डा.बाबुराम भट्टराईद्वारा लोकतान्त्रिक गणतन्त्र उल्ट्याउने षड्यन्त्र कुनैपनि हालतमा सह्य नहुने चेतावनी

लोकपथ
26
Shares

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले लोकतान्त्रिक गणतन्त्र उल्ट्याउने षड्यन्त्र कुनैपनि हालतमा सह्य नहुने चेतावनी दिएका छन्।

शुक्रवार काठमाडौंमा आयोजित वाम गठबन्धनको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले विगतमा पराजित भएका प्रतिगामी शक्तिहरुले अहिले विभिन्न बहानामा जुर्मुराइरहेको भन्दै लोकतन्त्रलाई उल्ट्याउने षड्यन्त्र सह्य नहुने बताएका हुन् ।

अध्यक्ष भट्टराईले अहिलेको निर्वाचनमा गठबन्धन बनाएर चुनाव लड्नुको कारण लोकतन्त्र र संविधानको रक्षा भएको जिकिर गरे । उनले आगामी निर्वाचनमा प्रतिगामी शक्तिहरुलाई निस्तेज पार्नुको कुनै विकल्प नभएको बताए।

उनले देशमा विकास र समृद्धि, सुशासन दिन नसक्दा युवाहरुमा निराशा छाएको भन्दै शीर्ष तहले यसको उचित सम्बोधन गर्न जरुरी रहेको बताए। अध्यक्ष भट्टराईले आगामी ५ वर्ष स्थिरता कायम गरी देश विकासका लागि खर्च गर्ने समय रहेको बताए। उनले प्रतिगमनलाई रोक्नका लागि पनि आगामी निर्वाचनमा गठबन्धनको विकल्प नभएको बताएका छन् । उनले तत्काल गठबन्धनका कुनै विकल्प नरहेको बताएका हुन् ।

अध्यक्ष भट्टराईले आगामी निर्वाचन गठबन्धन दललाई कुनैपनि हालतमा जिताउनै पर्ने भन्दै देशका लागि आगामी ५ वर्ष स्थिरता र असन्तोषलाई पूरा गर्ने समय भएको बताए । उनले विगतका कमजोरीलाई आत्मसाथ गरेर अघि बढ्न आवश्यक रहेको जिकिर गरेका छन् ।

उनले नेकपा एमालेप्रति लक्षित गर्दै केशरजंग रायमाझी धार बोकेका शक्तिहरुले पुराना सामन्तवादी शक्तिहरुसँग मिलेर नयाँ ढंगले प्रतिगमनको तानामाना बुनिरहेको बताए। उनले पुष्पलालले अघि बढाएको धार र पछिल्लो समय नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र आफूले बनाएको धार नै नेपालको निम्ति सबैभन्दा उपयुक्त धार रहेको दाबी गरे ।

अध्यक्ष भट्टराईले आगामी निर्वाचनमा गठबन्धनले राम्रो प्रदर्शन गर्न नसके विगतको अवस्था दोहोरिनसक्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?