भोट माग्दै प्रदीप पौडेल पुगे स्वर्गिय नेता उज्जवल थापाको घरमा

लोकपथ
49
Shares

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता तथा काठमाडौं–५ का प्रतिनिधिसभा सदस्य उम्मेदवार प्रदीप पौडेल मत माग्ने क्रममा वैकल्पिक राजनीतिको सुरुवात गर्ने स्वर्गिय नेता उज्जवल थापा निवास पुगेका छन्। उनी घरदैलो अभियान अन्तर्गत शनिवार चप्पल कारखानास्थित स्वर्गिय थापाको निवास पुगेका हुन्। पौडेलले थापाका मातापितासँग भेट गरेर आशिर्वाद लिएका छन्।

उनले मातापितासँग स्वर्गिय थापाले लिएको वैकल्पिक राजनीतिको एजेन्डालाई आफूले अगाडि बढाउने प्रतिवद्धता जनाएका छन्। सो क्रममा थापाकी माता शान्ताले नेता पौडेललाई जीतको शुभकामना दिएकी थिइन्। नेता पौडेलले यसअघि चर्चित अभिनेता हरिवंश आचार्यको आशिर्वाद लिएका थिए। उनले बूढानीलकण्ठस्थित आचार्य निवासमा पुगेर कात्तिक २ गते मत मागेका थिए । कलाकार आचार्यले पौडेललाई सफलताको शुभकामना दिएका थिए।

‘बूढानीलकण्ठ घरमै उनिहरुबीच भेट भएको हो। स्नेहपूर्ण व्यवहार रह्यो,’ भेटवार्ताका क्रममा सँगै रहेका पौडेलको सचिवालयका एक सदस्यले भने, ‘ आचार्यले शुभकामना दिए र युवा नेतृत्व आउनुपर्छ भने।’

ती सदस्यका अनुसार आचार्यले आफूले सार्वजनिक रुपमा कसैको पक्षमा नबोलेको पनि बताएका थिए। ‘उनका अनुसार (आचार्य)ले सार्वजनिक रुपमा बोलेको छैन पनि भनेका थिए,’ उनले भने।

पौडेलले असोज २४ गतेबाट काठमाडौं महानगरपालिका–५ हाँडीगाउँबाट घरदैलो सुरु गरेका हुन्। पहिलो दिनको घरदैलो अभियानका क्रममा उनको हाँडीगाउँ जात्रामा सहभागी हुन पुगेका काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र उपमेयर सुनिता डंगोलसँग जम्का भेट भएको थियो।

काठमाडौं महानगरपालिकाका २, ३, ४ र ५, बूढानीलकण्ठ नगरपालिकाका ३, ४, ५, ६, ७ र टोखा नगरपालिकाका २, ३, ४, ५, ६, ७ नम्बर वडाहरुको भूगोल समेटेर काठमाडौं–५ निर्धारण गरिएको छ। यो क्षेत्रबाट नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल चुनाब लड्दै छन्। त्यस्तै, रञ्जु दर्शना पनि चुनावी मैदानमा छिन्।

२०७४ को निर्वाचनमा काठमाडौं–५ मा कांग्रेस प्रवक्ता डाक्टर प्रकाशशरण महतलाई पराजित गर्दै पोखरेल प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए। उनले कुल खसेको मतमध्ये २३ हजार २९ मत र डा महतले १३ हजार १६९ मत प्राप्त गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?