मुलुकमै अब्बल बन्दै सुदूरको कुस्ती

लोकपथ
52
Shares

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–७ हल्दुखालकी १९ वर्षीय कुस्ती खेलाडी दमन्ती बोहराले डेब्युमै आफ्नो तौल समूहमा स्वर्ण हात पारिन् ।

एक वर्षअघि मात्रै कुस्तीमा आएकी बोहराले नवौँ राष्ट्रिय प्रतियोगितामा महिलातर्फ ५० किलो तौल समूहमा स्वर्ण जित्दा ७२ किलो तौल समूहमा भीमदत्त नगरपालिका–१८ गोवरियाकी हेमा भट्टले पनि पहिलो सहभागितामै स्वर्ण जितिन् ।

दमन्ती र हेमा प्रतिनिधि पात्रमात्रै हुन् । उनीजस्तै प्रतिभावान खेलाडी उत्पादनको थलो बन्दै गरेको कञ्चनपुरले मुलुकमै अब्बल खेलाडी उत्पादनमा अग्रता कायम गर्न सफल भएको छ । नवौँ राष्ट्रियमा महिलातर्फ १० स्वर्ण पदकमा भीडन्त हुँदा सुदूरपश्चिमको प्रतिनिधित्व गर्दै खेलेका महेन्द्रनगरका पाँच महिला खेलाडीले स्वर्ण जिते । बाँकी स्वर्ण नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले कब्जा जमायो । सेनामा पनि पछिल्लो समय महेन्द्रनगरकै उत्पादनले प्रतिस्पर्धा गरिरहेका छन् ।

“दमन्ती खेलमा नयाँ र हेमालाई फुटबलबाट कुस्तीमा ल्याएको थिए”, कञ्चनपुरका कुस्ती प्रशिक्षक राजेन्द्र चन्दले भने, “हामी कुस्तीमा महिलातर्फ मुलुकमै अब्बल सावित भइसकेका छौँ ।” आठौँ राष्ट्रियमा पनि बहुमत छ जनाले सुदूरपश्चिमलाई स्वर्ण दिलाएको प्रशिक्षक चन्दले स्मरण गराए ।

दमन्ती र हेमाले स्वर्ण जित्दा यसअघिकी विजेता ५३ किलो तौल समूहकी मनिषा सिंहले स्वर्णलाई नवौँमा पनि निरन्तरता दिइन् भने ५५ किलो तौलमा कञ्चनपुरकी सङ्गीता धामीले स्वर्ण हात पारिन् । सङ्गीताले फाइनलमा यसअघि कञ्चनपुरबाट खेलिसकेकी र अहिले आर्मीमा आवद्ध शिवानी दुबेलाई पराजित गरिन् ।

१४औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता ९साग०मा सङ्गीता स्वर्ण पदक जित्ने पहिलो महिला कुस्ती खेलाडी हुन् । शिवानीले पनि सागमा पदक जितेकी थिइन् । त्यसैगरी प्रतियोगितामा महिलातर्फ ५९ किलो तौल समूहमा कञ्चनपुरकी कोमल खत्रीले सुदूरपश्चिमलाई अर्को स्वर्ण दिलाइन् ।

पाँच स्वर्ण, एक रजत र तीन कास्य जितेको सुदूरपश्चिम प्रदेशमा कञ्चनपुरमा मात्रै कुस्ती प्रशिक्षण हुन्छ । “कुस्तीको नियमित प्रशिक्षणले गति लिएको विसं २०७२÷७३ बाट हो”, कुस्ती प्रशिक्षणमा सक्रिय चन्दले भने, “खेलाडीको नियमित सङ्घर्ष र प्रशिक्षणले सफलता हासिल गर्न सफल भएका हुन् ।”

बेलाबखतमा नयाँ खेलाडी खोज्न गाउँघर र विद्यालयसमेत चहार्ने गरेका चन्दले कतिपय नयाँ खेलाडी पुराना प्रशिक्षणरत खेलाडीमार्फत कुस्तीमा आउने गरेको बताए। सुदूरपश्चिमलाई सबैभन्दा बढी स्वर्ण दिलाउने सूचीमा कुस्ती रहे पनि कुस्ती खेल संरचना र आवश्यक व्यवस्थापनमा भने कसैको ध्यान पुगेको छैन ।

महेन्द्रनगरमा कुस्ती खेलाडी प्रशिक्षणका लागि हल नपाएर लामो समयदेखि जिल्ला खेलकुद विकास समितिको साँघुरो कोठामा यसका खेलाडीले कुस्तीको अभ्यास गर्ने गरेका छन् । नवौँका लागि प्रदेशस्तरीय छनोट हुँदा तेक्वान्दोको हलमा छनोट गरेर कुस्ती खेलाडी नवौँमा सहभागी हुन गएका थिए ।

“हामीसित भएको म्याट पनि अधुरो छ”, उनले भने, “प्रशिक्षण हल बनाउन प्रदेश सरकारले विगतमा बजेट दिए पनि त्यो निर्माण अधुरो अवस्थामा छ ।” प्रशिक्षणका लागि हल र खेल सामग्री उपलब्धतामा कमी नआए महेन्द्रनगर कुस्ती खेलाडी उत्पादनको हब बन्नेमा कुनै आशङ्का नरहेको चन्दको भनाइ छ । “विगतदेखिको नतिजा हेर्दा यहाँका महिला अब्बल देखिए”, उहाँले भन्नुभयो, “अहिले पनि २२–२२ जना जुनियर खेलाडी नियमित प्रशिक्षणमा आइरहेका छन् ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?