देशका विभिन्न स्थानबाट ३२ जुवाडे पक्राउ

लोकपथ
28
Shares

काठमाडौं । देशका विभिन्न स्थानबाट जुवातास खेलिरहेको अवस्थामा ३२ जना पक्राउ परेका छन् । कास्कीको पोखरा महानगरपालिका–११ फुलबारी घर भई सोही महानगरपालिका–९ बास्तोलाथर बस्ने रमेश गुरुङको बेल बोट रेष्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा गुरुङ सहित ६ जनालाई शुक्रवार बिहान प्रहरीले पक्राउ गरेको छ ।

उक्त रेष्टुरेन्टमा जुवातास खेलाई रहेको भन्ने सूचना प्राप्त हुनसाथ जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय वैदामबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ५१ हजार १ सय ३० रुपैयाँ र ५२ पत्ती ताससहित पक्राउ गरेको हो ।

यस्तै, कञ्चनपुरको भिमदत्त नगरपालिका–१९ बागफाटा बस्ने ३६ वर्षीय दानी रानाको घरमा जुवातास खेलिरहेको अवस्थामा दानीसमेत १९ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । उनको घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख २० हजार १ सय १२ रुपैयाँ र २ गड्डी ताससहित पक्राउ बताएको छ ।

उता, डडेल्धुराको अमरगढी नगरपालिका–५ तुफानडाँडास्थित दोस्ती वाइन सप (होटल)मा पनि जुवातास खेलिरहेको अवस्थामा सोही सपका सञ्चालक ३७ वर्षीय गंगा दत्त भट्टसहित ६ जनालाई शुक्रवार साँझ प्रहरीले पक्राउ गरेको हो । उक्त सपमा जुवातास खेलाई रहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८७ हजार ९ सय ७० रुपैयाँसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?