सरकारले सङ्कटग्रस्त क्षेत्र घोषणा गरेका गाउँ तथा वडापालिकाको अध्ययनका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको टोली जुम्ला आइपुगेको छ ।
यही असोज १९–२४ गतेसम्मको अविरल वर्षापछिको बाढी तथा पहिरोजन्य विपद्ले क्षतिग्रस्त जुम्ला जिल्लाको कनकासुन्दरी, सिंजा, हिमा गाउँपालिका र तिला गाउँपालिका १, २, ३, ४, ६ र ७ वडालाई तीन दिन अघि सरकारले सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको थियो । यसको अध्ययन गर्न उपसचिव इञ्जिनियर पवनबाबु बास्तोला संयोजकत्वको तीन सदस्यीय प्राधिकरणको टोली जुम्ला आइपुगेको जिल्ला प्रशासन कार्यालय जुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी प्रमिला रिजालले जानकारी दिइन् ।
सरकारले जुम्लालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गरेपछि जोखिममा परेका बस्तीको अध्ययन गर्न प्राधिकरणबाट टोली आएपछि बुधबार जिल्ला विपद् व्यवस्थापन समितिको बैठक बसेर प्राधिकरणबाट आएको विज्ञको टोलीलाई प्रत्येक पालिकाले समन्वय र सहजीकरण गर्ने निर्णय भएको उनले बताइन् । सप्रजिअ रिजालका अनुसार प्रत्येक पालिकाले हालसम्म भएको सम्पूर्ण क्षतिको विवरण वडा विपद् व्यवस्थापन समितिमार्फत सात दिनभित्र जिल्ला विपद् व्यवस्थापन समितिसमक्ष पेश गर्ने निर्णय भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया