मुद्धाबिहिनहरुसँग मेरो कुनै प्रतिस्पर्धा नै होइन : झपट रावल (अन्तर्वार्ता)

काठमाडौं । कैलाली–२ मा नेकपा एमालेबाट केन्द्रीय सदस्य एवं निर्वतमान सांसद झपटबहादुर रावल प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका छन् । ०७४ मा सोही निर्वाचन क्षेत्रबाट निर्वाचित रावल यसपटक फेरि दोहोरिएका हुन् । रावल आगामी मंसिर ४ मा हुने निर्वाचनका मुख्य प्रतिस्पर्धी हुन् ।

निर्वाचनको मिति नजिकिएसँगै मतदाता रिझाउन उम्मेदवारहरुको जोडबल छ । विभिन्न कोणबाट चुनावी जोडघटाउ र आँकलन हुन थालेको छ । चुनावी बहस, चर्चा, परिचर्चाले निर्वाचनको सरगर्मी ह्वात्तै बढेको छ । राजनीतिक दल र उम्मेदवारहरु दिनहुँ अभियानसहित प्रचारप्रसार गर्न गाउँ–गाउँमा पसेका छन् ।

कैलाली–२ मा प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ९ राजनीतिक दलका उम्मेदवार चुनावी मैदानमा छन् । यस क्षेत्रमा लम्कीचुहा नगरपालिकाका १०, बर्दगोरिया गाउँपालिकाका ६ वटा वडाहरु, जानकी गाउँपालिकाका २, ५, ८, ९ र मोहन्याल गाउँपालिकाका वडा नं. १, २, ३, ४, ६ र ७ गरी २६ वडाहरु पर्दछन् ।

यहाँ कुल १ लाख ४ हजार ९०६ जना मतदाता छन् । जसमध्ये ५० हजार ९०६, महिला ५३ हजार ९९८ र अन्य २ जना छन् । उम्मेदवारीसँगै चुनाव केन्द्रित बैठक, भेला र घरदैलोलाई तीव्रता दिइरहेका रावललाई आसन्न प्रतिनिधिसभा निर्वाचन जित्न कति सहज छ ? आगामी निर्वाचनमा रावलले जनतामाझ लिएका चुनावी एजेन्डा र प्रतिबद्धता के–के छन् ? प्रस्तुत छ, यी विविध समसामयिक विषयवस्तुमा केन्द्रित रहेर लोकपथकर्मी गोविन्द बीसीले एमाले उम्मेदवार रावलसँग गरेको कुराकानीको सम्पादित अंश :

चुनावी मिति नजिकिँदै छ, प्रचारप्रसार अभियानमा व्यस्त रहँदा कस्तो माहोल पाउनुभएको छ ?

हामीले निर्वाचन क्षेत्रका मतदातालाई आफ्ना एजेण्डा सुनाउन थालिसकेका छौँ । मोहन्याल बाहेक बर्दगोरिया, लम्कीचुहा र जानकीमा अगुवा कार्यकर्ता भेला, वडाका भेला सम्पन्न गरेका छौँ । अहिले खेतीपातीको समय र प्रतिकूल बाटो भएकाले केही समयपछि अन्य वडामा जाने कुरा हुँदैछ । त्यहाँ पनि गाउँकमिटीका अगुवा नेता कार्यकर्ताहरुको २/३ चरणका भेलाहरु सम्पन्न भएका छन् । आगामी दिनमा प्रत्येक मतदाताको घरदैलोमा पुग्ने योजना बनाउँदैछौ ।

जनताको घरदैलोमा जाँदा के, कस्तो प्रतिक्रिया पाउनुभयो त ?

यतिबेला जनताहरु नेकपा एमालेको पक्षमा मतदान गर्न आतुर हुनुहुन्छ । यो घरदैलो कार्यक्रम गर्नुभन्दा पूर्व हामीले वडा भेलाहरु गर्याैँ । भेलाहरुमा अरु पार्टी छोडेर, खासगरी गठबन्धनमा आबद्ध राजनीतिक पार्टीहरु छोड्दै एमालेमा प्रवेश गर्नेहरुको ठूलो लहर चलेको छ ।

यसले के देखिन्छ भन्दा नेकपा एमालेप्रति जनताको आर्कषण बढ्दो छ । समर्थक, जनता, मतदाताहरु नेकपा एमालेको पक्षमा छन् ।

तपाईको निर्वाचन क्षेत्रमा सत्ता गठबन्धनका उम्मेदवार छन् । अन्य दलका ९ जना प्रतिस्पर्धी चुनावी मैदानमा छन् । यस्तो परिस्थितिमा चुनाव जित्नेमा कत्तिको विश्वस्त हुनुहुन्छ ?

हामी अत्याधिक बहुमतले चुनाव जित्छौँ । जनता नेकपा एमालेको पक्षमा छन् । हामीले गरेका कामहरु र बाँकी रहेका अधुरा कामहरुलाई पूरा गर्नका लागि पनि जनताहरुले नेकपा एमालेलाई जिताउनुपर्छ । मेरो टीमलाई जिताउनुपर्छ भनिरहनु भएको छ ।

अरु राजनीतिक पार्टीहरुसँग न विचार छ, न सिद्धान्त छ, न मुद्धा छन् । उनीहरुको न विगत राम्रो छ, न वर्तमानमा राम्रो गर्न सकेका छन् । मुद्धाबिहिनहरुसँग मेरो कुनै प्रतिस्पर्धा नै छैन ।

राजनीतिक दलहरुले अहिलेसम्म पनि घोषणापत्र सार्वजनिक गर्न सकेका छैनन् । योबेला तपाईले निर्वाचनमा अघि सारेका एजेन्डाहरु के–के छन् ?

नेपालको संविधानको कार्यान्वयन गर्ने र यसको संरक्षण गर्ने, राष्ट्र, राष्ट्रियता र सार्वभौमिकताको संरक्षण गर्ने कुरा मेरो पहिलो काम हुनेछ । मुलुकको वैदेशिक हस्तक्षेप र नेपाललाई सबै खालका क्रिडास्थल बनाउने जुन कुचेष्टा हुँदैछ ।

यसबाट मुक्ति गर्नका लागि स्वाधीन नेपाल निर्माण गर्नका लागि र मुलुकलाई विदेशी एजेन्टहरुले पटक–पटक गम्भीर संकटमा पार्ने, सीमा अतिक्रमित समस्या हटाउन र सशक्त, मजबुत राष्ट्रिय शक्ति निर्माण गर्नका लागि नेकपा एमालेलाई मत दिनुपर्छ भन्ने मेरो माग छ ।

तपाईलाई मतदाताले किन भोट दिने ? तपाईको उम्मेदवारी किन र के–का लागि हो ?

मैले देशभक्तिपूर्ण विद्यार्थी आन्दोलन हुँदै सडकदेखि सदनसम्म खेलेको भूमिका जनताका बिचमा छर्लङ्ग छ । त्यसैले पनि जनताले मलाई रोज्नुपर्छ भन्ने लाग्छ । सम्मृद्ध नेपाल, सुखी नेपालीको जुन अभियान छ । यो अभियानलाई साकार बनाउनको लागि पनि मेरो उम्मेदवारी हो र जनताले मलाई रोज्नेछन् भन्ने मलाई लाग्छ ।

खासगरी अहिले पछिल्लो चरणमा मुलुकभरि र त्यसमा पनि मेरो क्षेत्रमा हत्याहिंसा, गुन्डागर्दी बढीरहेको छ । हत्याहिंसाको अन्त्य गर्ने र न्यायिक समाज निर्माण गर्नुपर्ने अर्काे दायित्व छ, यसको नेतृत्व भनेको अरुले गर्न सक्दैन । यो सरकार बनिसकेपछि लम्कीचुहामा खासगरी क्षेत्र नं. २ मा हत्याको घटना भएको छ । थुप्रै बलात्कारका घटनाहरु यहाँ घटेका छन् ।

यसलाई अन्त्य गर्ने र न्यायिक समाज निर्माण गर्नका लागि मेरो उम्मेदवारी हो । क्षमता अनुसारको काम र काम अनुसारको माम अर्थात् पारिश्रमिक । सहयोग गर्नका लागि पनि सशक्त ढंगले नेपाली युवाहरुलाई रोजगारी सिर्जना गर्ने र काम अनुसारको श्रमप्रतिको सम्मान जगाउने, यसका लागि पनि मेरो उम्मेदवारी हो । र, दीगो आर्थिक विकासको आधार तय गर्नका लागि पनि नेकपा एमालेले जित्नुपर्छ र मैले जित्नुपर्छ भन्ने मेरो जनताका बीचमा माग हो ।

साथै, जनताका आधारभूत आवश्यकता अहिले पनि पूरा भएका छैनन् । उनीहरुले औषधिमुलो पाइरहेका छैनन् । सामान्य शिक्षापनि अहिले अधिकांशको पहुँचभन्दा बाहिरको विषय भएको छ । गरिब जनताहरुको पहुँचभन्दा बाहिर छ । त्यसैले शिक्षा, स्वास्थ्य, खानेपानी लगायतका आधारभूत आवश्यकता पूरा गर्नका लागि पनि मेरो उम्मेदवारी हो ।

त्यसैगरी, कृषि उत्पादनलाई बजारीकरण गर्ने, कृषिप्रधान देश भन्यो तर, त्यसका लागि हामीले कानुन बनाउन सकिरहेका छैनाैँ । किसानलाई कृषि गर्नका लागि उत्प्रेरित गर्ने, उत्पादित वस्तुको बजारीकरण, मूल्य, संरक्षण गर्न सकिरहेका छैनौँ । त्यसका दिइने अनुदान निश्चित बिचौलिया र नक्कली किसानहरुले पाइरहेका छन् ।

त्यसका लागि एकीकृत कानुन म निर्वाचित भएलगत्तै पहिलो मेरो प्रस्ताव नै त्यही हुने भएकाले पनि किसानको हक, हितका लागि म पहल गर्नेछु । किसानहरुले न्याय पाउनका लागि मेरो उम्मेदवारी हो । गरिबी, असमानता र विभेदको व्यापकता छ । त्यसको अन्त्य गर्नका लागि पनि यी मेरा राष्ट्रिय राजनीतिसँग जोडिएको र समग्र मुलुकसँग जोडिएका एजेन्डा हुन् ।

तपाई ०७४ मा यसैक्षेत्रबाट निर्वाचित हुनुभयो । तर, तपाईंमाथि जनअपेक्षाअनुसार काम गर्न सक्नुभएन भन्ने आरोप पनि छ नि ?

मेरो निर्वाचन क्षेत्रमा स्थानीय तहकै सन्दर्भमा पनि प्रशासनिक सुधारका लागि केही काम गरेको छु । जस्तै ः कर कार्यालय । यसक्षेत्रका सेवाग्राहीहरुले टाढा–टाढा धनगढी र टीकापुर जानुपर्ने बाध्यता थियो । त्यो असुविधालाई अन्त्य गर्दै मेरो नेतृत्वमा मैले लम्कीचुहामा कर कार्यालय स्थापना गरेँ । त्यसैगरी, राष्ट्रपति चुरे कार्यालय मैले त्यहाँ स्थापना गरेँ ।

यी केही कामहरु भएका छन् । अझै यातायात कार्यालय लगायतका थुप्रै कार्यालयहरु बनाउनुपर्नेछ । यसको नेतृत्व गर्नुपर्नेछ । प्रत्येक पालिकामा सेवाग्राही कार्यालयमा हुनुपर्छ भन्ने मेरो मुद्धा छ । म यसलाई जोडदार ढंगले निर्वाचित भएको लगत्तै सदन र कानुन निर्माणमा कुरा उठाउनेछु । मोहन्याल गाउँपालिका लगायतका थुप्रै प्रशासनिक भवनहरु भएका छैनन् । त्यसलाई पनि पूरा गर्नुपर्नेछ ।

कर्मचारीहरुको मनोबल उच्च राख्न र सेवामा चुस्तता ल्याउन, भ्रष्टाचार न्यूनीकरण गर्न कर्मचारीहरुको वृत्तिविकास सम्बन्धमा कानुन निर्माण गर्न मेरो महत्वपूर्ण भूमिका रहनेछ । त्यसका लागि एकीकृत खासगरी संघीय निजामति सेवा सम्बन्धी जुन विधेयक छ । त्यो विधेयक यो सरकारले फिर्ता लिएको छ । त्यसलाई अगाडि बढाउनका लागि पनि छाता ऐनसमेत यो सरकारले ल्याउन सकिरहेको अवस्था छैन ।

कानुनबिहिन निजामति कर्मचारी भइरहेका छन् । यसका बारेमा कानुन बनाउनका लागि मैले जोडदार ढंगले पहल गर्नेछु । कुहिने, ताम्चामा अझैपनि प्रहरी प्रशासन पुग्न सकिरहेको अवस्था छैन, राज्य पुगेको छैन । त्यस ठाउँमा प्रहरी बिटहरु निर्माण गर्ने र सोल्टामा रहेको प्रहरी कार्यालयको स्तरोन्नति गर्ने लगायतका कामहरु मैले गर्नुपर्नेछ । त्यसैले प्रशासनिक सुधारतर्फका केही मुद्धाहरु छन् ।

सडक यातायातका सन्दर्भमा मैले अगाडि बढाएको सेतीलोकमार्गलाई पूर्णता दिनुपर्नेछ । १८ किलोमिटरमा रुख कटानी गर्न बाँकी छ । त्यसको ट्रयाक खोल्ने, पुल बनाउने र टीकापुरदेखि खिमडीसम्मको बाटोलाई सुचारु गर्ने काम मेरो अर्काे प्रस्ताव हुन्छ । चिसापानी, कुहिने, सोल्टा, खिमडी र चिसापानी–मंगलसैनसम्मको बाटोलाई अगाडि बढाउने रणनीतिक महत्वका बाटोको विकास गर्ने मेरो योजना छ ।

त्यसैगरी डोकेबजार–सिमली–खिमडीको बाटोलाई फराकिलो बनाउनका लागि मैले बजेट विनियोजन गरेको छु । यो बाटो निर्माण गर्न मेरो प्राथमिकता रहनेछ । चिसापानी–खिमडी जलयात्राका सम्बन्धमा कामहरु गर्नुपर्नेछ । चारवटै पालिकामा स्वास्थ्यसम्बन्धी कामहरु भएको छ त्यसलाई पूर्णता दिनुपर्नेछ । चुहामा महत्वपूर्ण गौरवको योजना अन्तर्गत ५० शैयाको अस्पताल निर्माणलाई पूर्णता दिनुपर्नेछ । त्यो मेरो सपना हो ।

लम्की–टीकापुरको फोरलेन बाटोलाई पूर्णता दिनुपर्नेछ । डुडेझारी–टीकापुर सडक, बल्चौरदेखि पूर्वी खैरीफाँटा हुँदै टीकापुरको नयाँ सडक त्यसलाई पूरा गर्नुपर्नेछ । प्रत्येक वडामा ज्येष्ठ नागरिक भवनहरु निर्माण गरेर ज्येष्ठ नागरिकलाई आनन्दले जीवन बिताउने गरी काम गर्नुपर्नेछ ।

प्रदेशको गौरवको आयोजना गेटा मेडिकल कलेजको बारेमा नीति निर्माण तहमा आवाज उठाउनुपर्नेछ । धार्मिक तथा पर्यटकीय क्षेत्रको विकास गर्नुपर्ने कामहरु छन् । अव्यवस्थित सहरी विकासलाई व्यवस्थित बनाउन व्यवस्थापन मापदण्ड, योजना तथा नीति निर्माण गर्नुपर्नेछ ।

नदी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित बनाउन वैज्ञानिक नदी नियन्त्रण विधिबारे अध्ययन गरी लागू गर्नुपर्छ, यसका लागि पहल प्रयत्न म गर्नेछु ।

अन्तमा, आम मतदातालाई निर्वाचनका सन्दर्भमा केही भन्नु छ ?

मतदाता सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरुलाई म आग्रह गर्न चाहन्छु कि तपाईंहरुको मतले नै देश बनाउने कि देशलाई डुबाउने भन्ने कुराको निर्धारण गर्दछ । यो स्थानीय तहको जस्तो चुनाव होइन । यसले देशको संविधान बनाउँछ, कानुन बनाउँछ । गलत कानुन बनाउने मान्छेहरुले भोलि संविधान परिवर्तन गर्न सक्छ ।

त्यसैले गर्दा यो लडाइँ भनेको देश बनाउने, देश राख्ने वा नराख्ने भन्ने त्यो चाबी दिने लडाइँ भएको हुनाले हामी गम्भीर भएर सोच्नुपर्छ । जनताको हकहितका र समग्र मुलुकका बारेमा चिन्ता गर्न र बोल्न सक्ने अनि जनताका आवाजलाई सिंहदरबारका शासकहरुले नसुनिरहेका बेला पर्खाल फुट्ने गरी सुन्न लगाउने प्रतिनिधिलाई पठाउनुपर्छ भन्ने मलाई लाग्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?