हुम्ला, जुम्ला, मुगु र कालिकोटमा प्राधिकरणको टोलीले सुरु गर्यो अध्ययन

लोकपथ
91
Shares

काठमाडौं । असोज तेस्रो र अन्तिम साता कर्णाली प्रदेशका विभिन्न जिल्लामा बाढी र पहिरोले पुर्‍याएको क्षतिको प्रारम्भिक अध्ययन कार्य सुरु भएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट खटिएको टोलीले अध्ययन सुरु गरेका हुन् ।

प्राधिकरणले कर्णालीका हुम्ला, जुम्ला, मुगु र कालिकोट जिल्लाहरुमा भएको क्षति र नोक्सानीको प्रारम्भिक अध्ययनका लागि बरिष्ठ इञ्जनियरहरुको नेतृत्वमा चारवटा टोली परिचालन गरेको छ ।

हुम्लाका लागि स्ट्रक्चरल इञ्जिनयर देव राज पौडेल, जुम्लाका लागि जिओटेक इञ्जिनियर पवन बाबु बास्तोला, मुगुका लागि जिओटेक इञ्जिनियर हरिश पनेरु एवं कालिकोटका लागि जिओटेक इञ्जिनियर बिराश मल्लको नेतृत्वमा टोली परिचालन गरिएको हो ।

सबै टोलीले आफू खटिएका जिल्लाका जिल्ला विपद् व्यवस्थापन समितिसँग छलफल गरी क्षति भएको जिल्लाका सबै पालिकाका निजी घर, टहरा, सरकारी तथा गैरसरकारी निकायका भौतिक संरचनाको क्षति अनुमानसहित प्रारम्भिक अध्ययन गर्नेछ ।

टोलीले स्थानीय तहका जनप्रतिनिधिहरु र त्यहाँ कार्यरत प्राविधिकहरुसँग समन्वय गरेर क्षतिको विवरण लिनुका साथै पहिरोको प्रारम्भिक भौगोलिक अध्ययन गर्नेछन् । साथै, ती स्थानका समस्या समाधानका लागि तत्कालीन र दीर्घकालीन सुझावसहितको प्रतिवेदन प्राधिकरणलाई बुझाउने छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?