काठमाडौं क्षेत्र नम्बर ७ बाट चुनाव लड्ने ओलीको प्रस्ताव अस्वीकार गरेँ : स्वर्णिम वाग्ले

लोकपथ
299
Shares

काठमाडौं । अर्थविद् डा. स्वर्णिम वाग्लेले नेकपा एमालेले आफूलाई पार्टीबाट मंसिर ४ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवारी दिन आग्रह गरेको बताएका छन् ।

अर्थविद् वाग्लेले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूलाई काठमाडौं क्षेत्र नम्बर ७ बाट प्रतिनिधि सभामा चुनाव लड्न आग्रह गरेको बताएका हुन् ।

शनिवार काठमाडौंमा आयोजित युवासँग छलफल कार्यक्रममा उनले नेकपा एमालेसहित रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले समेत आफूलाई चुनाव लड्न आग्रह गरेको बताए । उनले कुनै पार्टीले पार्टीबाट टिकट दिएन भन्दैमा आफू सक्रिय रहेको पार्टीलाई त्यागेर अर्को पार्टीबाट चुनाव लड्नु राजनीतिक परिपक्वता नभएको कारण आफू आगामी ५ वर्षसम्म युवामाझ सक्रिय रहने बताए ।

उनले युवाहरुसँग घुलमिल हुने कार्यक्रम आफूले शनिवारबाट काठमाडौं क्षेत्र नम्बर ४ बाट शुरु गरेको भन्दै यो कार्यक्रम देशभर नै आयोजना गर्ने आफ्नो योजना रहेको बताए । उनले नेपाली कांग्रेसबाट प्रतिनिधि सभा सदस्यको टिकटको आकांक्षी भएपनि टिकट नपाएपछि अबको ५ वर्ष मतदाता र युवामाझ आफ्नो सक्रियता बढाउन प्रयोग गर्ने बताए ।

उनले भने, ‘स्वतन्त्र भएर चुनाव लड्नुपर्छ भनेर पनि दबाब नआएको होइन, तर मैले के डिसाइड गरेँ भन्दा, हामी बहुदलीय व्यवस्थामा छौँ, धेरै कुराहरु सीमा, बन्धन, नियममा रहनुपर्छ । अहिले म यही फ्रेमवर्क भित्र नै सक्रिय हुन्छु । तत्कालमा जनमत बनाउने, युवाहरुसँग भेटघाट गर्ने, नयाँ मतदातासँग घुलमिल हुने, आजका दिन काठमाडौं ४ बाट शुरु गरेर देशव्यापी रुपमा छलफल म लैजान्छु । निर्वाचनसम्म माहोल बनाउने र त्यसपछि आफू सक्रिय हुने गरेर अर्को ५ वर्ष बिताउनेछु । टिकटको आकांक्षी थिएँ, नपाएपछि मलाई नेकपा एमालेका अध्यक्षले नै अफर गर्नुभएको थियो । यो कुरा म आज भन्नसक्छु । काठमाडौं ७ बाट चुनाव लडनुस्, हामी सहयोग गर्छौं, त्यहाँ कांग्रेसको उम्मेदवार पनि छैन, नेकपा एमालेले तपाईलाई सहयोग गर्छ, तपाई शतप्रतिशत सांसद बन्न सक्नुहुन्छ भन्ने अफर थियो । रवि लामिछानको राष्ट्रिय स्वतन्त्र पार्टीले पनि २३ गते साढे ३ बजेसम्म कुर्नुभएको थियो । कुनै पार्टीले आफूले मागेको बेलामा टिकट दिएन भनेर त्यस्तो रियाक्शन गरेँ भने परिपक्व राजनीति गर्न सक्नुहुन्न । मेरो तीन पुस्ते कांग्रेस नै हो ।’

अर्थविद् वाग्लेले आफ्नो तीन पुस्तासमेत नेपाली कांग्रेस भएकाले अन्य पार्टीमा गएर चुनाव लड्न सहज नदेखिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?