सुदूरपश्चिममा एमालेले जाेगाउला ०७४ को विरासत ?

काठमाडौं । आगामी प्रतिनिधि सभा निर्वाचनमा नेकपा एमालेले सुदूरपश्चिमका १६ वटा प्रतिनिधि सभा क्षेत्रमध्ये १५ सिटमा उम्मेदवार उठाएको छ । सत्ता गठबन्धनले तालमेल गरेर प्रत्यासी उठाएपछि एमालेले पनि राप्रपा र जसपासँग तालमेलको रणनीति लिएर मैदान उत्रिएको हो ।

एमालेले प्रदेशसभाका केही क्षेत्रमा जनता समाजवादीसँग तालमेल गरेर उम्मेदवार उठाएपछि चुनावी प्रतिस्पर्धा विगतको भन्दा भिन्न र रोचक हुने भएको आँकलन गरिएको छ । ०७४ को निर्वाचनमा सुदूरपश्चिममा ११ सिट जितेको एमालेले यसपटक डडेलधुराबाहेक प्रतिनिधि सभाका सबै निर्वाचन क्षेत्रमा उम्मेदवार उठाएको छ ।

सत्ता गठबन्धन दलको घेराबन्दीको सामना गर्नुपर्ने एमालेलाई पार्टीभित्रकै असन्तुष्टिले कतिपय निर्वाचन क्षेत्रमा विरासत जोगाउन चुनौती थपिएको छ ।

कैलाली–१ मा गठबन्धनलाई चुनौति नागरिक उन्मुक्ति

कैलाली–१ मा नेकपा एमालेले प्रतिनिधि सभातर्फ तपेन्द्रबहादुर रावललाई अघि सारेको छ । यसअघि ०७४ को निर्वाचनमा रावल टीकापुर नगरपालिकाको मेयरमा निर्वाचित भएका थिए । यसपटक उनी प्रतिनिधि सभामा उक्लिएका हुन् । थारु समुदायको बाहुल्यता रहेको यसक्षेत्रमा एमाले–जसपा गठबन्धन, सत्ता गठबन्धन र नागरिक उन्मुक्ति पार्टीबीच त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिन्छ ।

रेशमलाल चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी नै प्रमुख राजनीतिक दललाई चुनौती बनेको छ । ०७४ मा यसक्षेत्रबाट फराकिलो मतान्तरसहित तत्कालीन राष्ट्रिय जनता पार्टीका रेशमलाल चौधरी निर्वाचित भएका थिए । रेशमलालले ३४ हजार ३४१ मतसहित विजय हुँदा एमालेकी मदनकुमारी शाहले १३ हजार ४०६ मत मात्र पाइन् । कांग्रेसकी ईश्वरी न्यौपाने ११ हजार २०३ मत ल्याएर तेस्रो भइन् ।

दल दर्ता भएको छोटो समयमै राजनीतिक प्रभाव जमाएको नागरिक उन्मुक्ति पार्टी बलियो शक्तिको रुपमा उदाएको छ । गत स्थानीय तह निर्वाचनमा कैलालीको पूर्वी भेगका चार पालिकाको नेतृत्व हात पारेको नागरिक उन्मुक्ति पार्टीबाट रेशमपत्नी रञ्जिता श्रेष्ठ चुनावी मैदानमा छिन् । त्यस्तै, कांग्रेसबाट पूर्वमन्त्री एवं केन्द्रीय सदस्य रामजनम चौधरी प्रतिस्पर्धामा हुँदा चुनावी माहोल झनै तातेको छ ।

यहाँ २ स्वतन्त्र र ९ राजनीतिक दलका उम्मेदवार गरी ११ जना प्रतिस्पर्धामा छन् । गत बैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा वडाध्यक्षका उम्मेदवारले पाएको मत परिणामअनुसार नागरिक उन्मुक्ति पार्टीले १७ हजार १९३ मतसहित पहिलो राजनीतिक शक्ति बनेको छ । कांग्रेसले ११ हजार ६७८ मतसहित दोस्रो छ । एमालेले १० हजार ३२२ मत ल्याएर तेस्रो र माओवादीले ६ हजार ९३०, चाैँथाे भएको छ ।

राप्रपाले ३ हजार ५६१, जसपाले २ हजार ३०२ र एकीकृत समाजवादीले २ हजार २३२ मत ल्याएका थिए । यहाँ मतभारका आधारमा सत्ता गठबन्धन अघि छ । यो क्षेत्रमा कुल १ लाख ६ हजार ७०३ जना मतदाता रहेका छन् । जसमध्ये ५१ हजार ७२९ पुरुष, ५४ हजार ९७३ महिला र अन्य १ जना रहेको निर्वाचन आयोगको तथ्यांक छ । अब यी मतदाताले कसलाई सांसद बनाउँछन् त्यो भने हेर्न बाँकी नै छ ।

कैलाली–२ मा पनि त्रिपक्षीय भिडन्त

कैलाली–२ मा एमालेले योपटक पनि निवर्तमान प्रतिनिधि सभाका सांसद झपटबहादुर रावललाई दोहोर्‍याएको छ । ०७४ मा निर्वाचित रावल चुनावी मैदानमा फेरि होमिएका हुन् । त्यसबेला २५ हजार १५७ मतसहित निर्वाचित रावलले कांग्रेसका मोहनसिंह राठौरलाई पराजित गरेका थिए । राठौरले २३ हजार ३१३ मत ल्याएका थिए । यसपटक दोस्रो जित निकाल्ने तयारीसहित रावल चुनावी दौडधुपमा छन् ।

सहजै जित निकाल्ने दाउमा रहेका रावललाई रोक्ने मनस्थितिमा अन्य दलका उम्मेदवार छन् । यहाँ सत्ता गठबन्धनबाट भगत बडुवाल र नागरिक उन्मुक्ति पार्टीबाट अरुणकुमार चौधरीलाई बलियो प्रतिस्पर्धीका रुपमा हेरिएको छ । त्यसैले यो क्षेत्रमा त्रिपक्षीय भिडन्त हुने लगभग पक्कापक्की छ ।

प्रतिनिधि सभामा ९ राजनीतिक दलका उम्मेदवार चुनावी मैदानमा छन् । गत बैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा वडाध्यक्षका उम्मेदवारले पाएको मत परिणामअनुसार एमालेले १७ हजार ८३४ मतसहित अघि छ । दोस्रोमा कांग्रेसले १३ हजार ८२० र माओवादीले ८ हजार ७२४ मत ल्याएर तेस्रो बनेको थियो । नागरिक उन्मुक्ति पार्टीले ५ हजार २४३, राप्रपाले २ हजार ४०७ र एकीकृत समाजवादीले २ हजार ३०६ मत ल्याएका थिए ।

यसक्षेत्रमा लोकतान्त्रिक–बाम गठबन्धनमा अगाडि देखिन्छ । यहाँ पुरुष ५० हजार ९०६, महिला ५३ हजार ९९८ र अन्य २ गरी कुल १ लाख ४ हजार ९०६ जना मतदाता रहेका छन् ।

कैलाली–३ मा एमालेले पूर्वमन्त्री गौरीशंकर चौधरीलाई उम्मेदवार बनाएको छ । नेकपा विभाजनपछि माओवादी केन्द्र छोडेर एमाले प्रवेश गरेका चौधरीले ०७४ को प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसका रामजनम चौधरीलाई पराजित गरेका थिए । गौरीशंकर २४ हजार ८६२ मतसहित निर्वाचित हुँदा चौधरीले २० हजार ३५५ मत पाए ।

यसपटक भने उनलाई सहजै जित हात पार्न कठिन छ । यसक्षेत्रमा एमाले, माओवादी केन्द्र र नागरिक उन्मुक्ति पार्टीबीच त्रिपक्षीय प्रतिस्पर्धा हुने विश्लेषण गरिएको छ । चौधरीसँग सत्ता गठबन्धनका तर्फबाट माओवादी केन्द्रका केन्द्रीय सदस्य कृष्णकुमार चौधरी ‘कुन्दन’ र नागरिक उन्मुक्ति पार्टीका गंगाराम चौधरीबीच प्रतिस्पर्धा हुने भएको छ । ०६४ को पहिलो संविधानसभा निर्वाचनमा ‘कुन्दन’ भारी मतान्तरसहित विजयी भएका थिए ।

०७४ को निर्वाचनमा भने नयाँशक्ति पार्टीबाट कैलाली–३ (ख) प्रदेशसभा निर्वाचनमा उनी पराजित भए । राजनीतिक पार्टीभित्र पटकपटक विद्रोह गर्दै आएका उनी यसपटक संघमा उक्लिएका हुन् । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ८ जनाको उम्मेदवारी परेको थियो । जसमा २ स्वतन्त्र र ६ राजनीतिक दलका उम्मेदवार चुनावी मैदानमा छन् ।

गत बैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा वडाध्यक्षका उम्मेदवारले पाएको मत परिणामअनुसार कांग्रेसले १९ हजार ९९२ मत प्राप्त गरेको थियो । माओवादीले ११ हजार ६१६ मत र एमालेले ११ हजार २५७ मत ल्याएको थियो । त्यस्तै, राप्रपाले ६ हजार ६९९, नागरिक उन्मुक्ति पार्टीले ५ हजार २४७, जसपाले २ हजार ५९ र एकीकृत समाजवादीले १ हजार ९७ मत ल्याएका थिए । यहाँ लोकतान्त्रिक–बाम गठबन्धनमा अघि देखिन्छ ।

त्यस्तै, कैलाली–४ मा आगामी निर्वाचन रोचक र पेचिलो हुने देखिएको छ । यहाँ एमालेले सचिव, पूर्वमन्त्री तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टलाई उम्मेदवार बनाएको छ । भट्ट उक्त क्षेत्रबाट चाैँथोपटक चुनाव लड्न लागेका हुन् । नेकपा विभाजनपछि एमाले रोजेका भट्टलाई माओवादीले कारबाही गरेपछि उनको सांसद पदसमेत गुमेको थियो । त्यसो त लामो समय यो क्षेत्र संघीय सदनमा प्रतिनिधिबिहिन भएको थियो । तत्कालीन बाम गठबन्धनबाट उम्मेदवार बनेका भट्ट २७ हजार ५४४ मत ल्याएर निर्वाचित भएका थिए ।

कांग्रेसका सुनिलकुमार भण्डारीले १८ हजार १४२ मत ल्याएर पराजित भएका थिए । यसपटक भट्टसँग पूर्वमन्त्री एवं कांग्रेसका सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायर आमने–सामने भएका छन् । डोटीबाट ३ पटक चुनावमा लडिसकेका बलायर यसपटक कैलालीबाट प्रतिस्पर्धी बनेका हुन् ।

बलायर यसअघि एकपटक विजयी भएका थिए । दुवैजना यसअघि मन्त्री भइसकेका अनुहार हुन् । गत बैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा वडाध्यक्षका उम्मेदवारले पाएको मत परिणामअनुसार कांग्रेसले २२ हजार ९९७ मत ल्याएको छ । एमालेले २० हजार ८१ मत र माओवादीले १० हजार १२३ मत ल्याएको छ भने, एकीकृत समाजवादीको ४ हजार २९ मत छ । त्यस्तै, राप्रपाले ३ हजार २३४, नागरिक उन्मुक्ति पार्टीले १६४ र जसपाले ६४ मत ल्याएका थिए । यहाँ सत्ता गठबन्धनको पकड बलियो देखिएको छ ।

यसैगरी, कैलाली–५ मा एमालेले जिल्ला इन्चार्ज नारदमुनि रानालाई अघि सारेको छ । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी रहेको यस क्षेत्रको निर्वाचनलाई निकै चासोका साथ हेरिएको छ । ०७४ को निर्वाचनमा कांग्रेस नेत्री आरजु राणा देउवालाई हराएका राना दोस्रोपटक मैदानमा होमिएका हुन् ।

एमालेका राना २७ हजार २०२ मतसहित निर्वाचित हुँदा आरजु २२ हजार ३२२ मतमै सीमित हुन पुगेकी थिइन् । यसपटक गठबन्धनका डिल्लीराज पन्तसँगको उनको कडा टक्कर पर्ने भएको छ । यसक्षेत्रमा कांग्रेसबाट बागी उम्मेदवार उठेपछि मत विभाजन हुने आंकलन गरिएको छ, जसले पन्तलाई भारी बन्ने देखिन्छ ।

गत बैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा वडाध्यक्षका उम्मेदवारले पाएको मत परिणामअनुसार कांग्रेसले २२ हजार ७७९ मतसहित अघि छ । एमालेले १७ हजार ४२० र माओवादीले ८ हजार १७५ मत ल्याएका थिए । यहाँ एकीकृत समाजवादीले २ हजार ९, राप्रपाले १ हजार ७९७, नागरिक उन्मुक्ति पार्टीले ६५९, लोसपाले ३०२ र जसपाले १५० मत ल्याएका थिए ।

यहाँ पुरुष ५२ हजार ४६, महिला ५३ हजार ७४४ र अन्य ३ गरी कुल १ लाख ५ हजार ७९३ जना मतदाता रहेका छन् । यिनै मतदाताले रानालाई फेरि सांसद बनाउँछन् वा ब्रेक लगाइदिन्छन् त्यो भने हेर्न बाँकी छ ।

कञ्चनपुर–१ मा एमालेले सुदूरपश्चिम प्रदेशका पूर्वआर्थिक मामिलामन्त्री तारा लामा तामाङलाई प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनाएको छ । ०७४ मा एमालेबाट कञ्चनपुर–१ (क) मा प्रदेश सभामा निर्वाचित तामाङ यसपटक संघमा उक्लिएका हुन् । ०५१ पछिका निर्वाचनमा लगातार पराजित यात्रामा रहेको एमाले आफ्नो गुमेको साख फर्काउने दाउमा छ ।

तर, प्रतिनिधि र प्रदेशसभा निर्वाचन क्षेत्रमा एमालेबाट बागी उम्मेदवारी दिएपछि तामाङलाई जित हासिल गर्न कठिन हुने देखिएको छ । प्रतिनिधि सभामा बागी उम्मेदवार दिएका खेम सुवेदी, प्रदेश सभाका भक्तबहादुर अधिकारी र टेकबहादुर साउँदलाई एमालेले कारबाही गरेको थियो ।

एमालेका तारा लामा तामाङसँग सत्ता गठबन्धनबाट माओवादी केन्द्रकी पोलिटब्युरो सदस्य बीना मगर भिड्दैछन् । बीना यसअघि सोही क्षेत्रबाट निर्वाचित निवर्तमान सांसद एवं पूर्वमन्त्री हुन् । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि १० जनाको उम्मेदवारी परेको यो क्षेत्रमा ३ जना स्वतन्त्र र ७ राजनीतिक दलका उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

गत बैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा वडाध्यक्षका उम्मेदवारले पाएको मत परिणामअनुसार एमालेले १८ हजार ७७३, कांग्रेसले १८ हजार ७३२ र माओवादीले १५ हजार २८९ मत ल्याएका थिए । त्यस्तै, एकीकृत समाजवादीले ३ हजार ५२१ र राप्रपाले २ हजार ६९२ मत ल्याएका थिए ।

कञ्चनपुर–२ मा यसपटक पनि रोचक प्रतिस्पर्धा हुने भएको छ । यसक्षेत्रबाट एमालेले निर्वमान सांसद नरबहादुर धामी उम्मेदवार बनाएको छ । धामी तेस्रोपटक चुनावी मैदानमा उत्रिएका हुन् । ०७४ को निर्वाचनमा धामीले ३३ हजार २२० मत ल्याएर विजयी भएका थिए भने दोस्रो संविधानसभा निर्वाचनमा उनी पराजित बने ।

धामीसँग कांग्रेसका नारायणप्रकाश (एनपी) साउँद २४ हजार ८९३ मत प्राप्त गरी पराजित भए । यसपटक पनि धामी र साउँद भिड्ने भएका छन् । कांग्रेसका साउँद छैँटौपटक संसदीय निर्वाचनको दौडमा छन् । पाँचपटक चुनाव लड्दा ३ हार र २ जीत निकालेका साउँद सत्ता गठबन्धन दलको सहयोगमा बाजी मार्ने योजनामा छन् ।

गत बैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा वडाध्यक्षका उम्मेदवारले पाएको मत परिणामअनुसार कांग्रेसले २२ हजार ३७९, एमालेले १८ हजार ८२८ र माओवादीले १२ हजार ५७२ मत प्राप्त गरेका थिए । यहाँ एकीकृत समाजवादीले ४ हजार १६१ र राप्रपाले ३ हजार ९५३ मत ल्याएका थिए ।

कञ्चनपुर–३ मा नेकपा एमालेकी पोलिटब्यूरो सदस्य निरूदेवी पाल चुनावी प्रतिस्पर्धामा छिन् । एमाले उम्मेदवार पाल ०७४ मा समानुपातिक सांसद बनेकी थिइन् । उनी ०६५ मा भएको संविधान सभा सदस्य उप–निर्वाचन लडेकी थिइन् । यो उनको दोस्रो पटक हो । यहाँ एमालेलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को साथ छ ।

पालसँग सत्ता गठबन्धनबाट कांग्रेस केन्द्रीय सदस्य एवं पूर्वमन्त्री रमेश लेखकको प्रतिस्पर्धा हुने भएको छ । लेखक यसअघि पटक–पटक मन्त्री भइसकेका व्यक्ति हुन् भने पाल एकपटक पनि मन्त्री बन्न सकेकी छैनन् । उनी यसअघि कञ्चनपुर–३ मा तीन पटक चुनाव लडिसकेका छन् । तीन पटक चुनाव लड्दा २ पटक जितेका थिए भने ०६४ सालको निर्वाचनमा उनी समानुपातिक बने ।

उनी ०५६, ०७० र ०७४ को निर्वाचन लडेका थिए । ०५६ र ०७० मा निर्वाचित भएर लेखक दुई पटक मन्त्रीसमेत बने । यता, लेखकलाई भने बागी उम्मेदवारको भारी परेको छ । यहाँ प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि १३ जनाले उम्मेदवारी दिएका छन् । जसमा ५ स्वतन्त्र र ८ राजनीतिक दलका उम्मेदवार छन् ।

गत बैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा वडाध्यक्षका उम्मेदवारले पाएको मत परिणामअनुसार कांग्रेसले २१ हजार ७७२, एमालेले १६ हजार ११७, राप्रपाले ६ हजार ५०३, माओवादीले ५ हजार ५८१ र एकीकृत समाजवादीले ३ हजार १२ मत ल्याएका थिए । निर्वाचनको मत परिणाम हेर्दा कांग्रेस पहिलो दल बनेको छ । तर, दुवै गठबन्धन हेर्दा एमाले अगाडि देखिएको छ ।

डोटीमा एमालेले पोलिटब्युरो सदस्य एवं डोटी इन्चार्ज गौरीकुमारी ओलीलाई प्रतिनिधिसभा उम्मेदवार बनाएको छ । प्रतिनिधिसभाको एकमात्रै निर्वाचन क्षेत्र रहेको डोटीमा एमालेका पूर्व दुई सहकर्मीबीच प्रतिस्पर्धा हुने भएको हो । यहाँ सत्ता गठबन्धनबाट एकीकृत समाजवादीले प्रेमबहादुर आले चुनावी मैदानमा छन् ।

०७४ बाम गठबन्धनको साथ लिएर सहजै जित हात पारेका आलेलाई यसपटक सिट सुरक्षित गर्न हम्मेहम्मे पर्ने देखिएको छ । यसपटक आलेलाई कांग्रेसको भर पर्नुपरेको छ । गत बैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा वडाध्यक्षका उम्मेदवारले पाएको मत परिणामअनुसार कांग्रेसले ३४ हजार ४७, एमालेले २४ हजार ९१६, माओवादीले ७ हजार ७८९, एकीकृत समाजवादीले ३ हजार २०५ र राप्रपाले ९८७ मत ल्याएका थिए ।

स्थानीय तहको चुनावको मतभार हेर्दा डोटीमा एमाले र माओवादी केन्द्रले एक–एक गाउँपालिका जित्दा एकीकृत समाजवादी शून्य छ । निकै रोचक र पेचिलो हुने यसक्षेत्रको चुनावी प्रतिस्पर्धालाई चासोका साथ हेरिएको छ ।

अछाम–१ मा एमालेले जिल्ला इन्चार्ज झपटबहादुर बोहरालाई उम्मेदवार बनाएको छ । सुदूरपश्चिम प्रदेश सरकारका पूर्व आर्थिक मामिलामन्त्री बोहरा माओवादीबाट एमालेमा समाहित भएका नेता हुन् । नेकपा विभाजन भएर एमाले र माओवादी ब्युँतिएपछि बोहरा एमालेमै बसेका थिए । त्यसो त उनले प्रदेश सांसद पद गुमाउन पुगे ।

यहाँ एमालेका पूर्वउपाध्यक्ष डा.भीम रावलको नाम एकल सिफारिस गरिएपनि अन्तिम समयमा उनको टिकट खोसिएको थियो । पूर्व माओवादी पृष्ठभूमिका बोहरालाई एमालेले टिकट दिएपछि एमालेभित्रै चर्काे असन्तुष्टि चुलिएको छ । प्रतिनिधि सभामा सत्तारुढ गठबन्धनबाट एकीकृत समाजवादीले बहालवाला श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवर उम्मेदवार बनाएको छ ।

कमजोर अवस्थामा रहेको एकीकृत समाजवादीलाई जित हासिल गर्न कांग्रेसका मतदाता रिझाउनुपर्ने चुनौती छ । त्यसमाथि गठबन्धनकै उम्मेदवारविरुद्ध कांग्रेसका युवानेता राजन कुँवर चुनावी मैदानमा उत्रिएपछि मन्त्री कुँवरलाई चुनाव जित्न सजिलो देखिँदैन ।

यता, चुनावको मुखैमा चुलिएको असन्तुष्टिले एमालेलाई पनि नेता कार्यकर्ताबाटै अन्तर्घात हुने डर छ । त्यसैले यो क्षेत्रमा त्रिपक्षीय रोचक भिडन्त हुने देखिएको छ । गत बैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा वडाध्यक्षका उम्मेदवारले पाएको मत परिणामअनुसार कांग्रेसले १६ हजार ७२८, एमालेले १६ हजार ५६७, माओवादीले ६ हजार ७९० र एकीकृत समाजवादीले २ हजार ७५२ मत ल्याएका थिए ।

अछाम–२ मा एमालेले निवर्तमान सांसद यज्ञबहादुर बोगटीलाई दोहोर्‍याएको छ । ०७४ को निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित बोगटी प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखासमिति सदस्यसमेत बने । ०७४ को निर्वाचनमा २१ हजार ९६५ मतसहित विजयी भएका बोगटीसँग कांग्रेसका पुष्पबहादुर शाह १९ हजार १०६ मत ल्याएर पराजित भएका थिए ।

गत बैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा वडाध्यक्षका उम्मेदवारले पाएको मत परिणामअनुसार कांग्रेसले १९ हजार ३३९, एमालेले १७ हजार ९८७, माओवादीले ६ हजार ४४१ र एकीकृत समाजवादीले २ हजार १७५ मत ल्याएका थिए ।

याे निर्वाचन क्षेत्रमा पुरुष ३९ हजार २५७, महिला ४० हजार ३६३ र अन्य १ गरी कुल ७९ हजार ६२१ जना मतदाता रहेका छन् ।

दार्चुलामा एमालेले निवर्तमान सांसद गणेशसिंह ठगुन्नालाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएको छ । प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक विकास समिति सदस्य रहेका ठगुन्ना फेरि दोहोरिएका हुन् । उनी ०६४ मा पराजित हुँदा २०७० र २०७४ को निर्वाचनमा दार्चुलाबाट निर्वाचित भएका थिए । ठगुन्ना केपी ओलीको सरकारका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीसमेत बनेका थिए ।

एउटा मात्र निर्वाचन क्षेत्र रहेको दार्चुलामा कांग्रेसका दिलेन्द्रप्रसाद बडू र एमालेका ठगुन्नाबीच निरन्तर प्रतिस्पर्धा हुन लागेको हो । बडू ०५६ को निर्वाचनमा दार्चुलाबाट निर्वाचित भएका थिए । त्यसपछि उनी समानुपातिक सूचीमा रहेर सांसद बनेका छन् । यसपटक उनले फेरि प्रत्यक्षतर्फ उम्मेदवारी दिएका छन् । आगामी निर्वाचनका लागि दार्चुलाबाट ८ राजनीतिक दलले प्रतिनिधिसभामा उम्मेदवारी दर्ता गराएका छन् । यसक्षेत्रमा सत्ता गठबन्धनभन्दा एमाले अघि देखिएको छ ।

गत बैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा वडाध्यक्षका उम्मेदवारले पाएको मत परिणामअनुसार एमालेले २९ हजार ३९७, कांग्रेस २१ हजार ५५४, माओवादी ७ हजार ८८१, राप्रपाले १७७ र एकीकृत समाजवादीले १७१ मत ल्याएका थिए ।

बैतडीमा एमालेले दामोदर भण्डारीलाई अघि सारेको छ । प्रतिनिधिसभा अन्तर्गत एकमात्र निर्वाचन क्षेत्र रहेको बैतडीमा एमाले र सत्तारुढ गठबन्धनका उम्मेदवारबीच मुख्य प्रतिस्पर्धी हुने आँकलन गरिएको छ । सत्तारुढ गठबन्धनबाट माओवादी केन्द्रका नरेन्द्रबहादुर कुँवर उम्मेदवार छन् ।

स्वतन्त्रसहित उम्मेदवारको लर्काे भएपछि मत विभाजन हुने देखिएको छ । यहाँ प्रतिनिधिसभामा ११ उम्मेदवार प्रतिस्पर्धामा उत्रिएका छन् । गठबन्धनमा कांग्रेसबाट बागी उम्मेदवार खडा भएपछि सहजै जित निकाल्न चुनौती थपिएको छ । सत्ता गठबन्धन भित्रको किचलोका कारण एमाले हौसिएको छ । गठबन्धन भित्रै बागी उम्मेदवार भएपछि निर्वाचन परिणाम आफ्नो पक्षमा आउने एमालेको आँकलन छ ।

गत बैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा वडाध्यक्षका उम्मेदवारले पाएको मत परिणामअनुसार एमालेले ३५ हजार ४८, कांग्रेसले ३३ हजार ६८३, माओवादी १४ हजार ९९८, एकीकृत समाजवादीले ३ हजार १४० र राप्रपाले २ हजार ४ मत ल्याएका थिए । स्थानीय तहको मत परिणामअनुसार कांग्रेसको बलियाे पकड भएपनि पार्टीभित्र बागी उम्मेदवारले समस्या खडा गरेका छन् । यहाँ पुरुष ७४ हजार ८७७, महिला ७५ हजार २७७ र अन्य २ गरी कुल १ लाख ५० हजार १५६ जना मतदाता छन् ।

बझाङमा एमालेले युवानेता ऐनबहादुर महरलाई उम्मेदवार बनाएको छ । महर पहिलोपटक संसदीय निर्वाचनमा प्रतिस्पर्धा गर्दैछन् । विद्यार्थी राजनीति हुँदै एमालेको सक्रिय राजनीतिमा होमिएका उनी एमाले बझाङको सहइन्चार्जसमेत हुन् । एकमात्र निर्वाचन क्षेत्र रहेको बझाङमा सत्ता गठबन्धनमा एकीकृत समाजवादीलाई भाग परेको थियो ।

यहाँ एमालेका महर र एकीकृत समाजवादीका भानुभक्त जोशीबीच प्रतिस्पर्धा हुन लागेको हो । एमालेका पुराना नेता जोशी ०५१ र ०६४ सालमा नेकपा एमालेबाट निर्वाचित भएका थिए । जोशी एमाले विभाजनपछि माधव नेपाल समूहमा लागेका थिए । ०४८ सालदेखि चुनाव लड्दै आएका जोशीले बझाङमा एमालेबाट तीन चुनाव लडिसकेका छन् ।

एकपटक हार र दुई पटक जित निकालेका जोशी अहिले नेकपा एमालेविरुद्ध प्रतिस्पर्धा गर्दैछन् । गत बैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा वडाध्यक्षका उम्मेदवारले पाएको मत परिणामअनुसार एमालेले २८ हजार ६११, कांग्रेसले २० हजार १६६, माओवादीले ९ हजार १४५, एकीकृत समाजवादीले ७ हजार ६३२ र राप्रपाले १२८ मत ल्याएका थिए ।

बाजुरामा एमालेले स्थायी कमिटी सदस्य कर्णबहादुर थापालाई प्रतिनिधिसभामा उम्मेदवार बनाएको छ । थापा यसअघि पनि पटक–पटक बाजुराबाट चुनाव लड्दै आएका नेता हुन् । थापा ०७० को संविधान सभामा जितेर मन्त्रीसमेत भए । थापासँग बाजुरामा गठबन्धनबाट कांग्रेस सह–महामन्त्री बद्री पाण्डे भिड्न लागेका छन् ।

यहाँ पाण्डे र एमालेका थापा आमने–सामने हुने भएपछि रोचक प्रतिस्पर्धा हुने देखिएको छ । यसअघि संविधानसभामा समानुपातिक र राष्ट्रिय सभा सदस्यमा गरी दुई पटक सांसद भएका पाण्डे भने पहिलो पटक प्रत्यक्ष चुनाव लड्न लागेका हुन् ।

गत बैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा वडाध्यक्षका उम्मेदवारले पाएको मत परिणामअनुसार एमालेले २७ हजार ४४, कांग्रेसले २४ हजार ३०४, माओवादीले ४ हजार २२९, एकीकृत समाजवादीले १ हजार ६८९ र राप्रपाले १७२ मत ल्याएका थिए । यहाँ पुरुष ४२ हजार ७२७, महिला ४० हजार ८३८ र अन्य २ गरी कुल ८३ हजार ५६७ जना मतदाता रहेका छन् ।

अब कसका लागि संसदको ढोका उघारिदिने भन्ने यिनै मतदाताको हातमा छ । सरसर्ती हेर्दा आगामी निर्वाचनको परिदृश्यले अधिकांश स्थानमा सत्ता गठबन्धन र नेकपा एमालेबीच भिडन्त हुने देखाउँछ । सुदूरपश्चिमका पनि हरेक निर्वाचन क्षेत्रमा रोचक प्रतिस्पर्धा हुने लगभग निश्चित छ । त्यसैले पनि रोचक परिणाम आउने पक्का छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?