कम्युनिष्टलाई टक्कर दिन सक्ने पार्टी कांग्रेस मात्रै हो : प्रकाशमान सिंह

काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले पार्र्टीलाई समयअनुसार चलायमान बनाउनका लागि विधान संशोधन गर्न लागिएको बताएका छन् । 

संघीय विधान कस्तो बनाउने भन्ने छलफलकै क्रममा रहेको बताउँदै सिंहले कुनै नेतालाई पद दिन र व्यवस्थापन गर्ने गरी विधान संशोधन नहुने बताएका हुन् । 

‘विधान कस्तो बनाउने भन्ने छलफल भइराखेको छ । प्रदेशहरूमा पुगेर पनि छलफल गरी राय, सुझाव लिइसकियो । पार्टीलाई चलायमान गर्न विधान संशोधन गर्ने हो’,  उनले भने ।

काठमाडौंको टोखा नगरपालिकाका अन्तर्गत पार्टीका विभिन्न वडा कार्यसमितिले शनिबार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा सिंहले भने, ‘नेताका आसेपासेलाई कहीँकतै राख्न विधान संशोधन हुन्न । पार्टीलाई अघि बढाउने खालको विधान बन्छ ।’

निर्वाचनपछि पार्टी लथालिंग अवस्थामा रहेको बताउँदै उनले कम्युनिष्टलाई टक्कर दिन सक्ने पार्टी कांग्रेस मात्रै भएको बताएका छन् । 

नयाँ खुलेका पार्टीले कम्युनिष्टसँग प्रतिष्पर्धा गर्न र विकास गर्न नसक्ने उनको भनाइ छ ।

पार्टी विभाग, संरचना र वैचारिक रूपमा पनि स्पष्ट हुने गरी अघि बढ्नुपर्ने बेला आएको उनले बताएका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?