काठमाडौं । एकता बुद्ध बचत तथा ऋण सहकारी संस्था लिमिटेडले करोडौं रुपैयाँ हिनामिना गरेको पाइएको छ । काठमाडौंको बुढानिलकण्ठ–९ मण्डिखाटारस्थित उक्त सहकारीले बचतकर्ताहरुको मोटो रकम हिनामिना गरेको पाइएको हो ।
२०६८ सालमा स्थापित यो सहकारी संस्थाका अध्यक्ष भानु शर्मा र व्यवस्थापक शम्भु कार्कीको मिलेमतोमा बचतकर्ताको रकम हिनामिना भएको खुलेको छ । सहकारी सञ्चालक समितिका एक पदाधिकारीले शर्मा र कार्कीले सञ्चालक समितिलाई समेत पत्तो नदिइ ८२ लाख रुपैयाँ मिटर ब्याजमा लगाएको र त्यो रकम फिर्ता नआएपछि बचतकर्तालाई फिर्ता गर्न व्यवस्थापकले फेरि मिटर ब्याजमा नै पैसा चलाएको हुँदा संस्था चुर्लुम्म डुबेको बताए ।
‘हामीले उहाँहरुलाई भरपुर विश्वास गर्यौं,’ ती सदस्यले लोकपथसँग भने, ‘तर, उहाँहरुले हामीलाई पत्तो नदिइ संस्था डुबाइसक्नुभएछ ।’
एकता बुद्धमा एक महिला जसले ५५ लाख रुपैयाँ फिक्स्ड डिपोजिटमा राखेकी थिइन् । यद्यपि, उनले त्यो पैसा अहिलेसम्म पाएकी छैनन् । उनी पैसा लिन जाँदा कहिले पाँच हजार र कहिले दुई हजार बोकेर फर्किन्थिन् भने कहिले रित्तो हात फर्कनुपथ्र्यो । लोकपथसँगको सम्पर्कमा आएकी ती पीडित महिलाले भनिन्, ‘राम्रो ब्याज आउला भनेर फिक्स डिपोजिटमा राखेँ तर, न साँवा पाएँ न ब्याज ।’
उनीजस्तै फिक्स्ड डिपोजिट र नियमित बचत गर्ने सयौं बचतकर्ता लाखौं रकम हिनामिना भएको स्रोतको भनाइ छ । करिब १२ करोडको कारोबार रहेको यस संस्थाले अहिले ५ करोडको हाराहारीमा मात्र लगानी गरेको पाइएको स्रोतले जानकारी दियो । यसबाहेक झण्डै ७ करोड रुपैयाँभन्दा बढी रकम अध्यक्ष शर्मा र व्यवस्थापक कार्की मिलेर हिनामिना गरेको स्रोतको दाबी छ । अहिले सदस्यहरुलाई लगानी गरेको ५ करोड रुपैयाँको पनि न साँवा उठेको छ न ब्याज । त्यसैले एकता वुद्ध यतिबेला टाट पल्टिएको अवस्थामा छ ।
सञ्चालक समितिलाई छैन पत्तो
अध्यक्ष र व्यवस्थापक मिलेर संस्था टाट पल्टाइसक्दा पनि सञ्चालक समिति भने यसमा बेखबर छ । जबकी संस्था चुर्लुम्म डुबिसक्दासमेत अध्यक्ष र व्यवस्थापकले न सञ्चालक समितिको बैठक डाके न त संस्थाको अवस्थाका बारे जानकारी नै गराए । जब कोभिडको समयमा बचतकर्ताहरुले रकम झिक्न खोज्दा सहकारीले रकम दिन नसकेपछि खैलाबैला भयो ।
त्यसपछि सञ्चालक समितिका अन्य सदस्यहरुले यसबारेमा चासो राख्दा पहिला मिटर ब्याजमा लगानी गरेको रकम डुबेको र मिटर ब्याजबाटै ऋण लिएको कुरा खुल्यो । ‘साधारण सभामा हामीलाई संस्था नाफामा छ भन्ने विवरण देखाइयो,’ सञ्चालक समितिका ती सदस्यले भने, ‘जब हामीले खोजबिन गर्यौं त्यतिबेला संस्था टाट पल्टिसकेको सुन्दा त छाँगाबाट खसेजस्तो भयो ।’
उसो त यतिबेला सञ्चालक समितिमा रहेका ६ सदस्यमध्ये अध्यक्ष एकातिर र अन्य पदाधिकारी अध्यक्षको विरुद्धमा छन् । जसले गर्दा बचतकर्ताको रकम अझै जोखिममा पर्ने देखिन्छ ।
नगर र मन्त्रालयमा उजुरी
अध्यक्ष र व्यवस्थापकले रकम हिनामिना गरेको भन्दै सञ्चालक समितिका सदस्यहरुले नगरपालिकाको न्यायिक समितिमा उजुरी दिए । साथै, बागमती प्रदेश भूमी व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयमा समेत उजुरी दिए । उक्त उजुरी परेपश्चात १९ भदौदेखि अध्यक्ष शर्मा फरार भए । मन्त्रालयले अध्यक्षसहित सञ्चालक समितिलाई असोज ४ गते उपस्थित हुनका लागि पत्राचार गर्यो । जहाँ फरार रहेका अध्यक्ष पनि उपस्थित भए । छलफलपछि मन्त्रालयले एक हप्ताभित्र सञ्चालक समितिको बैठक राख्न अध्यक्षलाई निर्देशन दियो ।
गत ८ असोजमा सञ्चालक समितिको बैठक पनि बस्यो । अध्यक्ष शर्माले एजेण्डा पनि उठाए । तर, कुनै पनि निर्णय नगरी हिँडेको स्रोतले जानकारी दियो । त्यसपछि गत १ कात्तिकमा सञ्चालक समितिको बैठकमा उनी उपस्थित भएनन् ।
लोकपथले यसबारेमा बुझ्न अध्यक्ष शर्मा र व्यवस्थापक कार्कीलाई पटक–पटक फोन सम्पर्क गर्दा उनीहरु सम्पर्कमा आउन चाहेनन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया