गठबन्धनलाई हार्ने छुट छैन : मन्त्री अथक

लोकपथ
26
Shares

अगैया । बाम–लोकतान्त्रिक गठबन्धनको बाँके निर्वाचन क्षेत्र नम्बर १ अन्र्तगत प्रदेश सभा १ ‘क’ को निर्वाचन परिचालन समितिको कार्यालय सञ्चालनमा आएको छ । राप्ती सोनारी गाउँपालिका वडा नम्बर २ अगैयामा शनिवार कार्यालय उद्घाटन भएको हो ।

कार्यालय स्थापना भएसँगै पाँच दलिय गठबन्धनले चुनावी अभियानलाई तिब्र पारेका छन् । गठबन्धनका तर्फबाट क्षेत्र नम्बर १ मा प्रतिनिधी सभाका उम्मेदवार रहेका युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज ‘अथक’ शनिवार बाँके आए लगत्तै चुनावी अभियानलाई सशक्त पारिएको हो ।

गृहजिल्ला आएलगत्तै उनले शनिवार आफ्नो निर्वाचन क्षेत्रमा पुगेर भेटघाटलाई तिब्रता दिएका छन् । राप्ती सोनारी–२ अगैयामा निर्वाचन परिचालन कार्यालय उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अथकले परिवर्तनकारी शक्तीबीच भएको गठबन्धनले संबिधान र व्यवस्थाको रक्षा गर्ने बताए ।

प्रतिगमनकारीबाट संविधान र व्यवस्था नै संकटमा परेकाले नेपाली कांग्रेस, माओवादी केन्द्रलगायत पाँच दलबीच गठबन्धन गर्नुपरेको उल्लेख गर्दै मन्त्री अथकले परिवर्तनको नेतृत्व गरेका पार्टीहरु बीच भएको गठबन्धनलाई हार्ने छुट नभएको बताए ।

तथाकथित राष्ट्रवादी, प्रतिगामीले गठबन्धनलाई असफल गराउने प्रयास गरिरहेकाले सचेत हुनसमेत उनले गठबन्धनमा आवद्ध कार्यकर्तालाई आग्रह गरे।

आफ्नो पाँच वर्षे कार्यकालमा क्षेत्र नम्बर १ को विकास गर्दा पक्षपात नगरेर काम गरेको अथकको भनाई छ । ‘क्षेत्र नम्बर १ का विद्यालयको शैक्षिक सुधार कार्यक्रमका साथै यहाँको आधारभुत आवश्यकता, सडक, बिजुली, सिचाइँ,
खानेपानी, पुल पुलेसा, कटान तथा डुवान नियन्त्रण गर्न उल्लेखनीय काम भएका छन्,’ उनले भने ।

राष्ट्रिय खेलकुद प्रतियोगिताका कारण आफू समयमै निर्वाचन क्षेत्रमा पुग्न नसकेकोमा खेलकुद मन्त्री अथकले क्षमा मागेका थिए । पुरानो अनुभव र नयाँ उत्साहका साथ जिम्मेवारी पूरा गर्ने प्रतिबद्धतासमेत उनले जनाएका छन् । बाँके जिल्लाको पिछडिएको क्षेत्रका रूपमा रहेको बाँके निर्वाचन क्षेत्र नम्बर १ मा देखिने खालका काम भएको मन्त्री अथकले बताए ।

चुनाव जित्नु ठुलो कुरा नभएको बताउँदै उनले मुलुक प्रतिको ईमान्दारिता सबैभन्दा ठुलो कुरा भएको धारणा राखे । सोही कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश सभा १ ‘क’ का उम्मेदवार कृष्णा केसी नमुनाले व्यक्तिभन्दा गठबन्धनको आवश्यकताले उम्मेदवार छनोट भएकाले गठबन्धका सबै उम्मेदवारलाई जिताउन आग्रह गरिन् । गठबन्धनको मर्मभन्दा बाहिर नजानसमेत उनले सबै नेता कार्यकर्तालाई आग्रह गरीन । उनले गएको पाँच वर्षमा विकासको आधार तयार पारिएको दाबी गर्दै केही काम बाँकी रहेको र केही पाइप लाईनमा भएको बताइन् ।

उक्त कार्यक्रममा नेकपा माओवादी केन्द्रकी स्थायी समिति सदस्य पूर्णाकुमारी सुवेदी, राप्ती सोनारी गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेल, पुर्वसभासदद्धय पट्टु थारु र अशोक रोकाय, नेपाली कांग्रेस बाँकेका प्रवक्ता डिल्ली गिरी, नेपाली कांग्रेसका नेता हुर्मत न्यौपाने, नेपाली कांग्रेस प्रदेश (क) का कार्यबहाक सभापती अम्बर बहादुर बुढाथोकी, नेकपा माओवादी केन्द्र, क्षेत्र नंम्बर १ संयोजक रेणुका खड्का, कांग्रेसका जिल्ला सदस्य टिकाराम बस्नेत, कांग्रेस राप्ती सोनारी सभापति भिम बहादुर रानाक्षेत्री, नेकपा माओवादी केन्द्र राप्ती सोनारीका अध्यक्ष चिमबहादुर घर्तीलगायत गठबन्धनमा आवद्ध दलका नेता तथा कार्यकर्ताको उपस्थिती रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?