तक्मा बाँडेर भोट माग्दैनौ : पूर्व गृहमन्त्री थापा

लोकपथ
52
Shares

भैरहवा । पूर्व गृहमन्त्री निरञ्जन थापाले भोटका लागि तक्मा नबाँड्ने बताएका छन । रुपन्देहीको क्षेत्र नम्बर ३ भैरहवामा मंगलबार क्षेत्रीय संयुक्त चुनाव प्रचारप्रसार कार्यालयको उद्घाटन गर्दै उनले आफूहरू सरकारमा गएपछि अहिलेको सरकारले जस्तो तक्मा बाँडेर भोट नमाग्ने बताए ।

‘भोटका लागि तक्मा बाँडिएन बरू योग्दानको मूल्यांकन गरी तक्मा बाँडेका थियौ,’ उनले भने, ‘भोटकै लागि तक्मा अहिले बाँडिएको छ ।’ रुपन्देहीमा मात्रै पाँच दर्जन बढी तक्मा बाँडिएको उनले आरोप लगाए । रुपन्देही ३ मा तक्माको बाढी आएको उनले बताए । ‘म पनि गृहमन्त्री थिएँ कुनैबेला, तर यसरी तक्मा बाँडेका थिएनौं । सरकारमा गएपछि उद्योग सञ्चालन गर्ने उद्योगी, चोरी निकासी नियन्त्रण गर्ने प्रहरीलाई तक्मा दिन्छौं ।

पार्टीलाई भोट दिने सर्तमा बाँड्दैनौं,’ उनले भने । क्षेत्रको विकासमा लागेका राप्रपाका वरिष्ठ नेता तथा पूर्वमन्त्री दीपक बोहरालाई नै यस क्षेत्रबाट उम्मेदवार बनाएको र तक्माको लोभमा यहाँका जनताले भोट खेर नफाल्ने उनले बताए । उनले भने, ‘विकासप्रेमी नेता बोहरालाई निर्वाचन जिताउनुपर्छ ।

पाँचदलीय गठबन्धनलाई भोट दिनु भनेको भोट खेर फाल्नु हो ।’ राष्ट्रियता बचाउन एमाले, राप्रपा र जसपालाई जिताउनुपर्ने उनको भनाइ थियो । एमाले, राप्रपा र जसपाको रुपन्देही ३ को मंगलबार भैरहवामा संयुक्त चुनाव प्रचार प्रसार कार्यालयको उद्घाटन गरिएको हो । यस क्षेत्रबाट प्रतिद्वन्द्वीको रूपमा गठबन्धनबाट नेपाली कांग्रेसले बालकृष्ण खाणलाई उठाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?