‘घर परिवार र समाज नै महिला सशक्तिकरणको बाधक’

लोकपथ
130
Shares

जुम्ला । कर्णालीका महिला आफ्नो मताधिकार होस् वा समान ज्याला प्राप्त गर्ने विषयमा निकै पछि छन् । यसरी पछि पर्नुको प्रमुख कारण घर परिवार र समाज बाधक बनिरहेको उनीहररूको दुखेसो छ । सर्वोदय नेपाल जुम्लाले मंगलबार आयोजना गरेको नेतृत्व विकास कार्यशालाका सहभागीहरूले यस्तो बताएका हुन् ।

‘२१ औं शताब्दीमा पनि महिला र पुरुषमा समानता छैन । सभामुखदेखि उपराष्ट्रपति, प्रधानमन्त्री, ठूला दलका प्रमुख पदमा पुरुष कै वर्चश्व छ । पहिले पहिले त महिला घर बाहिर निस्कनै पाउँदैनथे । अहिले केही घर बाहिर निस्के पनि संगठित र एकताबद्ध हुन सकेका छैनन् ।’ सहभागीहरूले भने । बल्लतल्ल घरबाट बाहिर निस्के पनि एक्ला एक्लै हुने गरेको उनीहरूको भनाइ छ ।

कार्यक्रममा सहभागी सिता बुढाले महिला सशक्तिकरणका निम्ति कुनै पनि सवालमा एकजुट भएर लाग्नुपर्ने बताइन् । कतिपय घटनामा महिला महिलाबीच नै एकता हुन नसक्दा अधिकारका सवाल ओझेलमा परेको उनले बताइन् । उनले भनिन्, ‘महिला आन्दोलनको एक शताब्दी बितेको छ। जुम्लाका महिलाको अवस्था कहाँ छ ? समग्र महिलाको गतिशिलताको आयाम कस्तो छ ? अझै भन्ने हो भने श्रमिक महिलाको अवस्था के छ ? के साँच्चै परिवर्तन भएको छ त ? हामी सबैले एकपटक सोच्ने बेला आएको छ।’

महिलाको स्वास्थ्य, शिक्षा, आयआर्जन, आर्थिक अवस्था, सामाजिक जीवन, राजनीतिक क्षेत्रमा सरकारले महिलाका लागि बनाएका नीतिगत व्यवस्था कार्यान्वयनमा फितलो भएको सम्रिता बुढाले बताइन् । उनले भनिन्, ‘महिलाको समग्र विकासका लागि विभिन्न संघ–संस्था, मानव अधिकार, नागरिक समाज, राजनीति दलहरूले परिणाममुखी काम गर्नु पर्छ ।’

सर्वोदय नेपालका कार्यकारी निर्देशक कमल खत्रीले महिला देवी हुन्, सृष्टिकर्ता हुन्, धरती हुन्, आमा हुन् भन्दै मिठो बोलेर मात्रै नहुने बताए । उनले भने, ‘हाम्रो समाजमा छोरीलाई हेयको दृष्टिले हेर्ने, नारी कमजोर हुन्छन् भन्ने मानसिकता हटाउनु पर्छ ।’ गरिबी, अशिक्षा, सचेतनाको कमी जस्ता तत्वले नै महिलालाई पछि पारिरहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?