थ्यलाई धनसम्पत्तिभन्दा महत्त्वपूर्ण वस्तुका रूपमा लिइन्छ, त्यसैले धनधान्य र सम्मृद्धिकी देवी लक्ष्मीको उपासनासँग सम्बद्ध यस पर्वमा सबैभन्दा पहिले यमराजको उपासना गर्ने गरिन्छ । धनतेरस भनिने कार्त्तितक कृष्णपक्षको त्रयोदशीका दिन सुनचाँदीका भाँडाकुँडा, सिक्काहरू, आभूषण आदि किन्ने परम्परा पनि छ ।
हिजोआज मोटरवाहन, मोबाइल, कम्प्युटर जस्ता विलासिताका वस्तुहरू खरीद गर्न पनि यसै दिनलाई पर्खने चलन चलेको छ । रीतिरिवाज र परम्परासँग जोडिन पुगेको यो ‘धनतेरस’ पर्वले आर्थिक लगानीको सुरक्षणसँग आफूलाई गाँसेको पनि देखिन्छ ।
यसले आर्थिक हैसियत र क्षमतालाई पनि प्रदर्शन गरिरहेको देखिन्छ, एकातिर उच्च र मध्यम वर्गका व्यक्तिहरू धनतेरसका दिन विलासिताका वस्तुहरू किनेर आनन्द अभिबृद्धि गर्न खोज्छन् भने अर्कातिर विपन्न र निम्न वर्गका मानिसहरू आफ्नो आवश्यकता र खाँचोका वस्तुहरू खरीद गरी यस पर्वलाई मनाउने गर्दछन् । सारांशमा आआफ्ना सामथ्र्य अनुकूल समग्र भारत र नेपालको तराई क्षेत्रमा यस पर्वलाई मनाउने चलन छ ।
धनतेरसमा गर्नु पर्ने कामहरु
दियो बाल्ने
धन्तेरसको दिन साँझमा एउटा दियो बालेर त्यसको नजिक एउटा कौडा राखिदिनुपर्छ । त्यो कौडालाई रातो कपडामा बेरेर सेफ अथवा पैसा राख्ने ठाउँमा राख्नुपर्छ । त्यसो गर्दा घरमा कहिल्यै पैसाको कमी हुँदैन भन्ने धार्मिक मान्यता छ ।
यो मन्त्रका साथ जप गर्ने
साँझ पूजा गर्दा १०८ पटक ‘ओम यक्षाय कुवेराय वैश्रववाय, धन धान्यधिपतये धन धान्यसमृद्धिममदेहीदापय स्वाहा’ भन्दै कुवेरको मन्त्रको जप गर्नुपर्छ । यसो गर्दा धनको कमी हुँदैन भन्ने किंवदन्ती छ ।
२१ वटा चामलको अक्षता लिएर अभिमन्त्रित गर्ने
राति बिउँहरुबाट अभिमन्त्रित गरिएको २१ वटा चामलको अक्षतालाई रातो थैलीमा बाधेर लक्ष्मी कुवेरको पूजा गर्नुपर्छ । अभिमन्त्रित गरिएको अक्षतालाई धनसँग राख्नुपर्छ । यसो गर्नाले सबै आर्थिक रुपमा भएका सम्पूर्ण समस्याहरु कम हुन्छ भन्ने धार्मिक मान्यता छ ।
श्रीसूक्तको पाठ गर्नुपर्छ
धन्तेरसदेखि भाइटीकासम्म नित्य रात्रिमा ११ वटा कौडालाई रातो वस्त्रमा राखेर श्रीसूक्तको पाठ गर्नुपर्छ । भाइटीकापछि त्यसलाई धनसँग राख्नुपर्छ । यसो गर्दा तपाईंलाई लाभ हुन्छ भन्ने विश्वास छ ।
चाँदीको सिक्का
धन्तेरसमा चाँदीको सिक्का र काँचो बेसारको टुक्रालाई पूजा गर्नाले जीवनमा उन्नती र प्रगति प्राप्त हुने मानिन्छ ।
धनसम्बन्धी समस्याको कमी
यदि तपाईसँग पैसा टिक्दैन र धनको कमी हुन्छ भने धन्तेरसदेखि लक्ष्मी पूजाको दिनसम्म हरेक दिन माता लक्ष्मीलाई एक जोडी ल्वाङ चढाउनुपर्छ । यसोगर्दा पैसा टिक्न थाल्छ ।
धनसँगै सम्मान पनि प्राप्त हुन्छ भन्ने विश्वास
ज्योतिष शास्त्रका अनुसार चमेरो बसेको रुखको हाँगा भाँचेर घरमा ल्याउनुपर्छ र यसलाई बैठक कोठामा राख्नुपर्छ । यसो गर्नाले तपाईको रोकिएको काम पूरा हुन्छ ।
पर्समा राख्नुपर्ने कुरा
धन्तेरसको दिन कुनै तेस्रो लिंगीको हातबाट पैसा लिएर आफ्नो पर्समा राख्नुपर्छ । त्यसो गर्नाले तपाईले जिन्दगीमा धेरै सफलता प्राप्त गर्नुहुन्छ ।
श्रीयन्त्रको पूजा
धन्तेरस र लक्ष्मी पूजामा श्रीयन्त्रको पूजा गर्नाले जीवनमा कहिल्यै पैसाको खाँचो पर्दैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया