कानूनको अतिक्रमण गर्नेहरु विकासका बाधक हुन्ः गृहमन्त्री बादल

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले कानूनको अतिक्रमण गर्नेहरु विकासको बाधक भएको बताएका छन् । आज आइतबार काठमाडौंमा आयोजित ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रमको उद्घाटनका क्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

शान्ति, स्थायित्व र सुरक्षा कसरी गर्ने भन्नेमा जोड दिन नेपाल प्रहरीले यो अवधारणा अगाडि सारेको बताउँदै थापाले समाजबाट सबै प्रकारका अपराध निस्तेज गर्नुपर्ने बताए । साथै उनले मुलुकमा सुशासन कायम गर्न जरुरी रहेको धारणा समेत राखे ।

‘सबै प्रकारका अपराध निस्तेज गर्नुपर्छ, शान्ति र सुरक्षाको स्थापनामा मुख्य बाधक नै अपराधी हुन्’, गृहमन्त्री थापाले भने, ‘प्रहरी सरकारको अभिन्न अंग हो, प्रहरी र समुदायको प्रयास तथा साझेदारीबाट समाजमा दिगो शान्ति स्थापना गर्न सकिन्छ ।’

उनले समाजमा अपराधीलाई कम गर्न समुदायले पनि प्रहरीको भूमिका निर्वाह गर्नुपर्ने बताए ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?